जनता टाइम्स

६ बैशाख २०७७, शनिबार १६:३०

सरकारले पूर्वतयारी गरेकै कारण नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढेन : प्रवक्ता खतिवडा


काठमाडौं, बैशाख ६ । अर्थएवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारको पूर्वतयारीकै कारण नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढन नदिएको प्रष्ट पार्नुभएको छ ।

एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक विशेषमा पत्रकार शुभशंकर कँडेलसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले सरकारले बेलैमा पुर्व तयारी गरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न नदिएको बताउनुभएको हो । आगामी दिनमा कोरोना संक्रमणको चुनौतीलाई थेग्न सक्ने सामथ्र्य पनि सरकारले बनाइरहेको मन्त्री खतिवडाले प्रष्ट पार्नुभयो । मुलुकमा ३० हजार बढी वेड संख्याको क्वारेन्टाइन बनाइएको र र्यापिड टेस्ट एवं पिसिआर परिक्षणमार्फत धेरै ठाउँबाट कोरोना परिक्षण शुरु भएको जानकारी पनि मन्त्री खतिवडाले दिनुभयो ।

सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाइरहेको मन्त्री खतिवडाको भनाई छ । २ वटा वाइडबडी जहाजमा स्वास्थ्य सामाग्री नेपाल भित्रिइसकेको र तातोपानी नाकाबाट १० हजार सेट पिपिई पनि उपलब्ध गराईएको जानकारी दिनुभयो । टेष्ट किटको केही अभाव भएकाले अत्यावश्यक भएकालाई विशेष गरी परिक्षण गर्नुपरेको र सबै नेपालीलाई जाँच्नु नपर्ने उहाँको भनाई छ । नेपालमा कोरोना संक्रमणको त्रास भए पनि स्थिति भयावह नभएको मन्त्री खतिवडाले बताउनुभयो । उपचार गर्न सरकारी अस्पतालहरु परिचालित भएको अवस्थामा नीजि अस्पतालहरु पन्छिनुले नीजि अस्पतालको भुमिकामाथि प्रश्न उठेको उहाँको भनाई छ ।

कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रकरण अपारदर्शी भएको भन्ने प्रश्न उठेकाले त्यसको छानविन सम्बन्धित निकायले गर्ने भएकोले अहिले अर्नगल प्रचार गर्नुको आवश्यकता नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो । सामान खरिद र नेपाली सेनाले सामान ल्याउने विषय पनि कानुन सम्मत भएन भने कारबाही गर्न सकिने उहाँले बताउनुभयो । लकडाउनको पालना गर्दै आवत् जावतमा बन्द गर्न जोड दिनुपर्ने बताउँदै मन्त्री खतिवडाले अलपत्र परेका मजदुरहरुलाई सरकारले राहत उपलब्ध गराइरहेको र सरकारले कोही कसैलाई भोकै मर्न नदिने प्रतिवद्धता व्यक्त जनाउनु भयो ।

सरकारले नेपाली जनता र नेपालमा रहेका विदेशीको जीवन रक्षाको निम्ति काम गरिरहेकोले लकडाउनलाई पालना गर्न अनुरोध गरेको स्मरण गराउनुभयो । लकडाउनको बेलामा पनि अति आवश्यक बस्तुको ढुवानी नरोकीएको र यो बेला खाद्यन्न उत्पादन र आर्थिक गतिविधि चलायमान बनाउने बारे सरकारले सोचिरहेको जानकारी दिनुभयो । बैशाख १५ पछि संक्रमण फैलिने नफैलिने स्थिति हेरेर आवश्यक ठाउँको लकडाउन खोल्ने निर्णय गरिने उहाँको भनाई छ ।