जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार ०८:२२

एसियामा कोभिड–१९ को नयाँ लहरको आशंका, भारतमा सतर्कता


काठमाडौं, ११ जेठ । एसियाका भारतलगायत सिंगापुर, हङकङ, थाइल्यान्ड र चीनमा कोभिड–१९ को नयाँ लहर देखा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।भारतको महाराष्ट्र राज्यको ठाणे नगर निगमका अनुसार, शनिबार राज्यको कालवास्थित छत्रपती शिवाजी महाराज अस्पतालमा एक २१ वर्षीय युवकको कोभिड–१९ बाट मृत्यु भएको छ । गम्भीर मधुमेह भएको युवकलाई बिहीबार मधुमेहसम्बन्धी जटिलताका कारण अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार राति उनको कोभिड–१९ परीक्षण पोजिटिभ आएको थियो ।
महाराष्ट्र राज्यले शनिबार कोभिड–१९ का ४७ नयाँ केस दर्ता गरेको जनाउँदै सक्रिय संक्रमितहरूको कुल संख्या १६६ पुगेको इन्डिया टुडेले बताएको छ ।

महाराष्ट्र राज्यमा कोभिड–१९ ले गर्दा चारजनाको मृत्यु भएको र चारैजनामा अन्य स्वास्थ्य समस्याहरू र कोभिड–१९ को हल्का लक्षणहरू रहेको बताइएको छ । अन्य तीन मृत्युमध्ये एकलाई नेफ्रोटिक सिन्ड्रोम थियो भने अर्को एकजना क्यान्सरको उपचारमा थियो । तेस्रो रोगीलाई मस्तिष्क स्ट्रोक भएको थियो ।

महाराष्ट्र राज्यमा देखिएको ४७ नयाँ संक्रमणका केसहरूमध्ये ३० मात्र मुम्बईमा देखिएका छन् । जनवरीयता राज्यमा कुल सात हजार १४४ मा कोभिड–१९ पोजिटिभ पाइएका समाचारमा उल्लेख छ ।यसैबीच, कोभिड–१९ संक्रमणका केसहरू पूरै भारतमा बढ्दै गएका इन्डिया टुडेले जनाएको छ । जसमा केरला राज्यमा २७३ कोभिड–१९ संक्रमणका केस देखा परेको भन्दै देशमै सबैभन्दा धेरै केस दर्ता भएको बताइएको छ । त्यसपछि तमिलनाडु र महाराष्ट्र राज्यमा कोभिड–१९ संक्रमणका केसहरू दर्ता भएका छन् । दिल्लीमा पनि कोभिड–१९ संक्रमणका नयाँ केसहरूमा केही वृद्धि देखिएको समाचारमा बताइएको छ । यहाँ हालसम्म २३ केस दर्ता भएका बताइएको छ ।

कोभिड–१९ का केस बढ्दै जाँदा भारतमा सतर्कता

भारतका विभिन्न राज्यहरूमा कोभिड–१९ संक्रमणका केसहरूमा वृद्धि देखिएपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक सल्लाह जारी गरेको छ ।

नागरिकहरूलाई नडराउन आग्रह गरिएको छ । मन्त्रालयका अनुसार, रिपोर्ट भएका धेरैजसो केस सामान्य भएको र उनीहरूको घरमै उपचार भइरहेका बताएको छ । मन्त्रालयले हाल देखिएका भेरियन्टहरूले पहिलाको भन्दा बढी संक्रमण नबढाएको दाबी गरेको छ ।

हङकङमा पोजिटिभ परीक्षणको सबैभन्दा उच्च

हङकङमा कोभिड–१९ को संक्रमण बढेको बताइएको द नेशन अनलाइनले जनाएको छ । त्यहाँको स्वास्थ्य सुरक्षा केन्द्र (सीएचपी)ले श्वासप्रश्वास नमुनाहरूमा पोजिटिभ परीक्षणको दर एक वर्षभन्दा धेरै समयमा सबैभन्दा उच्चस्तरमा पुगेको बताएको छ ।

मे महिनाको सुरुमा जारी गरेको तथ्यांकअनुसार, गम्भीर कोभिड–१९ का ३१ केस दर्ता भएका थिए जुन पछिल्लो १२ महिनाको उच्चतम हो ।

यस नयाँ लहरले स्वास्थ्य प्रणाली मात्र होइन, मनोरञ्जन उद्योगलाई पनि असर पारेको बताइएको छ । हङकङका प्रख्यात गायक इसन चानले कोभिड–१९ ले संक्रमित भएपछि ताइवानमा आयोजना हुने उनको कन्सर्ट रद्द गरेका छन् ।

सिंगापुरमा पनि केस बढे

सिंगापुरको स्वास्थ्य मन्त्रालयले मे महिनाको सुरुमा जारी गरेको तथ्यांकअनुसार कोभिड–१९ का लगभग १४ हजार २०० संक्रमणका केस दर्ता भएको बताएको छ । यो अघिल्लो साताको तुलनामा २८ प्रतिशतले बढी रहेका समाचारमा उल्लेख छ । यसै अवधिमा कोभिड–१९ ले अस्पताल भर्ना हुने रोगीहरूको संख्या पनि ३० प्रतिशतले बढेको छ । संक्रमणका केस बढेको भए पनि सिंगापुरमा कुनै नयाँ र गम्भीर भेरियन्ट फेला नपरेको बताइएको छ ।

चीन र थाइल्यान्डमा पनि उस्तै

चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्र (चाइना सीडीसी)ले मे ४ मेसम्मको पाँच हप्तामा अस्पतालहरूमा कोभिड–१९ पोजिटिभ परीक्षणको दर दोब्बरभन्दा बढी बढेको बताएको छ । चीनमा अघिल्लो गर्मीमा भएजस्तै नयाँ लहरमा प्रवेश गर्न सक्ने भन्दै यो चिन्ताको संकेत रहेको समाचारमा उल्लेख छ ।

थाइल्यान्डमा, अप्रिलमा मनाइएको थाइ नयाँ वर्षपछि कोभिड–१९ संक्रमणका केसहरू फेरि बढेको देखिएको छ । यो पर्वमा ठूला सामूहिक सभा भएकोले यसले संक्रमण बढाउन मद्दत गरेको समाचारमा उल्लेख छ । यस वर्षको केही महिनाभित्रै देशले दुईपटक ठूलो प्रकोप अनुभव गरिसकेको रोग नियन्त्रण विभागले पुष्टि गरेको बताएको छ । जसका कारण थाइ स्वास्थ्य नियमन निकायहरूले विशेष गरी उच्च जोखिम समूहमा परेका व्यक्तिहरूलाई तत्काल बुस्टर खोप लगाउन आग्रह गरिरहेका छन् ।