जनता टाइम्स

३ जेष्ठ २०७७, शनिबार ११:२४

जबजका युगिन जिम्मेवारी


जबजलाई राजनीतिक ढंगले बुझ्न नसक्नेहरुले चुनाव जित्नुलाई नै जबज देखिरहेका छन् । जबजले जसरी भए पनि जित भनेको छैन । चुनाव जित्नका लागि पैसा खर्च सक्ने मान्छे खोज्ने, इमान्दार र मेहनतीलाई पाखा लगाएर पैसा खर्च गरेर भोत भतेर गर्ने र गुण्डागर्दी गरेर जित्नु भनेको छैन । यस्ता अभ्यास जबजका नामका विकृति हुन् तर यसैलाई देखाएर जबजको खिल्ली उडाउने अस्थिरताको विम्व पार्टीभित्र देखिएको छ, त्यसबाट कम्युनिष्ट आन्दोलनलाई जोगाउन नसक्ने हो भने विचलन आउने पक्का छ 

सुनिता बराल

सामाजिक परिवेशहरुलाई नेतृत्व प्रदान गर्दै समाज विकासलाई गति र दिशा निर्देश गर्ने राजनीतिक प्रणालीहरु निश्चित अवधिसम्मका लागि मार्गदर्शक सिद्धान्तका रुपमा रहन्छन् । विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा कम्युनिष्ट पार्टीहरु जनताका बीचमा सामाजिक परिवेशलाई सुहाउँदो मोडलबाट राजनीति गरेर सरकार संचालनको अवस्थामा छ । जनतासंगको सामिप्यताकै उपलब्धिको रुपमा जनमतबाट स्थापित हुने राजनीतिक प्रणालीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद नेपाली सामाजिक परिवेश मात्र नभएर विश्व राजनीतिकै प्रेरक सिद्धान्त हो ।

तत्कालीन महासचिव मदन भण्डारीले कम्युनिष्ट पार्टीहरुलाई परम्परागत रुढता र जडसुत्रबादबाट मुक्त गराई जनताको आवश्यकता र चाहनामा आधारित नीति र कार्यक्रम लिएर प्रतिष्पर्धामार्फत जनअनुमोदित हुने आधारभूत विशेषतासहितको सिद्धान्तलाई अगाडि सार्नुभएको थियो । जुन यो सताब्दीकै सिंगो कम्युनिष्ट आन्दोलनको आकर्षण र सैद्धान्तिक मियो बनेर विश्वलाई नयाँ सन्देश दिईरहेको छ । मानवअधिकारको रक्षा, विधिको शासन, प्रेस स्वतन्त्रता लगायतका पक्षहरुलाई समेत सुनिश्चित गर्दै खुल्ला र बहुलवादयुक्त समाजमा प्रतिष्पर्धात्मक राजनीति गर्नुपर्छ भन्ने विचार अघि सार्दा मदन भण्डारीलाई दक्षिणपन्थी भन्नेहरुले पनि समयक्रममा बहुदलीय प्रतिष्पर्धात्मक राजनीति स्वीकार्नुपर्ने अवस्था निर्माण हुनुले पनि जबजको सान्दर्भिकता पुष्टि भएको छ । जबजका नाममा कम्युनिष्ट विचारबाट मोडिएको आलोचना गर्नेहरु नै समयक्रममा यो वा त्यो कोणबाट जबजको छहारीमुनि आईपुगेको नेपाली मौलिक कम्युनिष्ट आन्दोलनले पनि राजनीतिक प्रणालीमा जबजको औचित्य पुष्टि गरेको छ । प्रविधिको विकास, मानवीय स्वभाव रुची अनि सामाजिक अवस्थाअनुसार विधिको शासन, मानवअधिकार, प्रतिष्पर्धात्मक राजनीति बेगर अहिलेको सामाजिक परिवेशमा राजनीतिक एजेण्डा र कार्यक्रम असम्भव नै हुन्छ ।

