काठमाडौं, माघ १५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले पार्टीको सवै तहमा मिडियालाई उपस्थित गराउनेदेखि पार्टीभित्र सच्याउनै पर्ने कामको फेहरिस्त राख्नुभएको छ । केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै महासचिव पौडेलले यस्तो प्रस्ताव राख्नुभएको हो ।
यस्तो छ पौडेलको प्रतिवेदन
हामीले आगामी महाधिवेशनसम्मका लागि पार्टी निर्माणका सम्बन्धमा संक्रमणकालिन प्रबन्ध गरेका छौं । हामी एकातिर जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तमा आधारित हुन चाहन्छौं भने अर्कोतिर सहमतिमा निर्णय गर्नुपर्ने विशेष अवस्थामा छौं । तर यतिबेला पार्टीमा जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र सहमतिमा निर्णय गर्ने परिस्थितिलाई ठिक ढंगले बुझ्ने समस्या देखापरेको छ । यतिबेला हामी एकता प्रक्रिया टुंगिएर लोकतान्त्रिक मूल्यांकन प्रणालीमा आधारित नहुँदासम्म, एकआपसमा अन्तरघुलन भएर पूर्वसमूहको सम्झनाबाट माथि उठ्ने अवस्था नआउँदासम्म आपसी सल्लाह, समझदारी र सहमतिमा अघि बढ्नुपर्ने अवस्थामा छौं । एकतालाई जोगाउन, अघि बढाउन र सबल तुल्याउन यस्तो तरिका अवलम्बन गर्नुपरेको हो ।
तीन महिनामा सम्पन्न गर्ने भनिएको एकीकरणको काम हालसम्म पनि सम्पन्न नहुनु निःसन्देह दुखद विषय हो । लामो समयसम्म एकीकरण सम्पन्न हुन नसक्दा पार्टीको ठूलो पंक्ति निष्क्रिय भएको छ । पार्टीको समग्र शक्ति गतिशील हुन र सकारात्मक परिणाममा प्रकट हुन पाएको छैन । पार्टीका पूर्वघटकहरूको आपसी सम्बन्धको पृष्ठभूमि र तीन महिनामा एकीकरणका सम्पूर्ण काम सम्पन्न हाम्रो योजनाका बीचमा कहीँ न कहीँ अन्तरविरोध थियो । आजसम्म आइपुग्दा हामीले निर्धारण गरेको तीन महिनाको समयसीमा एकताले उत्साहित भएको मनोविज्ञानमा आधारित तर अव्यबहारिक थियो भन्ने पुष्टि भएको छ । त्यतिमात्र होइन, हामीले संस्थागत रुपमा गृहकार्य गर्ने, एकीकरण सम्पन्न गर्ने र मात्र पुरानो कमिटी भंग गर्नुपर्नेमा त्यसो नगरी सुरुमै सम्पूर्ण कमिटीहरू भंग गरेर संगठनात्मक समस्या निम्त्याउने काम गर्यौं । जसले गर्दा चुनावी तालमेल र पार्टी एकीकरणले जनतामा पैदा भएको अभूतपूर्व एवं असाधारण उत्साहलाई गतिमा र गतिलाई शक्तिमा बदल्न सकिएन । तर अब हामीले एकीकरणका बाँकी काम सम्पन्न गर्ने विषयलाई सर्वाधिक प्राथमिकता दिनुपर्दछ । एकता प्रक्रियामा विलम्ब हुनुको पछाडि आपसी सम्बन्धको सम्वेदनशीलताले पनि काम गरेको छ र हामीले त्यसलाई ठीक ढंगले सम्बोधन गरेर अघि बढ्नुपर्दछ ।
हामीले अझै पनि पार्टीको आन्तरिक जीवनलाई विधिसम्मत, संस्थागत र कमिटी प्रणालीमा आधारित बनाउन सकेका छैनौं । पूर्वसमूहको मानसिकता र पूर्व समूहका पनि गुटका प्रशाखाहरू पार्टीका सामू चुनौती बनेर उपस्थित भएका छन् । पार्टीमा गुटबन्दी घोषित र प्रत्यक्ष बन्दै गएको छ । अराजकता र अनुशासनहीनताको समस्या झाँगिदै गएको छ । हाम्रो सामू गुटबन्दीलाई संस्थागत गर्ने र पार्टीलाई गुटहरूको फेडरेशन बनाउने वा गुटबन्दीलाई समाप्त गर्ने र संस्थागत ढंगले तय गरिएका विधि, नीति र निर्णयका आधारमा पार्टीलाई एकताबद्ध तुल्याउने भन्ने प्रश्न ज्वलन्त बनेर उपस्थित भएको छ । हामीले गुटबन्दीलाई निर्ममतापूर्वक अस्वीकार गर्नुपर्दछ । त्यसका लागि निर्णय प्रक्रियामा सम्बद्ध सबैको सहभागिता र संस्थागत निर्णयको प्रणालीलाई दृढताका साथ अवलम्बन गर्नुपर्दछ । संस्थागत निर्णयहरूको प्रतिरक्षा र कार्यान्वयनमा सिंगो पार्टी प्रवृतीलाई एकताबद्ध तुल्याउनु पर्दछ ।
