जनता टाइम्स

२ बैशाख २०७७, मंगलवार १९:०९

कम्युनिष्ट आन्दोलनबिरुद्धको मिडिया वार र नेकपा


गोयवल्स प्रचार शैलीको मुल सार नेपालको कम्युनिष्ट आन्दोलनको विरुद्धमा मडिया वारको रुपमा प्रकट भएको छ । यसको प्रत्यक्ष निसाना पूर्वएमाले र हालको नेपाल कम्युनिष्ट पार्टी नेकपातिर सोझिएको छ । कम्युनिष्ट आन्दोलनको विरुद्धमा भएको मिडिया वारको बारेमा अध्ययन गर्ने हो भने अनेक तथ्य र घटनाहरु छन

कर्णबहादुर थापा

एउटै कुरा संयौं पटक विभिन्न सञ्चार माध्यमबाट भनेको भनेइ गर्यो भने झूटो पनि सत्य सावित हुन्छ र सत्य पनि असत्य हुन्छ भन्ने मान्यताविकास गर्ने व्यक्ति थिए, डा. गोयवल्स । मिडियाको माध्यमबाट झूटलाई पनि सत्य जस्तो गरी प्रचारित गर्ने योजनावद्ध अभियानलाई स्थापित गर्ने एक महत्वपुर्ण व्यक्ति गोयवल्स भएकाले यस्तो प्रचार युद्धलाई गोयवल्स सैली भनेर दुनियाभरी प्रचारित भएको हो ।

गोयवल्स प्रथम विश्वयुद्ध सुरु हुँदा १७ वर्षको कलिलो उमेरका थिए भने युद्ध सकिदा २१ वर्षको लक्का जवान भईसकेका थिए । उनले जर्मन दर्शनशास्त्रमा विद्यावारिधी गरेका थिए । र, हिटलरको नाजीवादी पार्टीका एक होनाहार नेता थिए । यिनी व्यक्तिगत रुपमा निकै अध्ययनशिल, क्षमतावान र सकृय मानिस थिए । र, प्रथम विश्वयुद्धका साँक्षी र द्धितिय विश्वयुद्धका मुख्य चालक व्यक्ति थिए । हिटलरको नाजीवादी पार्टीमा लामो समय प्रचार विभाग (प्रोपोगण्डा) समाले र दोश्रो विश्वयुद्धको अवधिभरी उनले हिटलरका सञ्चारमन्त्रीको रुपमा काम गरे । सन १९३४ देखि नै उनले जर्मनी पत्रपत्रिका, रेडियो, टिभि, फिल्म, थियटर जस्ता सञ्चार माध्यमलाई पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेर दोश्रो विश्वयुद्धको वातावरण बनाउन, यहुदीहरुलाई समाप्त पार्न, जर्मनको सामाज्य संसारभर फैलाउन, नाजी जाति र जर्मनको श्रेष्ठताको बयान गर्न परिचालित गरे । दोश्रो विश्वयुद्ध भयो । करोडौं मानिस मारिए । मारिएकामध्ये ६० लाख यहुदी मात्रै थिए ।

जर्मनी साम्राज्य संसारमा फैलाउने हिटलर र त्यसलाई मिडियामार्फत पूर्ण साथ दिने गोयवल्सको सपना पूरा भएन । अन्तिम समयमा हिटलरले गोयवल्सलाई जर्मनीको चाञ्सलर पनि घोषित गरे । त्यसको केही समयपछि हिटलर र गोयवल्स आफ्ना परिवारसहित जर्मनीको बर्लिनमा रहेको उनीहरुले बनाएको अति भव्य बंकरमा आत्महत्या गरेर जीवन समाप्त पारे । गोयवल्सको भौतिक जीवन समाप्त भए पनि उनले स्थापित गरेको मिडिया वारको नीति समाप्त भएन । त्यो संसारभरी गोयवल्स शैलीका रुपमा अहिले पनि चलिरहेको छ । यो शैलीको प्रयोग विशेष गरी पूँजिवादीहरुले आफ्नो सत्ता चलाउन र टिकाउनको लागि गरिरहेका छन् ।

गोयवल्स प्रचार शैलीका चेलाचपेटाहरु विश्वभरी फैलिएका छन् । नेपालमा पनि यसको प्रभाव गहिरो छ । अहिलेका नेपालमा ठूला लगानीका सञ्चार गृहहरुमा गोयवल्स शैलीको मार्गदर्शन सजिलै देख्न सकिन्छ । गोयवल्स प्रचार शैलीको मुल सार नेपालको कम्युनिष्ट आन्दोलनको विरुद्धमा मडिया वारको रुपमा प्रकट भएको छ । यसको प्रत्यक्ष निसाना पूर्वएमाले र हालको नेपाल कम्युनिष्ट पार्टी नेकपातिर सोझिएको छ । कम्युनिष्ट आन्दोलनको विरुद्धमा भएको मिडिया वारको बारेमा अध्ययन गर्ने हो भने अनेक तथ्य र घटनाहरु छन् । यस आलेखमा पूर्वएमालेका विरुद्धमा मदन भण्डारीको हत्याकाण्ड सम्वन्धमा छेडिएको मिडिया वारवारे केही तथ्यहरु अगाडि सारिएका छन । जस्ले नयाँ र पुरानो पुस्तालाई अहिलेको यथार्थ बुझ्न सजिलो हुनेछ ।

