जनता टाइम्स

१५ माघ २०७६, बुधबार १८:२१

ओली–प्रचण्डको प्रतिवेदन : पार्टी अनुशासन र पद्दति विपरित बोल्ने, लेख्ने, भेला–बैठक गर्नेमाथि कारवाही


काठमाडौं, माघ १५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टी अनुशासन र पद्दतिविपरित बोल्ने, लेख्ने, भेला–बैठक गर्नेमाथि कारवाहीको प्रस्ताव गर्नुभएको छ । केन्द्रीय कमिटीको आजबाट सुरु भएको बैठकमा प्रस्तुत अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो । नेकपाका नेताहरु नै सरकार र पार्टी नेतृत्वबिरुद्ध बिपक्षी भन्दा कडा रुपमा सार्वजनिक आरोपमा उत्रिएको बेला राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो ।

यस्तो छ पार्टी एकता सदृढ गर्ने सम्वन्धमा प्रतिवेदनको निचोड

पार्टी एकताको ऐतिहासिक महत्व र देशको राजनैतिक विकासमा एकताले खेलेको असाधारण भूमिकाबारे माथि नै चर्चा गरिसकिएको छ । तर, पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कूलिङको अभावका कारण आज पार्टी संगठन कमजोर अवस्थामा रहेका छन । पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू सक्रिय रहेका छन । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू कायम छन । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ति गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ ।
उपरोक्त स्थितिमा सुधार ल्याउन बिचार र विधिमा स्पष्टता सहित दृढ इच्छाशक्ति र सङ्कल्पका साथ अगाडि बढ्नुको विकल्प छैन । विद्यमान स्थितिलाई सुधार गरी पार्टी एकतालाई सुदृढ गर्न निम्न कुराहरूमा विशेष ध्यान दिनै पर्दछ ।

क) पार्टीको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवम वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनावद्ध स्कूलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउनु पर्छ । माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लो स्तरसम्मको ज्ञानका लागि आवश्यक परिक्षा प्रणाली समेत अपनाउनु जरुरी छ ।

ख) पार्टीको राजनैतिक प्रतिवेदन र विधानबारे सिंगो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बुझाईमा एकरुपता ल्याउन जरुरी छ । आज हाम्रो पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मूख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ ।

ग) पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जवजको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदान बारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिनु पर्दछ । नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सिर्जनात्मक अध्ययनमा जो दिनुपर्दछ ।

घ) पार्टी मुखपत्र एवम् अन्य वैचारिक र राजनीतिक प्रकाशनलाई नियमित र योजनावद्ध रुपमा प्रकाशन गर्ने, वितरण गर्ने तथा सिंगो पार्टी पंक्तिलाई तिनको अध्ययन र छलफलमा सरिक गराउन योजना बनाएर कार्यान्वयनमा जानुपर्छ ।

ङ) शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक बाटोबाट सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिनु र समाजवादको आधार तयार पार्नु तथा दलाल–नोकरशाही पूँँजीवादी, शोषण–उत्पीडनको अन्त्य गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु पार्टीको तत्कालिन कार्यक्रम भएको तथ्य स्पष्ट गरिनु पर्दछ ।

च) पार्टीको संगठनात्मक सिद्धान्त जनवादी–केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटीहरूको नियमित बैठक सञ्चालन गर्र्नु, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटीको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन विशेष जोड गर्नु आवश्यक छ ।

छ) सबै पार्टी कमिटी, विभाग, मोर्चा र संयन्त्रहरूले कम्तिमा तीन महिनाको कार्ययोजना तयार पारी कार्यान्वयनमा जाने । कार्यन्वयन प्रक्रियाको समिक्षा गरी सामुहिक निष्कर्षसहित पुनः नयाँ योजना निर्माणको प्रक्रियामा अगाडि बढ्नु पर्दछ ।

ज) पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्दतिविपरित बोल्ने, लेख्ने पार्टी नीतिविपरित भेला, बैठक गर्ने काम बन्द गर्नु पर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्न आवश्यक छ । अनुशासनहीन काम गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।