जनता टाइम्स

५ माघ २०७६, आईतवार १८:५७

ओली सरकारको कामको परिणाम : २७ प्रतिशतले बढ्यो निर्यात, घट्यो आयात, २३ अर्ब बचतमा पुग्यो देश


काठमाडौं, माघ ५ । आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्यात २७ प्रतिशतले बढेको छ । सरकारले अघि बढाएको योजनाको कारण निर्यात बढनुका साथै मुलुक २३ अर्व बचतमा रहेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म कुल ४७ अर्ब ६२ करोड रुपैयाँको स्वदेशी बस्तु निर्यात भएको छ । जुन रकम गत वर्षको यसै अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार भारततर्फको निर्यात ४८.६ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ३.२ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वे्दिक औषधि लगायतका वस्तुको निर्यात बढेको हो । त्यस्तै जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरुको निर्यात घटेको छ । निर्यातमा उल्लेख्य वृद्धि हुँदा आयात भने केही घटेको छ । पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस अवधिमा कुल ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो । भारतबाट हुने आयात ९.५ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने आयात दुई प्रतिशतले घटेको छ । चीनबाट भएको आयात भने १५.६ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।
आर्थिक वर्षको पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटेको छ । पाँच महिनामा मुलुकको व्यापार घाटा ५ खर्व ३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले बढेको थियो । मुलुकको व्यापार घाटा कम भएसँगै भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति बचतमा रहेको हो । पाँच महिनाको शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो । मुलुकबाट बाहिरिनेभन्दा मुलुकमा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति बचतमा देखिन्छ भने मुलुकबाट बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा देखिन्छ ।