जननेत मदन भण्डारी नेपाली राजनीतिमा लोकप्रियताको शिखरमा रहेको समय २०५० साल जेठ ३ गते करिव पाँच बजेतिर पोखराबाट चितवन गइरहदा दाशढुंगा भन्ने ठाऊँमा उहाँ चढेको गाडि त्रिशुली नदीमा खसाएर हत्या गरियो । उहाँसँगै गाडिमा रहनु भएका अर्काे नेता जीवराज आश्रितको पनि मृत्यु भयो । तत्कालिन एमालेका महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जिवराज आश्रितको अवसान हुनु भनेको एमालेको लागि धेरै ठूलो क्षति थियो । त्यो घटना हुँदा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र गृहमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । त्यसवेलाको नेपाली मिडिया र राजनीतिक शक्ति दुई भागमा विभाजित भएको थियो । एउटा पक्ष थियो, यो घटना सामान्य दूर्धटना हो । एमालेले राजनीतिकरण गर्यो भन्ने । अर्काे थियो, यो सुनियोजित हत्याकाण्ड हो । गाडि चालक अमर लामालाई प्रयोग गरेर यो हत्याकाण्ड गराइएको हो भन्ने ।

तत्कालिन सरकारले घटनाको भोलिपल्टै प्रचण्डराज अनिलको एक सदस्यीय आयोग बनायो । आयोगले सरकारको चाहना बमोजिम नै सामान्य सडक दुर्र्घटना भएको निश्कर्ष निकालेपछि एमालेको नेतृत्वमा ठूलो आन्दोलन भयो । आन्दोलनमा २५ जनाको ज्यान गयो र करोडौंको क्षती भई सकेपछि सर्वाेच्व अदालतका न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षताका उच्चस्तरीय अधिकार सम्पन्न आयोग बन्यो । उक्त आयोगको ठहर खण्डमा मदन र जीवराजको भिसेरा परिक्षण गर्ने वेलायतको अस्पतालले भिसेरा संकलन गर्दा कुनै प्राविधिक गडवडि भएको छैन भने लामो समयपछि प्रभाव पार्ने विषादीको प्रयोग भएको हुन सक्ने उल्लेख गरिएको छ । र, उच्चस्तरीय विशेषज्ञको अनुसान्धनले सत्य पत्ता लगाउन सकिने निश्कर्ष निकालेको छ । त्यसपछि कुनै अनुसन्धान अगाडि बढेको छैन ।

यो तथ्य यहाँ दुई कारणले राखिएको छ, एक, मदन भण्डारी हत्याकाण्डको अनुसन्धान पूर्ण रुपमा सकिएको छैन । दोश्रो, त्यसवेलाक गोयवल्स शैलीका मिडियाको के भूमिका थियो त ? हत्याकाण्ड सम्वन्धी विषयमा अर्काे कुनै वेलामा विस्तृत चर्चा गरौंला । अहिले म मिडियातर्फ नै केन्द्रीत हुन्छु । जननेता मदन भण्डारीको जीवनकालभरी गोयवल्स पक्षीय मिडियाले उहाँको सक्दो खेदो खने, अहिले नेकपाका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरे भन्दा धेरै गुना वढी । जब उहाँको हत्या भयो, त्यसपछि उनीहरुले नै कम्युनिष्ट पार्टीमा एउटा गतिलो नेता मदन भण्डारी थिए । उनको अवसानपछि अव कम्युनिष्ट आन्दोलनको भविश्य सकियो भनेर प्रचार गरे, जसरी सोभियत संघको विघटनपछि एउटा युगको अन्त्य, विचारधाराको अन्त्य भनेर विश्वभरी हल्ला गरिएको थियो, फुफुयामा जस्ता विद्धान लगाएर । त्यसवेलामा यो हल्ला विश्वभरी फैलाउने मुख्य मिडिया नायक थिए, विविसि र सिएनएनलगायत । हिजो मदनका विरुद्ध र अहिले केपीका विरुद्धको मिडिया वार व्यक्ति लक्षित थिएन, त्यो कम्युनिष्ट पार्टी विरोधी अभियान थियो । जुनवेला मुख्य नेता मदन हुनुहुन्थ्यो, मदनको विरुद्धमा मिडिया वार भयो, अहिले केपी ओली मुख्य नेता हुनुहुन्छ, केपीका विरुद्धमा मिडिया वार भएको छ । यसमा मिडिया वार गर्नेहरु स्पष्ट छन्, द्धिविधामा छन भने केवल नेकपाका पार्टी नेता, कार्यकता, समर्थक र सर्वसाधारण जनता ।