यतिबेलाको नेपाली राजनीतिमा कम्युनिष्ट पार्टी झण्डै दुई तिहाइ जनमतसहित सरकारको नेतृत्वमा छ । दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएर नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएको २ वर्ष पुग्दै गर्दा नेतृत्वभित्रका केही कार्यशैलीको समिक्षा पनि जबजको सान्दर्भिकतामा जोड्न जरुरी हुन्छ । पार्टीभित्र जबजलाई मार्गदर्शक सिद्धान्त बनाएर जाने समूह र जनयुद्ध र जबजलाई सम्पति मान्दै नयाँ सैद्धान्तिक बहसमा जाने समूहले बेला बेला राजनीतिक दाउपेच बनाईरहेजस्तो देखिने गरेको छ । एउटा जिवन्त र गतिशील राजनीतिक पार्टीभित्र वैचारिक र सैद्धान्तिक प्रतिष्पर्धा र मतभेदहरु हुनु स्वाभाविक हो । तर पनि कार्यकर्ताको भीड र उनीहरुको मनोवल हेर्दै पूर्वएमाले जनको उपस्थिति देखे जबजको पक्षमा उभिने र पूर्वमाओवादीको बाहुल्यता देखिए जनयुद्ध नस्विकारे जे पनि हुन सक्छ भन्दै धम्क्याउने प्रबृति जुन देखिने गरेको छ । यो अस्थिरता र अदूरदर्शीता कम्युनिष्ट पार्टी विचलनको विम्व हो । यस्ता अस्थिर कार्यशैलीले कम्युनिष्ट पार्टीलाई गति दिन सक्दैन र यस्ता अस्थिर राजनीतिक कार्यशैली टिक्न सक्दैनन् भन्ने पुष्टि गरेर समयले नै अस्विकार गरिसकेको छ ।

विद्यमान निर्वाचन प्रणालीका केही दोष छन् । अझ बहुदलीय प्रतिष्पर्धाको रुपमा निर्वाचनमा गएर अनुमोदन भएर आउनुपर्दा केही विकृतिजन्य प्रबृतिहरु हावी भएका पनि हुन सक्छन् । नेतृत्वका केही कमजोरी र प्रतिष्पर्धाका लागि आवश्यक जनमत निर्माण गर्नुपर्दाका केही क्रियाकलापहरुले जनताको बहुदलीय जनवादको कार्यान्वयनलाई गलत बाटोतर्फ धकेल्न सक्ने सम्भावना र खतराहरु देखिएकापनि छन् । युद्ध वा हिंसालाई समयले जसरी गलत प्रबृत्तिका रुपमा छाप लगाएर अस्वीकृत गरिदियो, त्यसरी नै प्रतिष्पर्धाका लागि अबलम्बन गरिएका गलत कार्यशैली पनि अस्वीकृत हुने नै छन् । प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने भनेको, गैर राजनीतिक झुण्ड निर्माण गरेर, नेतृत्वबीचमा अनावश्यक खेलेर र कार्यकर्ताहरुको बीचमा अस्थिरता पैदा गरेर नभै विचार, कार्यक्रम, सिद्धान्त र संगठनको बलमा हो । जबजको मर्म यही हो । तर आज प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नका भनेर गलत ढंगले मतदातामा प्रभाव पार्न ठेकेदार गुण्डागर्दी र गैर राजनीतिक क्रियाकलापलाई नेतृत्वबाट नै संरक्षण हुनु कम्युनिष्ट आन्दोलनको क्षयीकरणको प्रस्थानविन्दू हो । विजय प्राप्तीका लागि गरिने हर क्रियाकलापलाई जबजको लेप लगाएर सके आफू अनुकूल प्रयोग गरे नसके त्यही विकृतिको जगमा जबजको बदनाम गर्ने तप्का पार्टीभित्र विकास भईरहेको छ । त्यो राजनीतिक बेइमानी र दीर्घकालीन दुर्घटना हो ।

जबजलाई राजनीतिक ढंगले बुझ्न नसक्नेहरुले चुनाव जित्नुलाई नै जबज देखिरहेका छन् । जबजले जसरी भए पनि जित भनेको छैन । चुनाव जित्नका लागि पैसा खर्च सक्ने मान्छे खोज्ने, इमान्दार र मेहनतीलाई पाखा लगाएर पैसा खर्च गरेर भोत भतेर गर्ने र गुण्डागर्दी गरेर जित्नु भनेको छैन । यस्ता अभ्यास जबजका नामका विकृति हुन् तर यसैलाई देखाएर जबजको खिल्ली उडाउने अस्थिरताको विम्व पार्टीभित्र देखिएको छ, त्यसबाट कम्युनिष्ट आन्दोलनलाई जोगाउन नसक्ने हो भने विचलन आउने पक्का छ ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई समयअनुसार चल्ने गरी दिशा निर्देश गर्ने सैद्धान्तिक कार्यक्रमको रुपमा आएको जनताको बहुदलीय जनवादलाई देखाएर कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको संस्कृति, व्यवहार, गतिविधिका देखिएको अधिक लोकतान्त्रिकरण भने पार्टी र देशकै लागि प्रत्युत्पादक बन्न सक्ने खतरा छ । आम नागरिकको जस्तो जीवनशैली अपनाउन जबजले निर्देशन गरेकोमा गैर माक्र्सवादी चरित्र मात्रै देखिनु भ्रष्टीकरण हो । माक्र्सवादी चरित्र, सिद्धान्त र व्यवहारका अति संकीर्ण गतिविधिहरुलाई मात्रै थोरै खुला गरेर आम नागरिक सरह हुन मार्गनिर्देश गरिएकोमा पार्टी नेता तथा कार्यकर्ताहरु कालो धन थुपार्ने, गुण्डागर्दीको संरक्षण गरेर पैसा उठाउने, राष्ट्रघाती कामहरुमा लागेकाहरुलाई अनेक नाममा संरक्षण गर्ने र रुपान्तरणको नाममा स्थापित गराएर आफ्नो चेन बनाउने प्रयास समग्रमा कम्युनिष्ट आन्दोलनमाथिको गद्धारी र विचलन हो ।

