जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार १३:४१

संसदमा इमिन्युटी पावरको चर्चा : धिक्कार छ तिनलाई जसले नेपाली खानालाई दुत्कारे


काठमाडौं, जेठ ३०

नेपालमा अहिले एउटा शब्द खुवै चर्चामा छ । नेपालीको इम्युनिटी पावर अर्थात नेपाली खानाको शक्ति । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिदै नेपाली खानामा पाइने भिटामिन पौष्टिक तत्वको ब्याख्यान गरिदिनुभयो । जसको अहिले पिज्जामा रमाउनेहरु विरोधमा उत्रिएका छन् ।

आफ्ना रोग प्रतिरोधात्मक क्षमता बढाउने खानालाई छिछि र दुरदुरको व्यवहार गर्दै सडकमा उत्रिएको जमातले नेपाली औषधि र जडिबुटीको अपव्याख्या गरिरहेका छन् । प्रसंग सोमबारको संसद बैठकको हो । जहाको दृश्य यस्तो थियो । ‘एकजना माननीयले नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भनेर कसले भन्यो भनेर सोध्नुभयो’– प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘भरखरै सुन्नुभयो नि, मैले नै भनेको । त्यो त मैले नै भनेको हो ।’ त्यसपछि प्रतिनिधि सभा बैठकमा सांसद्हरु दङ्ग परेर हाँसे, अनि टेबल ठटाएर ताली बजाए । प्रधानमन्त्रीले यसो भन्नुको पछाडी उहाकै बारेमा थोरै जानकारी दिनु जरुरी रहेको छ ।

प्रधानमन्त्री ओली दुई पटक सफल मृगौला प्रत्यारोपण गर्नुभएको छ । उहाको इम्युनिटी पावर यति छ कि यो उमेरमा पनि उहाले प्रत्यारोपणपछि लामो समय अस्पताल बस्नु परेन । चिकित्सकहरु अप्रेसन गर्न डराए तर प्रधानमन्त्री केही हुदैन मलाई तपाईहरु आफ्नो काम गर्नुहोस् भनेर डाढस दिनुहुन्थ्यो । त्यसअघि उहामा गम्भिर खालको एपेन्डिसाइटको शल्यक्रिया समेत गरिएको थियो । तर, त्यसलाई पनि उहाले सजिलै जित्नु भयो । भनिन्छ नि, किताबको माछा र खोलाको माछामा फरक हुन्छ । जसले यो उमेरमा नेपाली खाना खाएर रोगलाई पराजित गर्नुभयो, उहालाई नै इम्युनिष्ट पावरको बारेमा सोधेपछि संसदमा जवाफ दिनुभयो । उहाले संसदमा नेपाली खानाका बारेमा निक्कै बैज्ञानिक र गर्भिलो जवाफ दिनुभयो ।

यस्तो छ उहाको भनाई 

नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, कुनै वैज्ञानिक, कुनै शोधकर्ताबाट आयो भने म स्वीकारौंला । आधा नेपाली हिमाली भेगको स्वच्छ हावापानीमा उकाली ओरोली गरेर बसेको छ । स्टामिना बलियो छ । तराईमा बस्नेहरुको पनि हिमालबाट ठोक्किएर आएको हावा खाएको छ ।

हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल । मरुभूमिजन्य ठाउँबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नु अघि नै कायल हुन्छ, चीसो हुन्छ । हिमालसँग ठोक्किँदा वरफ भएर पग्लिने अवस्था हुन्छ । त्यो हावामा शास फेरेका छन् नेपालीले ।

झार उम्रियो भने यार्चागुम्बा हुने देश हो । यो देशमा ढुंगाबाट शिलाजित निस्कन्छ । माटोबाट सिम्रिक निस्कने देश हो । यो जडिबुटीको देश हो, औषधीको देश हो । यस देशको पानी हिउँबाट, हिमालमाथि बसेर, त्यहाँबाट पग्लिएर अनेक मिनरल तत्वहरुसँग खेल्दै तल रसाएर निस्किएको पानी हुन्छ ।