जब मदनको अनुपस्थितिमा पनि नेकपा एमाले जनमतबाटै अझ बलियो बन्यो र ०५१ मा भएको मध्यावधि निर्वाचनबाट ठूलो पार्टीका हैतियतले अल्पमतको सरकार गठन गर्यो । त्यसवेलाका ठूला मिडिया र ती मिडियामा कलम चलाउने स्थापित लेखकहरु तत्कालिन सरकारको खिल्ली उडाउन र वदनाम गर्न नै तल्लिन थिए । उनीहरुको मुख्य विषय हुन्थे, कम्युनिष्टहरुको हिजो त्याग, वर्गीय पक्षधरता र लक्ष्य तथा अहिलेको उनीहरुको जीवनशैली । चढेका गाडी, लगाएका लुगा, वासस्थान र खानपीनका फोटा, वर्णन र कथाहरु । त्यसले पार्टीभित्र मनमुटाव, अन्यौलता, अविश्वास, अस्पष्टता र दुविदा सृजना भइरहेको थियो तर तत्कालिन सरकारको लोकप्रीय कार्यक्रम र त्यो कार्यक्रममा पार्टीभित्रको एकताले गडवडि गर्न सक्ने खास आकार लिन सकेको थिएन । जब एमालेको ९ महिने सरकार ढल्यो, त्यसपछि पार्टीभित्र सुसुप्त रुपमा विकास भएको अन्यौलताले महागुटको आकार लियो । सिरदेखि तीरसम्म असहिष्णुताको पराकास्ट छुने गरी द्धन्द्ध प्रकट भयो । यस द्धन्द्धको स्थितिमा पुर्याउन र यसलाई आफ्नो पक्षमा उपयोग गर्न गोयवल्स शैली मात्र प्रयोग गरिएको थिएन, शक्ति आर्जन गर्न जे पनि गर्नुपर्छ भन्ने म्याकियावेली सिद्धान्तलाई पनि कम्युनिष्ट नामधारीहरुले व्यवहारमा देखाएका थिए ।

जननेता मदन भण्डारीको हत्याको समयमा पार्टीभित्र एकमत थियो, यो पुर्नउत्थानवादी, प्रतिकृयावादी, पूँजिवादी वा कम्युनिष्ट विरोधी शक्तिको षडयन्त्र हो भन्नेमा । जब पार्टीभित्रको द्धन्द्ध वढ्दै गयो, सुविचारित रुपमा मदन भण्डारीका हत्यारा माधव नेपाल र केपी ओली हुन भनेर मिडिया वार प्रारम्भ गरियो । त्यो युद्धको मुख्य कमाण्ड जनादेश साप्ताहिक पत्रिकाले समाल्यो । पृष्ठभुमि साप्ताहिक, महिमा, जनआस्था, जनधारणा, जनआहान, सौर्य साप्ताहिक र नयाँ निष्कर्ष मासिकले जनादेशले खोलेको फायरको रक्षा र प्रतिरक्षाको भुमिकामा आफुलाई उभ्याए भने छलफल, बुधावार, दृष्टि, सम्वोधन, सूर्योदय साप्ताहिकहरुले माधव र केपीको रक्षा कवचको छिटपुट काम गरे । गहिरो अध्ययन गरी सत्य सथ्य ल्याउने काममा कोही लागेनन, पाएनन । त्यो मिडिया वारमा दुई फिल्ड मार्शलको रचना भयो, टिएन प्रधान र रमेश प्रधान । यी दुई प्रधान जनादेश पत्रिकामा यसरी झुल्किए, मानौ मदन भण्डारी हत्याकाण्डका यीनीहरु प्रत्यक्षदर्सी हुन् ।

यीनको औपन्यासिक लेखको कथाको मुल सार यस्तो छ : मदन भण्डारी राष्ट्रवादी नेता थिए । मदन भण्डारीको अनुपस्थितिमा महाकाली सन्धी भयो । महाकाली सन्धी गराउनकै लागि मदनको हत्या गरिएको हो । त्यो हत्याको सम्पुर्ण योजना भाारतीय जासुरी सँस्था ‘र’ ले गरेको थियो । ‘र’ को योजनालाई माधव नेपाल, केपी ओलीले सघाएका थिए । प्रदीप नेपाल, ईश्वर पोखरेलदेखि सुशिल प्याकुरेल सम्मका मानिसको पनि माधव ‘र’ केपीलाई साथ थियो । कथा यति नै थियो । तर अपौन्यासिक शैलीमा लेखिएका हरेक लेखमा समावेश गरिएका घटना विवरण, पात्रको प्रस्तुति, तिथि मितिको विवरण यसरी दिइएको छ कि त्यस समयमा ती लेखहरुलाई पत्याउनै पर्ने थियो । ती सबै लेख ‘र’ लेखमा उल्लिखित विषय यस आलेखमा समावेश गर्न संभव छैन । त्यसका केही शिर्षक, मिति, लेखकको नाम ‘र’ ती लेखले ल्याएको परिमाण मात्रै उल्लेख गर्दछु ।