निर्वाचनको बेला राजनीतिक भन्दा व्यापारीको माग महत्व बढाइने कुरा उम्मेदवारी चयन, समानुपातिकमा सिफारिस र अन्य नियुक्ति आदिले पुष्टि गरिरहेको छ । यो राजनीतिक वैचारिक भन्दा पनि गैर राजनीतिक र निम्न पुँजीवादी चिन्तनको परिणाम हो । निम्न पुँजीवादी चिन्तनले कम्युनिष्ट आन्दोलनलाई राम्रो गर्दैन । अर्को कुरा नेता कार्यकर्ताको महंगो र विलासी जीवनशैली हुने र यो जीवनशैली धान्नकै लागि पनि स्रोत नखुलेको र कालाधनको पहुँचमा पुग्ने सम्भावना देखिएको छ । उद्यमशीलता र स्वरोजगारी बेगर दलाली र विचौलियाको भूमिकाले कमाइएको पुँजी पनि नकम्युनिष्ट आन्दोलन विकृत पार्ने तत्व हो । प्रतिष्पर्धात्मक विधिबाट चुनाव जित्नका लागि यस्ता विषयसंग सम्झौता र सहकार्य गर्नुपरेको परिवेशले अहिलेको कम्युनिष्ट आन्दोलनलाई घाटा पुर्याइरहेको छ । यो कम्युनिष्ट आन्दोलनको विचलन हो ।

श्रममा विश्वास नगर्ने, सामूहिक र उत्पादनमूलक काममा विश्वास नगर्ने, आम्दानीको स्रोत पारदर्शी नहुने तर व्यवहार भट्किलो हुने अवस्थाले पनि जनताको बीचमा स्थापित कम्युनिष्ट नेतृत्वप्रति आधारभूत तहमा शंका सिर्जना हुने अवस्था बन्न सक्छ । सर्बसाधारणसंगको नियमित भेटघाट जीवन्त राख्नका लागि कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको सक्रियता विगत जस्तो भईरहेको छैन । संगठनमा चेन अफ कमाण्ड भत्कँदै गएको छ । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको कुरा क्रमशः खस्कँदो छ । यी सबै प्रतिष्पर्धात्मक र आधुनिक जीवनशैली र समाजले पुस्तालाई पारेको नियमित प्रभाव पनि हुन सक्छ । तर यी सबैलाई कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणका नाममा जबजको कार्यान्वयनबाटै सिर्जना भएजस्तो आरोप लागिरहेको छ । यसलाई निरुपण जरुरी छ । जबजको सैद्धान्तिक मार्गदर्शनले नयाँ पुस्तालाई श्रम, सीप, पुँजी र प्रविधिको अधिकतम उपयोग गर्दै स्वरोजगार बन्न र योग्यताअनुसारको काम र काम अनुसारको दाम अर्थात श्रमको मूल्य प्रदान गर्ने गरी उत्पादन सम्बन्धमा आधारित रोजगारको नीति लिएको छ । यसको व्यावहारिक कार्यान्वयन गर्नु जबजको सान्दर्भिकता हुन्छ । तर कार्यकर्ता वा नयाँ पुस्तालाई आफ्नो वरिपरी भुलाउने र इजी मनी (काम नगरी पैसा पाइने स्रोत देखाउने) को बानी पार्ने प्रबृति पनि कम्युनिष्ट आन्दोलनको भ्रष्टीकरणको खतरा हो ।

युवा पुस्तालाई जनताको बहुदलीय जनवादसंग जोडेरै सिद्धान्त सिकाउने हो भने अहिलेको पुस्ता र प्रविधि अनि आवश्यकतामा आधारित भएर स्थानीय स्तरमा श्रम सीप पुँजी र प्रविधिको परिचालन गरेर नमूना काम गरेर आम नागरिकहरु बीचमा स्थापित हुन सकिन्छ भनेर सिकाउनुपर्ने हो तर हामीले कसरी सिकाईरहेका छौं । नयाँ पुस्ता हाम्रो राजनीतिक कार्यक्रमसंग कति नजिक छन् । उनीहरु जबजको झण्डा बोक्न आउँदा के सुनेर, के सिकेर र कसरी आए ? आएकाहरुलाई हामीले के सिकाउँदैछौं भन्ने तर्फ ध्यान दिइएन भने जबज लाई गाली गर्दै नयाँ पुस्ताले ध्यान मोड्न सक्छ ।