यो उकाली ओराली गर्ने, परिश्रम गर्ने, शारीरिक श्रम गर्नेको देश हो । जहाँ योगको परम्परा छ, व्यायामको परम्परा छ । यो देशमा योग पैदा भयो । यो देशमा इम्युन सिस्टम तगडा छ भन्ने स्वत सिद्ध छ ।

म विनम्रतासाथ भन्छु, कसैलाई धक्का नपर्ने गरी । नेपालीको भान्सामा पाउरोटीमा बटर दलेर खाँदैनन् । यहाँ दाल, चामल, मकै, भटमास अनेक चिज हुन्छ । बेसार अनिवार्य हुन्छ, नुन खुर्सानी अनिवार्य हुन्छ । जिरा, धनिया, प्याज, लुसुन, अदुवा सबै औषधी हुन् । हरेक दिन औषधी खाएर प्रतिरोध क्षमता बढाएको नेपालीको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने स्वत सिद्ध छ । तसर्थ नेपालीको प्रतिरोध क्षमता राम्रो छ, अवश्य राम्रो छ र हामीले यो परम्परालाई जनताको बीचमा पनि लानुपर्छ ।

हाम्रो परम्परागत खानेकुराहरु, भान्साको तरिकामा हामी कायम रहनुपर्छ । नयाँ शैली भनेर पिज्जातिर कुद्नुभन्दा ढिंडो र अँचार नै ठिक छ, साग नै ठिक छ ।

हामीले दिएको नारा निरोगी नेपाल हो । उपचार दोस्रो पक्ष हो । पहिलो पक्ष भनेको निरोगीपन हो, आरोग्यता हो । त्यसका लागि सन्तुलित र औषधीमय खाना चाहिन्छ जो हामीले खाने गरेका छौं । यो नै निरोगीपनको एउटा आधार हो । दोस्रो– शारीरिक श्रम हो । तेस्रो– पर्याप्त आराम हो । ऋषिमुनीहरु आहार, विहार आराम भन्छन् । ऋषिमुनीहरुको व्याख्यामा हामीले सकारात्मक सोचहरुको साथ अगाडि जानुपर्छ ।

उच्च मनोबल राख्नुपर्छ, रोग पराजित गर्न सक्छौं भन्ने उच्च मनोबल राख्नुपर्छ । स्वच्छ सफा बातावरणमा बस्नुपर्छ । यसले निरोगी रहन मद्दत गर्छ ।

अहिले विज्ञान भन्छ– बासी नखाउ, फ्रिजको नखाउ ताजा खाउ, हामी ताजा खानेकुरा पकाएर खान्छौं ।

म नम्र निवेदन गर्न चाहन्छु– नेपालको सबै नराम्रो, नेपालको खानेकुरा पनि नराम्रो, नेपालको बाजा पनि नराम्रो, गीत पनि नराम्रो । यसो होइन । सबैतिरको भन्दा नेपालको खाना पनि राम्रो, बाजा पनि राम्रो, गीत पनि राम्रो, दोहोरी पनि राम्रो, रोदीघर पनि राम्रो, नेपालकै राम्रो । नेपालकै राम्रो ।

हात मिलाउनेभन्दा नमस्ते राम्रो भन्ने थाहा भइसक्यो अहिले । हामी पनि हात मिलाउनेमा गइसकेका थियौं, हाम्रा पुर्खाले भनेको नमस्कार नै ठिक रहेछ ।

कतिपय वेठिक कुरा छन् भने छाडौं नत्र यी कुरातर्फ ध्यान दिउँ भन्ने मेरो आग्रह हो ।

हाम्रा पुर्खाले हजारौं वर्ष लगाएर खोज अध्ययन गरेका हुन् । हाम्रा पुर्खाले नचाखेको कुनै पात छैन होला । हाम्रा पुर्खाले नचाखेको कुनै फूल, बोक्रा, लहरा, जरा छैन होला । कुनै औषधी हो, कुन विख हो, कुनको पात ठिक हुन्छ, कुनको मुन्टा पिसेर लगाउँदा के ठिक हुन्छ भन्ने हाम्रा पुर्खाले अनुसन्धान गरे । ती कुरा हामीले छाड्न हुँदैन । त्यसैले आयुर्वेद होमियोप्याथी महत्वपूर्ण र मूल्यवान छन्, यसको विकास गर्नुपर्छ ।

के भन्छन् त विज्ञ ?