जनादेश तत्कालिन माओवादीको मुखपत्र थियो । त्यसका सम्पादक नारायण शर्मा हुनुहुन्थ्यो । सायद (म ठोकेर भन्न सक्दिन) उनी तत्कालिनमा ओवादीको केन्द्रीय सदस्य पनि थिए । उक्त पत्रिकाको २०५४ मंसिर १७ गतेको अंकमा महाकाली प्याकेज र सन्धि अनुमोदनको रहस्य शीर्षकको लेखकको रुपमा टि.एन प्रधान, दार्जिलिड भारतको ठेगानामा प्रकट भए । ०५४ मंसिर २४ मा टि.एन प्रधान दार्जिलिड र रमेश प्रधान, इलाम भनेर मदन भण्डारी हत्यावारे थप तथ्य शीर्षकमा संगै देखा परे । ०५४ पुस १ गते पुनः मदन भण्डारी हत्यावारे थप तथ्यहरु शीर्षकमै टि.एन प्रधान मात्रै प्रस्तुत भए । ०५४, पुस ८ गते पहिले हाम्रो भनाई अनी मदन भण्डारी शीर्षकमा टि.एन.प्रधान र रमेश प्रधानसँगै आए । टि.एन प्रधान र रमेश प्रधान सक्कली मानिस होइनन भन्नको लागि । मदन भण्डारी हत्याकाण्डलाई एमालेकै विरुद्धमा कसैले नक्कली मानिस खडा गरेर षडयन्त्र गरेको भन्ने विषयले ठूलो प्रचार भएको यस वेलामा पहिले आफ्नैवारे केही लेखे उनीहरुले ।

लेखको सुरुमै लेखेका थिए, यसपल्ट हाम्रो आफ्नै कुरा । काठमाडौंमा हाम्रो वारेमा उठेका जे जति चर्चा छन, हामीले सबै बुझिराखेका छौं । कसैले हामीलाई अरु नै केहीभन्ने गर्दछन । कसैमाथि आरोप लगाउनु पर्दैन, झण्डै एक महिना पछि हामी दार्जिलिड फर्केपछि हामी हाम्रो तस्वीर पठाई दिनेछौं । तव हाम्रो वारेमा भ्रम निवारण होला । अहिले हामी नेपालमा जहाँजहाँ ‘र’ को वढी सक्रियता छ त्यतै घुम्छौं र, नेपालको पत्रपत्रिकामा लेख्छौं । यहाँको कुनै पार्टीसँग पनि हामीलाई सरोकार छैन । बरु हामीलाई यहाँका देशभक्तहरुसँग छ । नेपाल वाँचे हामी बाँच्न सक्छौ, नत्र भने हामी प्यालेस्टाइन हुनुपर्ने हुन्छ । हामी नेपाली देश खोज्न काहाँ जाने ? त्यसैले हामीले लेख्ने गरेको पत्रिकाको च्यानलभित्र पनि आफनो मान्छे छिराउने अहिले खुव प्रयास भएकाले हामी त्यो पनि वाच गरिरहेका छौं भनेर आफ्नो वारेमा स्पष्टीकरण दिएका थिए । यीनका सबै लेखमा भारतीय जासुसी संस्थाको एजेण्टहरुका नाम र कोड नम्वरहरु पनि उल्लेख गरेका छन । हरेक लेखहरु राष्ट्रवाद र देशभक्तिका नाममा लेखिएका छन् र, ‘र’ का प्रतिवेदनको रुपमा प्रस्ततु गरिएका छन । किनकी त्यसवेला महाकाली सन्धीसँग सम्बन्धित भएर राष्ट्रवादको चर्काे नारा लगाएको थियो । यीनका लेखले हरेक नेपालीलाई उद्धेलित गर्ने अवस्था थियो ।

