काठमाडौं, मंसिर ९ । जेनजी अभियन्ता रक्षा बमले इनम सापकोटा प्रकरणको अनुसन्धानका क्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको विषयलाई गम्भीर रूपमा लिन आग्रह गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले इनम सापकोटा प्रकरणको अनुसन्धानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँका प्रमुख कार्यकर्ताको नाम जोडिएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत प्रहरी अनुसन्धानको परिधिभित्र प्रवेश गरी मुख्य प्रमाण अपहरण गरेको भन्ने खबर आमसञ्चारमाध्यममा सार्वजनिक भएको उल्लेख गर्नुभएको छ।
उहाँले प्रहरी अनुसन्धानको प्रक्रियाभित्र राजनीतिक हस्तक्षेप हुनु, त्यसलाई सामान्य घटनाका रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा मिम बनाउने, ठट्टा गर्ने र त्यसबाट मनोरञ्जन लिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। ‘प्रहरी अनुसन्धानको कोठाभित्र राजनीतिक हस्तक्षेप हुनु, त्यही कुरालाई हलुका रूपमा प्रस्तुत गर्दै मिम बनाउनु, स्वाग देखाउनु, सामाजिक सञ्जालमा ठट्टा गर्नु र त्यही ठट्यौलीबाट मनोरञ्जन लिइरहेको समाजले मुलुकको कस्तो यात्रा तय गर्ला ?’ उहाँले प्रश्न गर्नुभएको छ।
बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अनुसन्धानकर्ता नभएको र प्रधानमन्त्री कार्यालय पनि अनुसन्धान गर्ने निकाय नभएको स्पष्ट पार्दै अनुसन्धानमा हस्तक्षेप गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभएको छ। ‘हामीले बुझौँ कि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अनुसन्धानकर्ता होइनन्, न त प्रधानमन्त्री कार्यालय अनुसन्धान गर्ने निकाय हो। त्यसकारण यो हस्तक्षेप किन र कसलाई जोगाउन भएको हो ?’ उहाँले प्रश्न गर्नुभएको छ।
उहाँले यस विषयमा रमाउने र ठट्टाका रूपमा लिनेहरूलाई समेत गम्भीर भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। प्रश्न उठाउन र जवाफ माग्न नपाइने अवस्था आउनुअघि नै नागरिकले यस्ता घटनाबारे प्रश्न गर्नुपर्ने उहाँको धारणा छ।
बमले अनुसन्धान प्रक्रियाको निष्पक्षता, प्रमाणको सुरक्षा र राज्यका निकायमाथिको राजनीतिक प्रभावबारे नागरिकले चासो राख्नुपर्ने बताउनुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्