कोरोना भाइरस -कोभिड १९_सँग खानाको माध्यमबाटै लड्नसक्ने पोषण विद्हरूको धारणा छ । पद्मकन्या क्याम्पसको होम साइन्स विभागको प्रमुख पोषणविद् डा. जया प्रधान भन्नुहुन्छ, ‘अहिले कोरोनाले विश्व नै त्रसित भएको अवस्था छ । यस्ता महामारीसँग लड्नको लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा अरु विकल्प छैन ।’

उहाँले हाम्रो भान्छामा नियमित प्रयोग हुने जीरा, मरिच, बेसार, धनियाँ, दालचिनी, ल्वाङ, तुलसी, पिपला, अदुवा, लसुन, कागती, टिमुर, महलगायतले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउने जानकारी दिनुभयो । खानाका साथै घरमा बसेर गरिने व्यायाम पनि महत्वपूर्ण हुने विज्ञहरूको सुझाव छ । व्यायामले थप रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने प्रधानले प्रष्ट पार्नुभयो ।

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले पनि यो बन्दाबन्दी र कोभिड १९ सँग लड्न सधैँ स्वस्थ रहनु जरुरी रहेको जानकारी दिनुभयो । खाना बनाउनुअघि र बनाएपछि हात धुनु अनिवार्य रहेको बताउनुभयो । उहाँका अनुसार सूक्ष्म जीवबाट कुनै बिरामी फैलिँदैन तर यिनमा यस्तो केही खतरनाक जीवन हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापक रुपमा पाइन्छ । यी सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपडा, भाँडा, कटिङ ९चपिङ० बोर्डमा रहेको हुन्छ । यदि खानपानका वस्तुमा यस्ता जीवको पहुँच पुग्यो भने यसबाट बिरामी पर्न सक्ने खतरा बढी हुन्छ ।

डा. उप्रेतीले थप्नुभयो, ‘कुनै पनि रोगसँग लड्नको लागि पनि भिटामिन डीको अत्यन्त ठूलो भूमिका हुन्छ । त्यसैले घाममा बस्नाले रोग प्रतिरोधक क्षमता बढ्छ । बहिानको सूर्यको किरणमा रोगनाशक शक्ति हुन्छ । भिटामीन डी प्राप्त हुन्छ’, उहाँले प्रष्ट पार्दै भन्नुभयो, ‘टीबीको बिरामी, हड्डीको बिरामी, कमजोरी, जोर्नीका दुखाइलगायत धेरै रोगहरू घाममा बस्नाले निको हुन्छन् ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सुरक्षित खानपानका विषयमा केही सुझाव सार्वजनिक पनि गरिसकेको छ 

काँचो भोजन वा वस्तु पकेकाबाट टाढै राख्नुपर्छ

पोल्ट्री उत्पादन, सीफुड (माछा) अन्य खाना वा वस्तुबाट टाढै राख्नुपर्छ । काँचो भोजनका लागि छुट्टै चक्कु र कटिङ बोर्ड प्रयोग गर्नुपर्छ । खाना पूर्ण रुपमा पकाउनु पर्छ
विशेषगरी पोल्ट्री उत्पादन, अन्डा र माछा, मासुलाई राम्ररी पकाएर मात्र खानुपर्छ कुनै प्रकारका सुप पनि निश्चित तापमान जस्तै ७० डिग्री सेल्सियसम्म उमाल्नुपर्छ । मासु वा माछा मज्जाले पकाएर मात्र उपभोग गर्नुपर्छ ।
सुरक्षित तापमानमा भोजन सुरक्षित राख्नुपर्छ
पाकिसकेका खानेकुरा कोठाको सामान्य तापक्रममा दुई घन्टाभन्दा लामो समयसम्म नराख्ने । तयार खाना वा विशेष गरी छिटै बिग्रिने खानेकुरा ५ डिग्री सेल्सियसभन्दा कम तापमानमा फ्रिजभित्र राख्नुपर्छ । त्यसपछि त्यस्ता खाना खानुअघि ६० डिग्री सेल्सियस तापमानमा तताउनुपर्छ ।