जनादेश पत्रिकाको बारेमा उठेका प्रश्नको जवाफ दिँदै २०५४ साल पुस १५ मा मदन आश्रित हत्या र र” को रिपोर्टबारे हाम्रो भनाई शीर्षकको लेखमा लेखिएको ,..हामीलाई ती लेख रिपोर्टहरु प्राप्त भएपछि तिनमा उल्लेखित कुराहरु तथ्यमा आधारित सत्यका नजिक, गम्भीर र महत्वपूर्ण भएको लाग्यो भन्दै … मदन आश्रितको हत्या गरिनुमा एमालेकै वरिष्ठतम नेताहरुको हात रहेको झनपछि झन खुल्दै आयो भनी टि.एन प्रधान र रमेश प्रधानका लेख रिपोर्ट छाप्नुको औचित्यता र महत्वलाई प्रकाश पारेका छन । २०५४ पुस २२ गते ‘मदन आश्रित हत्याको पोल खुल्दै टी. एन प्रधानको पत्ता लाग्दै’ शीर्षकमा जनादेश स्वयंका तर्फबाट रमेश प्रधानको विवरण दिइएको छ । उनीहरुले पठाएका सबै रिपोर्ट पत्रिकाले नछापेको भनी उनीहरुले पठाएको भनिएको लामो रिपार्ट छापिएको छ । भोजपुरको चरम्बीमा जन्मेको, आसाम मणिपुरमा विवाह भएको, काठमाडौं शंकरदेव र किर्तिपूरबाट एमकम र एमएसम्मको अध्ययन गरेको, पूर्वअनेरास्ववियुको कार्यकर्ता भएको र मदन भण्डारीसँग विराटनगरमा भेट भई कोठामा खाना खुवाएको समेतको लामो विवरण दिइएको छ । जनादेशको कार्यालयमा छिटै आउने पनि उल्लेख गरिएको छ । र, एमालेको छैठौं महाधिवेशनपछि पनि लेखिरहने पनि उल्लेख छ । अर्थात पाठकलाई उनको लेखनीमा विश्वास दिलाउने गरी विवरण छापिएको छ । २०५४ साल पुस २९ गते अब मैले वोल्नै पर्यो शीर्षकमा फेरी टि.एन प्रधानको नाममा लामो लेख छापिएको छ । ०५४ साल माघ ७ गते यो मेरो सानो भनाई शिर्षकको लेखमा रमेश प्रधान प्रकट भए । त्यसपछि टि.एन प्रधान र रमेश प्रधानहरु केही समय पूर्णरुपमा गायव भए ।

जनादेश तत्कालिन माओवादीको मुखपत्र थियो । त्यसका सम्पादक नारायण शर्मा हुनुहुन्थ्यो । सायद ( म ठोकेर भन्न सक्दिन ) उनी तत्कालिनमा ओवादीको केन्द्रीय सदस्य पनि थिए । उक्त पत्रिकाको २०५४ मंसिर १७ गतेको अंकमा महाकाली प्याकेज र सन्धि अनुमोदनको रहस्य शीर्षकको लेखकको रुपमा टि.एन प्रधान, दार्जिलिड भारतको ठेगानामा प्रकट भए

जनादेश पत्रिकामा छापिएका लेखहरुलाई पुष्टि गर्ने गरी दासढुंगा भित्रका वास्तविकता ! शीर्षकमा २०५४ पुस १७ गते पृष्टभूमि साप्ताहिकमा राजन जोशीको लेख प्रकाशित भएको छ । दासढुंगाभित्रका वास्तविकता २ शिर्षकमा राजन जोशीकै नामको अर्काे लेख पृष्टभूमि साप्ताहिकको २०५४ साल पुस २४ को अंकमा प्रकाशित भएको छ । ०५४ पुस २४ को पृष्टभूमि साप्ताहिकले मदन आश्रित हत्या र विद्या भण्डारी शीर्षकमा सम्पादकीय पनि लेखेको छ । दासढुंगा व्यूँझाउनु भण्डारी र आश्रितको सम्मान हो भन्ने शिर्षकमा रमेशराज आचार्य (दादा) को लेख महिमा साप्ताहिकमा २०५४ साल पुष १९ को अंकमा प्रकाशित भएको छ । ‘र’ को पञ्जाबाट विऊँझिन नसकेका अमरसहित मदन आश्रित शीर्षकमा २०५४ पुस २६ गतेको महिमा साप्ताहिकमा रमेशराज आर्चाय (दादा) को अर्काे लामो लेख पनि प्रकाशित भएको थियो । राजाले पनि छानविन गर्नैपर्छ भन्ने शीर्षकमा सौर्य साप्ताहिकको २०५४ माघ ६ गते खगेन्द्रराज सिटौलाको लेख प्रकाशित भएको छ । मदन आश्रित हत्याकाण्डबारे सिपिको भण्डाफोर शिर्षकमा जनआस्था साप्ताहिकको २०५४ साल पुस २ को अंकमा समाचार विश्लेषण पनि छापिएको छ ।

