जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार १६:१७

कोरोना भाइरसको बिश्वब्यापी त्रासबीच ‘दोख’को उपचार नपाएर अकालमा ज्यान गुमाएकी मेरी आमा संझदा


उपचार नपाएर वा लापर्वाही गरेर जीवन गुमाउनुको पीडा कस्तो हुन्छ ? हामी जानकार छौं । त्यसैले लकडाउनको अनुसरण गर्छौं । रोगले कसैलाई चिन्दैन भन्ने तथ्यलाई सवैले अनुशरण गरेमा नेपालले कोरोना भाइरसबिरुद्धको लडाई सहजै जित्न सक्छ । हेलचेक्र्याँई गरियो भने मेरी आमा दोखले ज्यान गुमाए जस्तै थुप्रै नेपालीले ज्यान गुमाउनु पर्नेछ

गणेश बस्नेत

आज चैत १४ अर्थात बिश्वभर कोरोना भाइरसको महामारी रोक्न नेपालमा लकडाउन गरिएको चौथो दिन । पत्रकारिताको यात्रा सुरु गरेपछिको २६ बर्षपछि २०६२/०६३ सालको जनआन्दोलनताका रंगशालामा नजरबन्दमा रहँदा बाहेक पहिलो पटक घरमै बसेको चौथो दिन पनि हो आज मेरो लागि । जुनसुकै आन्दोलन होस वा कफ्यू, जनतालाई सुसुचित गर्दै आएको एक कलमजीवी आफै घरमा थन्किएको छ, ‘कोरोना भाइरसले प्रेसलाई चिन्दैन भन्ने निश्कर्षका साथ यतिबेला ।’ हुन पनि यतिबेला बिश्वभर कोरोना भाइरसको आतंक छ । चीनको कहरपछि इटालीको कहालीलाग्दो रुप देखिएको छ । इटालीपछि स्पेन यसैगरी कोरोनाको चक्रब्यूहमा फसेर निस्कनै सकिरहेको छैन ।

पछिल्लो दिनमा बिश्वको सर्वशक्तिमान राष्ट्र अमेरिका कोरोनाको पञ्जामा पर्न थालेको छ । छिमेकी मित्रराष्ट्र चीनको बुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसबाट शक्तिराष्ट्रहरु धेरै प्रभावित बनिरहेका छन । पहिल्लो तथ्यांकले अमेरिकामा कोरोना भाइरसको संक्रमित संख्यामा पहिलो नम्बरमा पुगेको छ । चीन र इटालीदेखि स्पेनसम्म यो महामारीको प्रकोपमा परेका थिए । अव संक्रमितको संख्या हेर्दा कोरोनाको इपिसेन्टर कतै अमेरिका बन्ने त होइन भन्ने त्रास फैलिएको छ । नेपालमै पनि तीन जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना उपचारपछि निको भएर घर फर्किएका छन भने दुई जना उपचाररत छन ।

कोरोना भाइरसले बिश्वब्यापी आतंक मच्चाएपछि नेपालमा भित्रन नदिन सरकारले चैत ११ गते मंगलवारदेखि चैत १८ गतेसम्म लकडाउन गरेको छ । आज लकडाउनको चौथो दिन हो । हिजोका दिनसम्म लकडाउनलाई बिनासर्त स्वीकार गरी घरबाटै समाचारको खेती अघि बढाइरहेको यो पंक्तिकार आज भने उलंघन गर्दै बाहिर निस्किएको छ तर आफ्नो र परिवारको चाहनाले होइन, बाध्यताबस । पेशागत बाध्यतासँगै आज मलाई जन्मदिने आमाको श्राद्धको कारण लकडाउनमा घर बाहिर निस्कनु पर्यो । भक्तपुरको बालकोटस्थित घरबाटै कार्यालयको काम सम्हाल्दै आएकोमा आज आमाको श्राद्ध गर्न बोडेस्थित दाजुको घर जानुपर्यो । आज भन्दा ४१ बर्ष पहिले आमाले सानै उमेरमा छाडेर जानुभयो । हजुरआमा र बुवाले भन्नुभएअनुसार त्यसबेला म केवल १८ महिनाको दुधे बालक थिएँ । दाजु खडग तीन बर्ष मात्रै पुग्नुभएको थियो । हालको गौरीशंकर गाउँपालिका ५ सुरी (साविकको सुरी गाविस ८ मुलावारी) त्यसबेला निकै दुर्गम मानिन्थ्यो ।

