जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १५:२१

एमालेमा विद्याको इन्ट्रिसँगै शंकरमाथि बज्रपात, शासन र आसन दुवै फेरियो


काठमाडौं, असोज २२ । नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीको इन्ट्रिसँगै महासचिव शंकर पोखरेलमाथि बज्रपात परेको छ । एमालेकी पूर्वराष्ट्रपति भण्डारी ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै बसेको पहिलो बैठकमै महासचिव पोखरेल निसानामा पर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्कन नदिन सुरुदेखि बल लगाउनु भएका र अध्यक्ष केपी ओलीलाई समेत बाध्य बनाउनु भएका पोखरेल पहिलो बैठकमा आफ्नो आसन छाड्नु परेको छ ।

पछिल्लो समय पार्टी पुनर्गठनको नाममा अध्यक्ष ओलीलाई नै फालेर पार्टी नेतृत्व कब्जा गर्ने गगन थापाको नीतिमा महासचिव पोखरेल लागेपछि असोज ८ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्षपछिको बरीयतामा रहने गरी वरिष्ठ नेतामा विद्या भण्डारीलाई मनोनीत गरेको थियो ।

विधानमा बाधा अड्काऊ फुकाएर भण्डारीलाई अध्यक्ष ओलीकै प्रस्तावमा मनोनीत गरेपछि उहाँ बिहीबार पहिलोपटक बैठकमा सहभागी हुनुभएको हो । भण्डारीको आगमनसँगै एमाले बैठकको दृश्य पनि बदलिएको हो ।

यसअघिको बैठकमा अध्यक्षका एकातिर उपाध्यक्षहरूको लाइन र अर्कातिर महासचिव, उपमहासचिव र सचिवहरूको लाइन लगाएर सदाबहार अध्यक्षको आडमा रहनुहुने पोखरेल यसपटक उपाध्यक्ष गोकर्ण विष्टको आडमा पुग्नुभएको छ ।

अध्यक्षका एकातर्फ वरिष्ठ नेता र अर्कातर्फ वरिष्ठतामा पहिलो नम्बरमा रहेका उपाध्यक्ष रहने गरी बैठकको दृश्य नै विद्याको उपस्थितिसँगै फेरिएको हो ।

अध्यक्षको आडमा बसेर गुटबन्दीको नाइके बनेको आरोप लागेको बेला वरिष्ठ नेता भण्डारीले यस्तो अस्वाभाविक काम अनुचित रहेको भन्दै पुरानो व्यवस्था खारेज भएको छ ।

अब बैठकमा अध्यक्षपछि वरिष्ठ नेता र दोस्रो वरियताका उपाध्यक्ष तथा अर्कातर्फ पहिलो वरियताका उपाध्यक्ष र उपाध्यक्षहरू रहने गरी एमालेमा मर्यादाक्रम तोकिएको छ । सोही मर्यादाअनुसार विद्या सहभागी पहिलो बैठकमा सिट ब्यवस्थापन गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

बिहीबार वरिष्ठ नेता भण्डारीलाई शपथ गराएर बैठकको एजेण्डामाथि छलफल अघि बढाइएको छ । भण्डारी २०७२ सालमा संविधान जारी भएपछि राष्ट्रपतिका रुपमा शीतलनिवाश छिरेपछि पार्टी वरिष्ठ नेताको हैसियतमा पुनरागमनसहित बिहीबार पहिलोपटक एमाले मुख्यालयमा प्रवेश गर्नुभएको हो । यसअघि अध्यक्षसँग वार्ताका लागि पार्टी कार्यालय पुगेपनि औपचारिक रुपमा पदसहित नेताका रुपमा पहिलो प्रवेश हो ।