माथि उल्लेखित सबै पत्रपत्रिका र लेखकहरु मदन आश्रितको हत्यामा केपी शर्मा ओली र माधवकुमार नेपालको संलग्नता पुष्टि गर्न लागिपरेको थिए । त्यो समय तत्कालिन नेकपा एमालेको छैटौं महाधिवेशनको पूर्वसन्ध्याको समय थियो । यो मिसन ०५४ साल मंसिर १७ वाट सुरु गरिएको थियो । र, माघ ७ गतेसम्म सघन रुपमा चलाइएको थियो । माघ, १२ देखि नेकपा एमालेको महाधिवेशन नेपालगञ्जमा हुँदै थियो । माथि उल्लेखित सबै पत्रिकामा प्रकाशित लेख रचनासहित अन्य केही विषय समावेश गरेर मदन भण्डारी हत्याकाण्ड र यसको रहस्य नामको एक पुस्तिका समेत प्रकाशित गरियोे । उक्त पुस्तिकाको कभर पृष्टमा टि.एन प्रधान र रमेश प्रधानको भनी दुई फोटा पनि राखियो र मदन र आश्रितको फोटो पनि राखियो ।

यो पुस्तिकाको संकलक र प्रकाशक गोपाल चिन्तन र जनक पाठक थिए । एमालेको छैटौं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहदेखि अन्त्यसम्म यो पुस्तक खुव विक्रि भयो । पुस्तिकाको मुल्य रुपैया ३० लेखिएको थियो । उस्तै परे निशुल्क पनि वाँडिएको थियो । मुल्य तिररै मैले पनि उक्त पुस्तिका किनेको थिए । अहिले मलाई यो पुस्तिका अति नै मुल्यवान भएको छ जसका आधारमा मैले यो आलेख तयार पार्न सकें । र, अरु पनि थुप्रै रहस्यमय चिजबाँकी नै छन, यस पुस्तिकाभित्र । कहिले काँही अरुलाई फसाउनको लागि रचिएका पासामा आफु स्वयँ पस्ने पनि खतरा रहन्छ भन्ने भनाई ठिकै हो जस्तो लागेको छ ।

एमालेको छैठौं राष्ट्रिय महाधिवेशन निकै तिक्तताका साथ सम्पन्न हुनुमा अरु पनि धेरै कारण थिए होलान । ठोकेर के भन्न सकिन्छ भने त्यो वेला नेताहरुको चरित्र हत्या गर्न जे पनि गर्ने गोयवल्स प्रचार शैलीले मुख्य भुमिका खेलेको थियो । राजनीतिक वैचारिक भन्दा वढी व्यक्तिगत सत्तोसराप गर्ने प्रबृत्ति हावी भएको थियो र यस अभियानमा मिडियाले प्रमुख भुमिका खेलेको थिए । जसले ०५४ फाल्गुण २१ गते तत्कालिन नेकपा एकालेको संसदीय दल विभाजन भयो र पार्टी नै विभाजित भयो । नेपाली राजनीतिमा एमालेको पार्टी विभाजनका नकारात्मक असरको बारेमा थुपै पुस्तक लेख्न सकिने तथ्यहरु छन् । म त्यता चर्चा गर्दिन । बरु गोयवल्स शैलीको प्रचार युद्धमै केन्द्रीत हुन चाहन्छु ।

२०५६ सालमा संसदीय निर्वाचन भयो । उक्त निर्वाचनको ठिक अगाडि टि.एन प्रधान फेरी प्रकट भए नयाँनिष्कर्ष मासिकमार्फत, जो २०५४ साल माघ ७ गते गायव भएका थिए । तत्कालिन मालेको मुखपत्रको रुपमा प्रकाशित नयाँनिष्कर्ष मासिकको जेठ अंकमा पुनः मदन आश्रितको हत्याकाण्ड सम्वन्धी विशेष सामग्री प्रकाशित गरियो । यिनै हुन टि.एन प्रधान भनेर क्याप्सनमा फोटो पनि छापियो । केपी माधवको ‘र’ सँग सम्पर्क र दासढंगा हत्याकाण्ड शिर्षकको लेखको रुपमा तीर्थनारायण प्रधान अर्थात टि.एन प्रधानको नाममा लामो लेख छापियो । सबै लेखहरु पहिले नै जनादेश साप्ताहिकमा छापिएका औपन्यासिक लेखहरु नै थिए । सोही पत्रिकाको अनुसन्धान खोजखवर स्तम्भमा मनद आश्रित हत्याकाण्डः पर्दा पछाडिका अनुहारहरु शिर्षकका लेखक गुणराज हरिहर । अर्थात नयाँनिष्कर्ष मासिकका सम्पादक हरिहर पोखरेल तथा प्रधान सम्पादक गुणराज लुइटेल स्मित थिए । उक्त पत्रिकामा टि. एन प्रधानको परिचय यसरी दिइएको छ : नामः तीर्थनारायण प्रधान, जन्म : सन १९३९ जुलाई ६ तारिख दार्जिलिड, माताः मनकुमारी प्रधान, पिताः स्व जगत नारायण प्रधान, शिक्षा : सन १९५७ मा दार्जिलिड पव्लिक स्कूलवाट म्याटिक, सन १९६३ मा नर्थ वंगाल युनिर्भसिटी वागडोगराबाट डिप्लोमा, सन १९६४ अगस्त २४ मा ग्रामपञ्चायतको सिफारिसमा जागिरमा भर्ना । सन १९८५ मा राजिव गान्धिद्धारा काम राम्रो गरे वापत मेडल ।

