जनता टाइम्स

१८ फाल्गुन २०७६, आईतवार १९:५०

कोरोना भाइरस रोकथामका लागि पर्यटन मन्त्रालयले थाल्यो काम : यस्तो छ पूर्वतयारीका ८ कार्ययोजना


काठमाडौं, फागुन १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि तत्काल काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालय र मातहतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एवं पूर्वतयारीका कार्यहरुको बारेमा मन्त्री भट्टराईले आज सवैलाई यस्तो निर्देशन दिनुभएको हो ।

आइतबार मन्त्री भट्टराईको संयोजकत्वमा बसेको बैठकले मातहतका सबै निकायलाई सबै तयारीका लागि निर्देश गरेको छ । बैठकमा मन्त्रालयका सचिव, सह सचिवहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगमका निगमका महाप्रबन्धक, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख, अध्यागमन विभागका महानिर्देशकलगायत सरोकारवाला निकायका उच्च अधिकारीहरुको सहभागिता थियो । बैठकले कोरोना भाइरस नियन्त्रणका लागि तत्कालै गर्नुपर्न आठ ओटा कार्ययोजना अघि सारेको छ ।

यी हुन बैठकका निर्णय

१. त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सवै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रवन्ध तत्काल मिलाउनको लागि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक देवचन्द्रलाल कर्ण संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. हेमन्त चन्द्र ओझा, त्रिवि. अध्यागमन कार्यालयबाट निर्देशक राजेश पन्थी, एअर लाइन्स अपरेटर कमिटिबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने । यस कार्यदलले स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी आजै तयारी गर्ने÷गराउने ।

२. त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा बिदेशबाट आउने यात्रुहरुले स्वास्थ्य जाँचको डेक्स पार गरी जानुपर्ने प्रावधान सम्बन्धी सूचनामूलक जानकारी अनिवार्यरुपमा जहाज अवतरणको क्रममा अन बोर्ड र आगमन तथा प्रस्थान कक्षबाट निरन्तर रुपमा प्रवाह गर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तत्काल मिलाउने ।

३. सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य जाँच र आवश्यक पूर्वाधारको प्रबन्धका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अध्यागमन विभागसँगको समन्वयमा आवश्यक व्यवस्था गर्न उक्त मन्त्रालयलाई अनुरोध गर्ने ।

४. यस भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको क्रममा विभिन्न मुलुकले अवलम्बन गरेको उडान सम्बन्धी रणनीतिको अध्ययन र विज्ञसँग समेतको छलफलको आधारमा नेपालले उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा दुई दिन भित्र संक्षिप्त प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणले पेश गर्ने ।

५. नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्चमा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रमहरु हाललाई स्थगन गर्ने तथा मार्च तेस्रो हप्तामा यसको समिक्षा गरी पेश गर्ने । नेपालको आन्तरिक पर्यटन प्रबर्धनको लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन वोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार गरी पेश गर्ने ।

६. नेपालको पर्यटन प्रबर्धनको लागि बैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशिल समुहले देशगत सूचनाहरु अध्यावधिक राखि आवश्यक आन्तरिक तयारी गर्ने ।

७. नेपाल वायुसेवा निगमबाट जापानको नरिता अन्तराष्ट्रिय विमानस्थलमा हुन लागेको उडान शुरुवातमा दुवै मुलुकमा कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने ।

८. नेपाली नागरिकको अन्तराष्ट्रिय यात्रा सम्बन्धमा ट्राभल एडभाइजरीको सम्बन्धमा आवश्यक कार्य हुन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने ।