जनता टाइम्स

२७ पुष २०७६, आईतवार ०९:३२

नेकपा नेतृत्वलाई उपसभामुख शिवमायाको कडा प्रश्न : के मैले यौन दुराचार गरेकी छु ?


काठमाडौं, पुस २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजीनामा दिन निर्देशन दिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले कडा प्रतिवाद गर्नुभएको छ । आफूले कुनै गल्ती नगरेको भन्दै उहाँले पार्टी ह्वीप नलाग्ने अडानसहित तुम्बाहाम्फेले कडा प्रतिवाद गर्नुभएको हो ।

हटाउनुपर्ने कारण के हो, प्रस्टसँग उल्लेख हुनुपर्छ । के मैले भ्रष्टाचार गरेकी छु ? बदमासी गरेकी छु ? यौन दुराचार गरेकी छु ? पार्टीले त्यो पुष्टि गर्नुपर्छ । त्यसरी पत्राचार गरेको रहेनछ भने मैले किन राजीनामा दिने ? मैले के बदमासी गरेकी छु ? अर्कोले फट्याइँ गर्छ, अनि म भागीदार बन्ने ?, उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो । उहाँले आफूले नचाहँदा नचाँहदै उपसभामुख पद स्वीकार गरेको भन्दै अव पार्टी ह्वीप नलाग्ने प्रष्ट पार्नुभयो ।

यस्तो छ उपसभामुखको तर्क

माननीय सदस्यमा निर्वाचित भएपछि मलाई पार्टीले उपसभामुख बनाउने निर्णय गरेकै वेला मैले भनेकी थिएँ, ‘मलाई तपाईंहरूको उपसभामुख पद चाहिँदैन ।’ यो विषयमा मैले नेताहरूसँग अडान नै राखेकी थिएँ । तर, निर्णय गरिसकेका कारण पार्टीलाई अप्ठ्यारो होला भन्ने लागेर केन्द्रीय सदस्य र मोरङ इन्चार्जबाट राजीनामा दिएँ । र, अन्तिम १५ मिनेट बाँकी छँदा उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिएँ । उपसभामुख निर्वाचन भएपछि मैले शपथ लिएकी थिएँ– कसैको डर नमानी उपसभामुखको जिम्मेवारी पूरा गर्छु । म अहिले त्यही शपथलाई टेकेर अघि बढ्ने तयारीमा छु । अर्को कुरा, जहाँसम्म पार्टीले राजीनामा गर्न निर्देशन दियो भन्ने कुरा छ, निर्देशन दियो कि दिएन, के निर्देशन दियो रु अहिलेसम्म मलाई केही जानकारी छैन । औपचारिक रूपमा मलाई भनिएको पनि छैन ।

उहाँहरूले बोलाएर, चाहेर छलफल भएको होइन, मैले नै आग्रह गरेपछि छलफल भएको हो । मैले उहाँहरूलाई बाहिर–बाहिर भनेर हुँदैन, मलाई औपचारिक निर्णयसहित जानकारी चाहिन्छ भनेको थिएँ । संसद्लाई लामो समय बन्धक बनाउन मिल्दैन, तुरुन्त निकास दिनुस् भनेको थिएँ । पार्टीले निर्णय के गर्‍यो भन्ने नै मलाई थाहा छैन । फेरि पार्टीका नेताहरूले नै मलाई बारम्बार तपाईंलाई त पार्टीको ह्विप लाग्दैन भन्दै आउनुभएको छ । सभामुख जिताउने हैसियत पार्टीसँग छ । त्यसैले यो दलले जबसम्म उम्मेदवार चयन गर्दैन, तबसम्म मेरो राजीनामा आउने सम्भावना छैन । मैले राजीनामा नगर्नुको कारण बारम्बार बताउँदै आएकी छु– राज्यका तीन अंगमध्ये एउटा महत्वपूर्ण अंग व्यवस्थापिका हो । अहिले प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । यस्तो अवस्थामा राजीनामा दिएर सभालाई रिक्त बनाउन मिल्दैन । सभालाई रिक्त नबनाई सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउनु मेरो जिम्मेवारी हो । संविधानअनुसार देश र जनताको हितमा काम गर्छु । अन्यायविरुद्ध कसैसँग नडराई लड्छु भन्ने शपथ खाएका कारण पनि मैैले अहिले राजीनामा दिएर प्रतिनिधिसभालाई रिक्त बनाउन मिल्दैन ।

फेरि पार्टीका नेताहरूले नै मलाई बारम्बार तपाईंलाई त पार्टीको ह्विप लाग्दैन भन्दै आउनुभएको छ । सभामुख जिताउने हैसियत पार्टीसँग छ । त्यसैले यो दलले जबसम्म उम्मेदवार चयन गर्दैन, तबसम्म मेरो राजीनामा आउने सम्भावना छैन ।

राजीनामा दे भनेर नेकपाले मलाई निर्देशन गर्न मिल्दैन । म अहिले त्यो दलको सदस्य पनि होइन । मैले अहिले राजीनामा दिएर प्रतिनिधिसभालाई रिक्त बनाउन मिल्दैन । किनभने, संविधान र कानुनले संसद्को नेतृत्व रिक्त बनाउने परिकल्पना गरेको छैन । संविधानको परिपालना गर्नु मेरो कर्तव्य हो, पदीय मर्यादा हो । त्यसैले अहिलेको अवस्थामा संवैधानिक व्यवस्थालाई परिपालना गर्नैपर्छ ।