हेर्नाेस प्रमाण

सन १९८८ मा काठमाडौं (भारतीय राजदुतावास) सन १९९६ मा काठमाडौंबाट रिटायर्ड । यस लेखको शुरुमै उनी लेख्छनः एमाले महाधिवेशनको ताका दासढुंगाको बारेमा लेख्दा एमाले फुटाउने चाल भनेर धेरैले रिपार्टहरु लेखे । आखिर एमाले फुटेपछि हामीले लेखेनौ । किन त ? हामीले नेपाली जनता उनीहरुका नेतालाई कत्तिको माया गर्दा रहेछन् भनेर हेर्यौं । अर्काेतिर त्यो वेला हामी नेपालमा थिएनौं । रमेशजी त अहिले पनि वाहिरै हुनुहुन्छ । उनको लेखको सार के छ भने उनी नेपाललाई खुवै माया गर्थे । उनी भारतिय राजदुतावासमा काम गर्ने कर्मचारी थिए । भारतीय राजदुतावासभित्र नेपालको विरुद्धमा अनेक षडयन्त्रहरु रचिन्थे । तीनलाई यिनले डायरीमा टिप्थे । मदन आश्रितको हत्याका विरुद्धमा भएको योजनालाई उनले जनादेश पत्रिकामा प्रकाशित गरेका हुन । सार यही हो ।

२०५६ सालको निर्वाचन सकियो । एक दिन नयाँनिष्कर्ष मासिकमा यिनै हुन टि.एन प्रधान भनी छापिएको फोटो भारतीय वरिष्ठ पत्रकार तथा सांसद कुलदीप नयरको भएको प्रमाणसहित तत्कालिन चर्चित फोटो पत्रकार उषा तिवारीले सूचना विभागमा पत्रकार सम्मेलन गरिन । उक्त पत्रकार सम्मेलनमा उनीले टि. एन प्रधानको भनी छापिएको फोटो आफुले खिचेको र त्यसको एकप्रति आफुसँग भएको र अर्काेप्रति गणेश खत्रीसँग भएको तथ्य सार्वजनिक गरिन । भएको के रहेछ भने उषा तिवार र युवा वैज्ञानिक भनी प्रचारित गणेश खत्री (एमालेको नौ महिना सरकारमा युवा वैज्ञानिकका रुपमा तत्कालिन रोनास्टमा कार्य समेत गरेका । झापा निवासी एक युवा । उनका विभिन्न लेख रचना विभिन्न साप्ताहिकमा प्रकाशित भएका थिए । हाल उनको मृत्यु भइसकेको छ ।) भारत गएको वेलामा कुलदीप नयरको फोटो खिचिएको रहेछ । कुलदीप नयर कुर्चिमा वसेका र गणेश खत्री उनको छेउमा उभिएर केही देखाईरहेको अवस्थामा फोटो खचिएको रहेछ ।

नयाँनिष्कर्ष मासिकमा प्रकाशन गर्न लागिएको लेखलाई विश्वासिलो बनाउनको लागि टि. एन प्रधानको फोटो मागेछन, नयाँनिष्कर्ष मासिकका सम्पादक र प्रधानसम्पादकले । गणेश खत्रीले आफ्नो फोटो काटेर कसैले थाहा पाउदैनन । टि.एन प्रधान यिनै हुन भनेर छापौ भनेरका रहेछन् । यी सबै कुरा गणेश खत्रीले नै एक साप्ताहिक प्रकाशित गरेका थिए, जुन पत्रिकाको नाम मलाई अहिले याद भएन । २०५६ साल भदौ १४ गते नयाँनिष्कर्ष मासिकका सम्पादक हरिहर पोखरेल र गुणराज लुइटेल स्मितले एक प्रेस विज्ञप्ती प्रकाशित गरी टि.एन प्रधान प्रकरणको रहस्योदघाटन गरेका छन ।

हेर्नाेस प्रमाण

यसले नेपाली मिडियाको प्रयोग निहित स्वार्थसिद्धिका लागि कसरी हुन्छ भन्ने तथ्यलाई प्रमाणित गरिदिएको छ एकातिर भने अर्काेतिर दासढुंगा हत्याकाण्डलाई सत्यसम्म पुरयाउने केही गोरेटा पनि पछिल्लो पुस्तालाई दिएका छन ।

आलेख अलि लामो भएको छ । धेरै विषयलाई यतिमात्रै शव्दमा ल्याउन मलाई निकै कठिनाई भएको छ । कतिपय प्रसंग पढ्दा बुझन गाह्रो पनि होला । मसँग भएका तथ्यका आधारमा यो आलेख तयार पारिएको हो । जो कोहीलाई सत्य जान्न मन छ । र, तथ्यको जरुरी छ भने म उपलव्ध गराउन तयार नै छु । अन्तमा केही कुरा निष्कर्षका रुपमा यहाँ लेख्दैछ ।

