जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १२:५१

कोरोना रोकथामका लागि सेनाको एक्शन : २४ सय स्वास्थ्यकर्मी तयार, ब्यारेकैपिच्छे छुट्टै रेस्पोन्स टिम


काठमाडौं, चैत ६ । नेपाली सेनाले कोरोना संक्रमण फैलिए आफ्ना सबै स्वास्थ्यकर्मी परिचालन गर्ने गरी योजना बनाएको छ । प्रधानसेनापति पुर्णचन्द्र थापाको निर्देशनमा सेनाले कोरोनाबिरुद्ध लडन आफ्नो स्वास्थ्यकर्मीको टोली तयार पारेको हो । नेपाली सेनासँग करिब २ हजार ४ सय जना स्वास्थ्यकर्मी रहेका छन । कोरोना भाइरस बिश्वभर फैलिएपछि सेनाका हरेक युनिटले आपतकालीन अवस्थाका लागि अभ्यास पनि थालेका छन ।

सेनाले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको ठहर गरी तयारीको स्तर बढाएको हो । फौज तथा नागरिकको उपचारका लागि सेनाले छुट्टाछुट्टै कार्ययोजना बनाएको छ । कार्ययोजना तयार गर्न सेनाले कार्यदल नै गठन गरेको थियो । कार्यदलले तत्काल गर्नुपर्ने र जोखिम थपिंदै जाँदा गर्नु पर्ने कामको योजना तयार पारेको छ ।
सेनाले कार्ययोजना बनाएरै एक सय ८१ जना चिकित्सकको टोलीलाई जंगी अड्डामा क्वारेन्टाइन बनाएर कोरानाको उपचार विधिका बारेमा अभ्यास गराइसकेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार अरु स्वास्थ्यकर्मीलाई पनि क्रमैसँग अभ्यास गराइने छ ।
उहाँका अनुसार सबै सैन्य अस्पताल तथा फिल्ड एम्बुलेन्स, गुल्म र पृतना जीओपीडीहरुमा इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ । आफ्नो क्षेत्रमा हुन सक्ने खतरा र त्यहाँ रहेका गुल्म, पृतनाले गर्न सक्ने कामको योजना पनि पेस गर्न सेनाले मातहतका युनिटलाई आदेश दिएको छ । कोरोना संक्रमणबाट बच्न फौजलाई आवश्यक तालिम गराउन थालिएको र त्यससम्बन्धी परिपत्र गरिसकेको छ ।
सेनाले वीरेन्द्र सैनिक अस्पतालमा कोरोनाको परीक्षण गर्ने ल्याब समेत बनाउने भएको छ । सोही अस्पतालमा कोरोनाबाट संक्रमित बिरामीको उपचारको निर्देशिका (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर्स) तयार पार्ने काम भइरहेको छ । त्यस्तै, उपचारका लागि आवश्यक औषधिहरुको व्यवस्था पनि सेनाले गरिरहेको छ । वीरेन्द्र अस्पतालको पुरानो एचआईभी सेन्टरमा १० बेडको आइसोलेसन वार्ड तयार पारिसकिएको छ । पोखरा, नेपालगन्ज र इटहरीमा पनि आइसोलेसन वार्ड तयारी अवस्थामा छन । फिल्ड एम्बुलेन्समा समेत गरेर सेनासँग ५२ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको छ ।

वीरेन्द्र सैनिक अस्पतालको आइसोलेसन वार्ड

वीरेन्द्र अस्पतालको बाहिरपट्टि रहेको सैनिक कल्याणकारी कोषको एक तले भवनलाई पनि प्रयोगमा ल्याइने भएको छ । त्यस्तै, क्वारेन्टाइन स्थापना गर्नका लागि विभिन्न तालिम केन्द्र, सैनिक महाविद्यालय र मेडिकल कलेजहरु छनौट गरिएको छ । सेनाले आवश्यकता अनुसार खाली ठाउँमा मोवाइल फिल्ड अस्पताल राखेर पनि संक्रमितको उपचार गर्न सकिने गरी तयारी अघि बढाएको हो । त्यसका लागि सेनाले खुल्ला ठाउँ समेत हेरेर सरकारलाई सिफारिस गरेको छ ।

स्वयम्भुको बारुदखानास्थित ट्रान्जिट क्याम्पमा भएको भवनलाई क्वारेन्टाइन सेन्टरका रुपमा छुट्याउन पनि कार्यदलले सिफारिस गरेको छ । खुला ठाउँमा क्वारेन्टाइन बनाउन सेनाले टेन्टको प्रयोग गर्ने भएको छ । सेनाको स्टोरमा भूकम्पको बेला चीनले दिएका लाखौँ टेन्ट छन । त्यसपछि पनि चीनले सेनालाई राहत तथा उद्धारका लागि टेन्ट उपलब्ध गराएकाले तत्कालका लागि अभाव नहुने सैनिक प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

नेपाली सेनाले कोरोना रोकथामका लागि सबै सैनिक युनिटमा हेल्थ डेस्क खडा गरेको छ । जस्ले सम्पूर्ण सैनिकको दैनिक तापक्रम नापेर रेकर्ड राख्ने र रुघा, खोकी तथा ज्वरो आएका व्यक्तिहरुको रेकर्ड छुट्टै राख्ने छ । हाल सैनिक मुख्यालयका दुई वटा गेट बन्द गरिएको छ । बाँकी गेटबाट प्रवेश गर्नेको तापक्रम नापेर मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ । वीरेन्द्र सैनिक अस्पतालमा बिरामीका आफन्तलाई समेत प्रवेशमा कडाइ गर्न थालिएको छ ।

सैनिक कर्मचारीलाई खोकी, ज्वरो वा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखा परे आइसोलेसन वार्डमा राखेर कोरोना परीक्षण गरिने र संक्रमित देशबाट फर्किएका सेनाले १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्नुपर्ने छ । संक्रमणको शंका लागेका व्यक्तिलाई तत्काल सैनिक अस्पतालमा लैजाने व्यवस्था मिलाउने र संक्रमितसँग नजिक रहेका व्यक्तिको पनि ज्वरो परीक्षण गरिने छ । देशभित्रका कार्यक्रममा सहभागिता कम गर्ने र कोरोना प्रभावित देशमा हुने तालिममा हाल सहभागी नहुने निर्णय पनि भएको छ ।