सामाजिक आवश्यकता, विश्व परिवेश, अर्थतन्त्र र प्रविधिको विकासले सामाजिक परिवेशलाई बदल्छ । सामाजिक परिवेश बदिलँदै गर्दा त्यो समाजको नेतृत्व गर्ने विचार नीति तथा कार्यक्रमलाई पनि आवधिक रुपमा अद्यावधिक गर्नैपर्छ । सामाजिक परिवर्तनहरुसंग समायोजन हुने क्रममा समाज भड्कीन पनि सक्छ । यस्ता परिवेशहरुमा समाजलाई ठीक ढंगले नेतृत्व प्रदान गर्न उपयुक्त कार्यक्रम जनताको बहुदलीय जनवाद हो । जसले कम्युनिष्ट पार्टीका विचार बोकेका कार्यकर्ताहरुलाई आम नागरिकको विचबाट अनुमोदन गराएर नेतृत्तव गराईरहेको छ ।

समाज संस्कृति, धर्म, जात आदिको विषयमा कम्युनिष्ट आन्दोलनले परम्परागत रुपमा सोचेको पाटो बेग्लै आदर्शको छ । धर्म नमान्ने, कम्युनिष्टको अन्तर्राष्ट्रिय जाती हुनेछ भनेर जातीय विभेद नगर्ने, सबैसंग मिलेर समुदायको संस्कार र संस्कृतिमा कम्युनिष्ट नेतृत्व स्थापित हुने शैलीलाई जबज बोकेका कम्युनिष्टहरुले कसरी प्रवद्र्धन गरिरहेका छन् भन्ने अर्को महत्वपूर्ण विषय हो । सामाजिक एकता र सहअस्तित्वको भावना प्रवद्र्धन गर्ने संस्कृतिका सवालहरुलाई भड्किालो अनुत्पादक, प्रतिष्पर्धात्मक बनाउने कामलाई हामीले गरिरहेको प्रवद्र्धनले दीर्घकालीन रुपमा कमजोर वर्ग, गरिखाने वर्ग, श्रमिक वर्गलाई पार्टी नेताहरुसंगको सम्बन्धबाटै टाढिने अवस्थामा लगिरहेको छ । नेतालाई ससाना नियमित पारीवारिक संस्कारका काममा पनि लैजाने होडवाजीलाई संस्थागत गर्न लागिएको छ । यसले दीर्घकालीन असर गर्छ । यसलाई पनि जबज मान्ने कम्युनिष्ट नेता कार्यकर्ताले जनताकोमा त जानैपर्छ नि भन्ने नाममा विकृतिलाई संस्थागत गराइने बाटोमा छ ।

सामाजिक आवश्यकता, विश्व परिवेश, अर्थतन्त्र र प्रविधिको विकासले सामाजिक परिवेशलाई बदल्छ । सामाजिक परिवेश बदिलँदै गर्दा त्यो समाजको नेतृत्व गर्ने विचार नीति तथा कार्यक्रमलाई पनि आवधिक रुपमा अद्यावधिक गर्नैपर्छ । सामाजिक परिवर्तनहरुसंग समायोजन हुने क्रममा समाज भड्कीन पनि सक्छ । यस्ता परिवेशहरुमा समाजलाई ठीक ढंगले नेतृत्व प्रदान गर्न उपयुक्त कार्यक्रम जनताको बहुदलीय जनवाद हो । जसले कम्युनिष्ट पार्टीका विचार बोकेका कार्यकर्ताहरुलाई आम नागरिकको विचबाट अनुमोदन गराएर नेतृत्तव गराईरहेको छ । बहुदलीय लोकतान्त्रिक परिपाटीबाट संचालित देशको स्थानीय स्तरसम्म नै वैचारिक नेतृत्वले समाजलाई नेतृत्व गरिरहेको छ । उनीहरुलाई ठीक ढंगले परिचालित गराएर समाजवाद सम्मको राजनीतिक लक्ष्य प्राप्ती गर्नका लागि, सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्नका लागि जबजको प्रकाशमा जनप्रतिनिधिहरु र स्थानीय पार्टी आधारको प्रभावकारी परिचालनमा ध्यान दिन जरुरी छ ।