हामी वर्गीय समाज छौं । वर्ग पक्षधरता संसारभर नै हुन्छ । माक्र्सवादीहरुले वर्ग पक्षधरतालाई खुलेर भन्छन । अध्यात्मवादी र पूँजिवादीहरुले नभनिकन वर्गपक्षधरताका लागि काम गर्दछन् । हरेक पेशा व्यवसायमा दुई खाले प्रबृत्ति हुन्छन । एक सत्यको पक्षमा उभिने, सत्यको खोजी गर्ने र सत्य स्थापित गर्न आफना वल, वुद्धि, साधन, श्रोत परिचालन गर्ने । अर्काे शक्तिकोपछि लाग्ने, शक्तिआर्जन गर्न जे पनि गर्ने । नीजी लाभका लागि श्रम, चेतना र साधनको प्रयोग गर्ने । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले रोजेको बाटो पहिलो बाटो अर्थात सत्यको बाटो हो । हरेक सिद्धान्त, विचार र विश्लेषणको एक खास सन्दर्भ हुन्छ । त्यसलाई विर्सेर त्यसको सत्यलाई स्थापित गर्न सकिदैन । गोयवल्स प्रचार शैलीको पनि खास सन्दर्भ छ ।

मुल नेतृत्वलाई नजोगाई सत्यको लडाई जित्न सकिदैन । इतिहासका सबै घटनाक्रमहरुलाई सही ढंगले विश्लेषण गर्दै नेकपाका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध भएको मिडिया वारलाई पराजीत गर्न एकतावद्ध होऔं । टि.एन प्रधान र रमेश प्रधानहरु हाम्रै वरिवरी हुन पनि सक्छन् । गोयवल्स व्यक्तिगत हैसियतमा अति क्षमतावान भए जस्तै टि.एनका कथा लेख्नेहरु पनि क्षमतावान नै छन् । ती कथा पढ्ने हो भने अहिले नेपाली मिडियामा उत्पादन गरिएका कथाहरु फिक्का लाग्छन ।

संसारमा जर्मन साम्राज्य फैलाउनु थियो । नाजीवादलाई स्थापित गर्नु थियो । यी उद्धेश्य पुर्ति गर्न प्रथम विश्वयुद्ध आवश्यक ठानेका थिए उनले । उनले आफूभन्दा महोत्वाकांक्षी मानिस हिटलरको मार्गदर्शन पाएका थिए । त्यस सन्दर्भमा मिडिया वारको रणनीति उनले तयार पारेका थिए । धेरै ठूलो नरसंहार भयो तर उनको सपना पूरा हुन सकेन । त्यसैले गोयवल्स प्रचार शैली कसैका लागि अनुकरणीय हुनु हुदैन, त्याज्य हुनु पर्दछ । नेपालको कम्युनिष्ट आन्दोलन सिद्धान्त, व्यवहारको कसीमा नयाँ शिराबाट आफ्नो विशिष्ट मौलिक बाटोबाट सफल भएको छ । यो विश्व कम्युनिष्ट आन्दोलनकै मुल बाटो बन्नसक्छ । यो आन्दोलनलाई यहाँसम्म ल्याई पुरयाउने सबैको सम्मान गरौं । नेपाली मिडियामा कलम चलाउने सबै वेठिक छैनन । नेपाली समाजको चेतना र सजकतालाई उचाईमा पुरयाउनका लागि विशेष भुमिका खेल्नेको ठूलो सँख्या छ । सत्यको पक्षमा उभिने पंत्ति ठूलो छ । सत्यका पक्षधरहरु सबै एकतावद्ध हुनु आजको आवश्यकता हो ।

मुल नेतृत्वलाई नजोगाई सत्यको लडाई जित्न सकिदैन । इतिहासका सबै घटनाक्रमहरुलाई सही ढंगले विश्लेषण गर्दै नेकपाका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध भएको मिडिया वारलाई पराजीत गर्न एकतावद्ध होऔं । टि.एन प्रधान र रमेश प्रधानहरु हाम्रै वरिवरी हुन पनि सक्छन् । गोयवल्स व्यक्तिगत हैसियतमा अति क्षमतावान भए जस्तै टि.एनका कथा लेख्नेहरु पनि क्षमतावान नै छन् । ती कथा पढ्ने हो भने अहिले नेपाली मिडियामा उत्पादन गरिएका कथाहरु फिक्का लाग्छन । टि. एनहरुलाई चिनौं, वहिस्कृत गरौं र अगाडिको बाटो हामी आफै तय गरौं । हतियारको बलबाट पराजीत गर्न नसकेको कम्युनिष्ट आन्दोलनलाई मिडिया वारबाट पराजीत गर्ने षडयन्त्रलाई असफल पारौं ।