बुवा सन्तानको उज्वल भविश्यका लागि बिदेसी भुमि (भारतको सिक्किम) मा रगत पसिना बगाउन जानुभएको थियो । आमा गाउँतिरै हुनुहुन्थ्यो । बुवा बिदेशमै रहेको बेला आमाले हामी दाजुभाईसहित बहिनीलाई सदाका लागि छाडेर जानुभयो । आमासँगै केही महिनामै बहिनी पनि धर्तीबाट बिदा भइछन । हामी दाजुभाईलाई थाह हुने कुरै भएन । बिद्यालयको अध्ययनसँगै पहिलो पटक आमाबारे जानकार हुँदा सायद कसैले हामी दाजुभाईलाई टुहुरा भनेपछि थाह भयो, सानैमा आमा गुमाएका रहेछौं । आमाको अनुहार पनि नचिनेको अवस्थामा आमा गुमाउँदाको पीडा आज एकाएक मस्तिष्कमा छायो । पहिलो पटक हजुरआमाले तेरो आमाको फोटो यही हो भन्दै चिनाउनु भएको थियो । आमा र बुवाको तस्विर थियो । आमाको त्यही तस्विरले आज अतिततिर फर्कायो ।

आज लकडाउन भएर होला हामी दाजुभाईले आमालाई निकै मिस गर्यौं । हरेक वर्ष हामी दाजुभाई यो दिन नआवस भनेर कामना गर्छाैं तर फर्किफर्कि आउँछ हामीलाई रुवाएर जान्छ । यो बर्ष धेरै रुवायो । बिश्वभर कोरोना भाइरसले मानिसको ज्यान लिइरहँदा हाम्री आमाले भने एउटा सामान्य रोगको उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको थियो

जस्तोसुकै कठिन परिस्थितिमा पनि आमाको श्राद्ध गर्नु हाम्रो लागि अनिवार्य थियो । किनकी हजुरआमाले सानैमा भन्नुभएको थियो, ‘जहाँ जाउँ, जेसुकै गर तर जस्तोसुकै कठिन क्षण आएपनि आमाको श्राद्ध चाँहि नछाडनु है, छाड्यौं भने आमाको आत्मा रुन्छ, म श्राप दिन्छु ।’ हजुरआमाकै कारण सायद ६ बर्षको सानै उमेरदेखि नै हामी दाजुभाईले आमाको श्राद्ध गर्दै आएका थियौं । जसलाई हिन्दु धर्मको कुनै अस्त्रले छेकेको थिएन । ब्रतबन्ध र जनैबिना श्राद्ध हुन्न भन्ने हिन्दु संस्कारमा हामी सानैदखि यो कर्तब्य पूरा गर्दै आएका थियौ । आज लकडाउन भएर होला हामी दाजुभाईले हामीले आमालाई निकै मिस गर्यौं । हरेक बष हामी दाजुभाई यो दिन नआवस भनेर कामना गर्छाैं तर फर्किफर्कि आउँछ हामीलाई रुवाएर जान्छ । यो बर्ष धेरै रुवायो । बिश्वभर कोरोना भाइरसले मानिसको ज्यान लिइरहँदा हाम्री आमाले भने एउटा सामान्य रोगको उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको थियो ।  आमाको मृत्यको कारण थियो गाउँघरको चल्तीको भाषमा ‘दोख’ अर्थात टाइफाइड । तेरो आमा दोख भएर मरी भन्नुहुन्थ्यो हजुरआमा । पछि थाह भयो दोख भनेको टाइफाइट रहेछ । घरमा लकडाउनमा बस्दा सायद यस्तो कुरा अलिक बिझ्दो रहेछ ।

चीनमा जसरी १२/१५ सय मानिस कोरोना भाइरस भन्ने थाह नपाएरै ज्यान गुमाए, मेरी आमाले पनि टाइफाइड भन्ने जानकारी नभएरै ज्यान गुमाउनु भयो । हामीले आमाको सितल छहारी गुमायौं, बुवाले घरको हरेक परिस्थितिलाई सहज बनाउँदै ब्यवस्थापन गर्ने असल जीवन साथी गुमाउनु भयो । उपचार नपाएर वा लापर्वाही गरेर जीवन गुमाउनुको पीडा कस्तो हुन्छ ? हामी जानकार छौं । त्यसैले लकडाउनको अनुसरण गर्छौं । रोगले कसैलाई चिन्दैन भन्ने तथ्यलाई सवैले अनुशरण गरेमा नेपालले कोरोना भाइरसबिरुद्धको लडाई सहजै जित्न सक्छ । हेलचेक्र्याँई गरियो भने मेरी आमा दोखले ज्यान गुमाए जस्तै थुप्रै नेपालीले ज्यान गुमाउनु पर्नेछ । सवै सचेत बनौं, युरोप र अमेरिकाबाट पाठ सिकौं । रोगलाई जित्ने भनेको आत्मबल र अनुशासनले हो । यो दुई कुरा नभुलौं । अव हाम्रो परिवारको पीडा अरु कुनै परिवारमा नपरोस । कोही दुधे बालक टुहुरो नबनोस । अस्तु ।