जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार ०८:४०

डिजिटल नेपाल बनाउने अभियान शुरु : प्रधानमन्त्रीले अप्टिकल फाइबर विछयाउने कार्यक्रमको उद्घाटन गर्दै


काठमाडौं ।

देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।

सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै हुनुहुन्छ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पु¥याउनेछ ।

सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पु¥याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो । सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो ।

सोही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोड रुपियाँमा जिम्मा दिएको थियो । यस विषयमा २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वकर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ । बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा यूटीएल तथा कर्णाली र सुदूर पश्चिमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन् ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार फाइबर बिछ्याउन आवश्यक उपकरणका लागि सबै सम्झौता पूरा भइसकेकाले सोमबार यसको औपचारिक सुरुवात गर्न लागिएको हो । टेलिकमले उपकरण उपलब्ध गराउन आह्वान गरेको टेन्डर अनुसार प्राप्त निवेदनका आधारमा प्रदेश १ मा एलएस केवल कोरिया (५९६ किलोमिटर), प्रदेश २ मा आरोग्य कन्स्ट्रक्सन र चाइना रेल्वेको जोइन्ट भेन्चर (एक हजार २८ किलोमिटर) र प्रदेश ३ मा चीनको चाइना कम्युनिकेसन सर्भिस इन्टरनेशनल (सीसीएसआई ५ सय ५५ किलोमिटर) सँग सम्झौता भइसकेको छ ।

त्यस्तै अप्टिकल नेटवर्क विस्तारका लागि आवश्यक डीडब्लुडीएम उपकरण र राउटरका लागि पनि टेलिकमले सम्झौता सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो । प्रदेश २ अन्तर्गतका सबै जिल्लामा भने १८ महिनामै काम पूरा गर्ने प्रतिबद्धता कम्पनीले गरेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार टेलिकम आफैले कतिपय ठाउँमा नेटवर्क विस्तार गरिसकेकाले मुख्य सहरहरूमा नौ महिना भित्रै उच्च गतिको ब्यान्डविथ उपलब्ध गराउन सकिने अवस्था छ ।

के फाइदा ?

अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ । तामा(कपर)को तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ । देशैभर विस्तार गर्न लागिएको ९६ कोरको अप्टिकल तारमार्फत उच्च गतिको(ब्रोडब्यान्ड) इन्टरनेट स्थानीयतहसम्म उपलब्ध गराउन सकिन्छ । सरकारले अहिले ग्रामीण क्षेत्रमा ५ सय १२ केबीपीएस र सहरी क्षेत्रमा ५ एमबीपीएस गतिको इन्टरनेटलाई ब्रोडब्यान्ड इन्टरनेट भनेर परिभाषित गरेको छ । यसरी अप्टिकल मार्फत प्रवाह हुने ब्रोडब्यान्ड इन्टरनेटले डिजिटल माध्यमबाट सरकारी सेवा प्रवाह गर्न सहयोग पुग्नेछ ।

सरकारी सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै सेवामा पारदर्शीता ल्याउने उद्देश्य पूरा गर्न यो एउटा बलियो आधार हुनेछ । त्यस्तै ई हेल्थ, ई लर्निङ जस्ता सुविधामा आम जनताको पहुँच पु¥याउन पनि यो सहयोगी हुनेछ । विशेषगरी देशैभर इन्टरनेट प्रवाह गर्न एक किसिमको बाटोको काम अप्टिकलले गर्नेछ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने डिजिटल नेपालको परियोजना अनुसार काम अगाडि बढाउन अप्टिकल फाइबर बिछ्याउने परियोजनाले मुख्य भूमिका खेल्नेछ ।