जनता टाइम्स

३० चैत्र २०७६, आईतवार १२:१०

कोरोना कहरको पाठ : यी हुन नेपालले तत्काल गर्नुपर्ने काम


बिचार पौड्याल

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले यतिबेला संसारका अधिकांश ठाउँमा उत्पादन ठप्प भएको स्थिति छ । अत्याधुनिक उद्योग तथा कलकारखाना भएका बिकसित देशदेखि मध्यमस्तरीय अर्थतन्त्र र कृषिमा निर्भर हाम्रो जस्तो मुलुकले पनि ठूलो झट्का व्यहोरिरहेको छ । सबैको अर्थतन्त्र नराम्रोसँग बिग्रिने बाटोमा गइरहेको छ । निकट भविष्यमै विश्वले ठूलो आर्थिक एवं खाद्य संकट व्यहोर्नुपर्ने जानकारहरुले बताउँदै आएका छन । कृषि क्षेत्रमा तत्काल अपेक्षित उत्पादन हुने स्थिति छैन भने उत्पादित अन्नबाली छिट्टै सकिने चरणमा गइरहेको छ ।

महामारीको यो परिस्थिती अझै कति लम्बिने हो, ठ्याक्कै अनुुमान गर्न गाह्रो भएपनि थिलोथिलो परेको अर्थतन्त्र चलायमान हुन कम्तीमा पनि वर्ष दिन लाग्ने अनुमान लगाउन कठिन छैन । कृषिप्रधान देश भनिए पनि नेपाल अहिलेसम्म कृषिमा आत्मनिर्भर भइनसकेकाले छिमेकी मुलुकसँग भर पर्नुपर्ने बाध्यता छँदै थियो । अबको समय यो समस्या झनै बढ्ने देखिएको छ । देशमा हुुने खाद्यान्न खपतको धेरै हिस्सा बाहिरबाट आइरहेको छ । कोरोना संकटबाट हाम्रा छिमेकी मुलुक झन आक्रान्त बनेको अवस्था जाहेरै छ । सबैठाउँमा उत्पादन नभइरहेको बेला अब केही समय छिमेकी मुलुकहरुसँग पहिला जसरी आयत–निर्यात गर्न सम्भव देखिँदैन ।

कतिपय जानकार–विश्लेषकले यो माहामारीको कारण हामीले भोकमरीको सामना गर्नुपर्ने सम्मको चेतावनी दिइरहेका छन् । उत्पादन ठप्प भइरहने र संकट लम्बिइरहने हो भने साँच्चीकै त्यो समय हामीबाट धेरै टाढा छैन । त्यसैले हामी सबै मिलेर संकटबाट पार पाउन लाग्नुुको विकल्प छैन । अँध्यारोपछि उज्याले अवश्व आउँछ । अर्थात बेला बेलामा आइपर्ने यस्ता संकटले सम्पूर्ण मानव जातीलाई नै राम्रो पाठ सिकाएको र नयाँ गति दिएको दृष्टान्त प्रशस्तै छन् । त्यसैले हामीले पनि आफ्ना स्रोत साधनको अधिकतम प्रयोग गरेर संकटबाट माथि उठ्नुको विकल्प रहँदैन । निकट भविष्यमा आइपर्न सक्ने त्यस्तो संकटबाट पार पाउन अहिले तत्काल हामीले गर्नुपर्ने काम भनेको कृषि उत्पादन नै हो ।