पार्टीमा भएको छलफल र निर्णयका सम्बन्धमा अनधिकृत, तोडमरोड गरिएका र गलत सूचना सम्प्रेषण गर्ने रोगबाट पार्टी आक्रान्त बनेको छ । पार्टीको केन्द्रीय सचिवालय समेत यस प्रवृतिबाट अलग रहन सकेको छैन । यस्तो प्रवृति बारम्बार दोहोरिने हो भने हामी बैठकमा मिडियाको प्रत्यक्ष र नियमित उपस्थितिका लागि तयार हुनुपर्ने अवस्थामा पुग्नेछौं । गलत समाचार सम्प्रेषण हुनुभन्दा बैठकमा मिडियाको नियमित उपस्थिति र प्रत्यक्ष प्रशारण मन्जुर गर्नु उचित हुनेछ । के हामी यसका लागि तयार हुने हो ? हामी बैठकका औपचारिक निर्णय र आवश्यक विषयहरू आधिकारिक ठाउँबाट सार्वजनिक गर्ने प्रणालीमा कायम रहनुपर्दछ । पार्टीको प्रतिष्ठामा क्षय हुनेगरी अनधिकृत र गलत ढंगले सूचना सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्नु पर्दछ ।
हामीले एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्न निश्चित मापदण्ड र कार्यबिधि अवलम्बन गर्ने निर्णय गरेका छौं । तर कार्यान्वयनका सन्दर्भमा भने केही ठाउँहरूमा पार्टीको निर्णय र निर्देशन विपरीतका कामहरू भएको गुनासो तथा उजुरीहरू आएका छन् । हामीले नीति, विधि र निर्णय विपरीत भएका कार्यहरूलाई अविलम्ब सच्याउन पर्दछ । पार्टीको केन्द्रीय सचिवालयले प्राप्त गुनासा तथा उजुरीहरू अध्ययन गर्न, स्थलगत निरीक्षण गर्न र निर्णय एवं निर्देशन विपरीतका कार्यहरूलाई सच्याउन केन्द्रीय संगठन विभागलाई जिम्मेवारी प्रदान गरेको छ । संगठन विभागको अग्रसरतामा ती समस्याहरूको समाधान गर्न जरुरी छ ।
पार्टीको राष्ट्रिय महाधिवेशन र प्रदेश तथा स्थानीय कमिटीहरूको अधिवेशनका लागि संगठित सदस्यको नवीकरण अनिवार्य पूर्व शर्त हो । तर आजसम्म पनि हामीले पार्टी सदस्य र संगठित सदस्यको अभिलेख अद्यावधिक गर्न र नवीकरण गर्न सकेका छैनौं । केन्द्रीय सचिवालयले २०७६ चैत मसान्तभित्र नवीकरण सम्पन्न गर्ने निर्णय गरेको छ । तदनुरुप निर्धारित समयभित्र पार्टी सदस्य तथा संगठित सदस्यको अभिलेख अद्यावधिक गर्ने र नवीकरण सम्पन्न गर्ने काममा केन्द्रीत हुन जरुरी छ । हामीले केही समय अघिदेखि उद्देश्यमूलक र योजनाबद्ध ढंगले सिंगो पार्टीशक्तिलाई परिचालित गर्न राष्ट्रिय अभियानको आवश्यकता महशुस गर्दै आएका हौं । यस बैठकमा उक्त योजनाका सम्बन्धमा गम्भीरतापूर्वक छलफल र सार्थक निर्णयमा पुग्न जरुरी छ । तत्सम्बन्धी निर्णयलाई समस्त पार्टीपंक्तिले एकरुपताका साथ बुझ्न र कार्यान्वन गर्न जरुरी छ ।
हामीले प्रारम्भिक गृहकार्यका आधारमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरूको कार्यविभाजन गरेका छौं । हामीले गरेको कार्यविभाजनमा केही न केही कमिकमजोरी रहको तथ्यप्रति हामी सबै जानकार नैं छौं । सकेसम्म व्यक्तिको योग्यता, रुची र पार्टी कामको आवश्यकता बीच संयोजन गर्नुपर्नेमा कतिपय सन्दर्भमा त्यसो हुनसकेको छैन । त्यसैले कार्यविभाजनमा पुनःसमायोजन गर्नुपर्ने आवश्यकता छ । यसनिम्ति केन्द्रीय कमिटीका सदस्य कमरेडहरूको सुझाव समेतलाई पनि ध्यानमा राखेर कार्यविभाजनमा परिमार्जन गर्न जरुरी छ ।
कम्युनिष्ट पार्टीको जीवन विचार र संगठनमा, काम र परिणाममा आधारित हुनुपर्दछ । हामीसँग आधारभूत रुपमा सही विचार छ । संगठनात्मक व्यवस्थापनका लागि हामीले वैज्ञानिक र व्यवहारिक प्रबन्ध गरेका छौं । हामीसँग कार्यकर्ता र जनताको विशाल पंक्ति छ । पार्टी एकताको बाँकी काम सम्पन्न गर्नु, सिब्गो पार्टीलाई विचारधारात्मक, संगठनात्मक र भावनात्मक एकतामा आबद्ध गर्नु, निर्धारित उद्देश्यतर्फ गतिशील ढंगले परिचालित गर्नु र एकपछि अर्को उपलब्धिपूर्ण परिणाम प्रकाशित गर्दै अघि बढ्नु आजको आवश्कता हो । हामी आफ्नो काँधमा आएको अभिभारा पुरा गर्न समर्थ हुनेछौं ।
प्रतिक्रिया दिनुहोस्