जनता टाइम्स

८ चैत्र २०७६, शनिबार ११:५१

कोरोनाभाइरसको बृहत अध्ययनको निष्कर्ष सार्वजनिक, यस्तो उमेरलाई बढि खतरा


काठमाडौं, चैत ८

चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् जसमा ७०,००० भन्दा बढी कोभिड–१९ सङ्क्रमणका विवरणहरू समेटिएका छन् ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो । उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गर्छ ।

मङ्गलवार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो । एक्काउन्न वर्षीय लियो झामिङ उक्त सङ्क्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक थिए ।

कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन् । वुहान भएको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा खराब स्तरमा फैलिएको छ । चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले उक्त प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ ।

उक्त अध्ययनले समग्रमा कोभिड–१९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ । मङ्गलवार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्याङ्कले ७२,४३६ सङ्क्रमणका घटनामा १,८६८ जनाले ज्यान गुमाएको जनाएको छ । अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तमा १,८८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन् । चिनियाँ अधिकारीहरूका अनुसार १२,००० भन्दा बढी मानिसहरूलाई निको भएको छ ।

अध्ययनले के भन्छ ?

सोमवार प्रकाशित तथ्याङ्क चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित भएको हो । त्यसमा चीनभर फेब्रुअरी ११ सम्म पुष्‍टि भएका, शङ्का गरिएका र कुनै संङ्केत नदेखिएका तर कोभिड–१९ पहिचान गरिएका सबै ७२,३१४ घटनाको विवरण उल्लेख गरिएको छ । उक्त अध्ययनले भाइरस र सङ्क्रमणको फैलावटबारे विगतकै व्याख्यालाई पुष्‍टि गरेको छ । अध्ययनमा ४४,६७२ वटा सङ्क्रमणका घटनाको विस्तृत विवरण समावेश छ ।

उक्त अध्ययनका केही निष्कर्ष निम्न बमोजिम छन् :

  • झन्डै ८०.९ प्रतिशत सङ्क्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ, १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ ।
  • ८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ ।
  • ९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन र ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ ।
  • त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमशः बढ्दै गएको देखिएको छ । ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम रहेको पाइएको छ ।
  • लैङ्गिक अनुपातमा पुरुष (२(८ प्रतिशत) भन्दा महिला (१.७ प्रतिशत) कम जोखिम रहेको पाइएको छ ।
  • बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा उक्त अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ । त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ ।

उक्त अध्ययनमा हालसम्म ३,०१९ जना स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण देखिएको र त्यसमध्ये फेब्रुअरी ११ सम्म पाँच जनाको ज्यान गएको उल्लेख छ ।

यसले भविष्यका बारेमा के भन्छ ?

उक्त अध्ययनले कोभिड–१९ को प्रकोप २३ देखि २६ जनवरीसम्म बढेको र त्यसपछि ११ फेब्रुअरीसम्म घटेको उल्लेख गरेको छ ।

उक्त अध्ययनले प्रकोप घट्नुका पछाडि कैयौँ सहरहरूलाई एकअर्कासँग सम्पर्कविच्छेद गरिनु, हात धुने, मास्क लगाउने र उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमहरूबाट सूचना सम्प्रेषण गरिनु र कैयौँ निकाय सम्मिलिन द्रुत प्रतिकार्य टोलीलाई महामारी नियन्त्रणका लागि परिचालन गरिनुलाई उल्लेख गरेको छ ।

तर अध्ययनकर्ताहरूले लामो बिदापछि मानिसहरू घर फर्किन थालेपछि चीनले थप तयारी गर्नुपर्ने बताएका छन् । चीनले उक्त सङ्क्रमणलाई नियन्त्रणमा लिन हुबेलाई अन्य ठाउँबाट सम्पर्कविच्छेद गराइएको र देशभर आवतजावतमा कडा प्रतिबन्धहरू लागु गरेको थियो । (बिबिसीबाट)