देशमा कति खेतियोग्य जमिन छ ? कुन क्षेत्रमा कुन उत्पादन राम्रो हुन्छ ? त्यसलाई कसरी व्यबस्थित गर्ने र अधिकतम उत्पादन गर्न किसानलाई कसरी हौसला दिने भन्ने विषयमा राज्य नै गम्भीर भएर नीतिगत योजना बनाउनु पर्दछ । नागरिकलाई कृषिमा आकर्षित गर्ने, लगानीको ग्यारेन्टी गर्ने र नाफाको सुनिश्चितता गराउनका लागि राज्यस्तरबाटै पहल हुनु जरुरी छ । त्यसका लागि कतिपय कानुनी र व्यबहारिक कठिनाई हुने भएकाले छिटो परिणाम नआउन सक्छ । राज्य अर्थात सरकार जनताको अभिभावक हो । संकटको घडीमा सरकारले जनतालाई कति राहतको महशुस गराउन सक्यो वा प्रयास गर्यो ? त्यसले सरकारको लोकप्रियता पनि मापन हुुने गर्दछ । जनता पीडामा परेका बेला सरकारले अभिभावकत्व ग्रहण गरेर जनताको साथमा छौँ भनेर विश्वास दिलाउनु पर्छ । जनताले पनि अहिले सरकारलाई साथ दिएर विश्वास गर्नु र गलत कार्यलाई खबरदारी गर्नुको विकल्प छैन । यदि पदको दुरुपयोग गरेर नराम्रा काम भएका रहेछन भने त्यसलाई छानविन गर्ने र कारबाहीको दायरामा ल्याउने निकाय पनि हामी सँग छँदैछन् ।

यस्तो समयमा राज्यको मात्रै मुख ताक्नु र राज्यलाई गाली मात्र गर्नु हाम्रै गैरजिम्मेवारी पन मात्र हुनेछ । कसैलाई गाली गर्दैमा वा चुप लाग्दैमा उत्पादन हुँदैन । अहिले अन्य काम बन्दप्राय रहेकाले हामी धेरैजसो आफ्नै घरमा कामबिहिन भएर बसिरहेका छौँ । बढ्दो सहरीकरण र सुविधा भोग गर्ने हाम्रो चाहानाले बाँझै रहेको नेपालको उर्वर भूमिले हामीलाई बोलाइरहेको छ । तर पनि हामी हिम्मत गर्न सकेका छैनौँ, जोस जाँगर देखाउन सकेका छैनौँ । अनावश्यक टिकाटिप्पणी गरेर सामाजिक सञ्जालमा समय बिताइरहेका छौँ । तर अब त्यो समय आएको छ । बाँझो भूमि हामीले अब फेरि मलजल गर्नुपर्ने भएको छ । तत्काल हामीले व्याससायिक खेती गर्न नसकिएला । तर अहिले आफ्नो बाँझो रहेको जग्गा मात्रै सबैले मलजल गर्यौँ भने ठूलो संकटलाई न्युनिकरण गर्न सक्छौँ ।

विद्यमान समयको संसारकै अर्को ठूलो समस्या बेराजगारी बनिरहेको छ । करोडौँ मानिस रोजगारविहिन हुने आँकलन विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । यसबाट नेपाली पनि अछुत रहने छैनन् । बैदेशिक रोजगारीको लागि संसारभर छरिएका नेपाली कतिपय अहिले नेपाल फर्किइसक्नुुभएको छ । कतिपय फर्किने देश फर्किने प्रतिक्षामा हुनुहुन्छ । संकटको बेला आफ्नो परिवार र देशमा हुन नपाउँदाको पीडा धेरै नेपालीले अहिले भोगिरहेका छन् । त्यसैपनि विदेशमा कुन हदसम्मको मेहनत र परिश्रम गर्नुपर्छ भन्ने हामी सबैलाई विदितै छ । परिवार र सन्तानसँग टाढिएर जीवन नै जोखिममा राखेर पसिनासँग पैसा साटिरहेको तितो यथार्थ हाम्रा सामु छ । झन यस्तो महामारीको समयमा विदेशमा बन्दी जीवन बिताउँदा कस्तो पीडा हुन्छ होला ?

त्यसैले अब दुःख गरेर, बरु आधा पेट खाएर पनि आफ्नै देशमा पसिना बगाउने सोँच र दृढता हुनु जरुरी छ । यो भावना अहिले धेरै जनामा विकास भएको पाइएको छ । जसलाई सुखद मान्न सकिन्छ । सबैले आफ्नो मेहनतले आफ्नो परिवार खुसी राख्न सक्यौँ भने देश नै खुसी हनेछ । हाम्रा दाजुुभाइको मेहनत र परिश्रमले अन्य देश बिकास भइरहेका छन् भने आफ्नो देश पनि पक्कै विकास गर्न हामी सक्षम छौँ । [email protected]