भारतका पूर्वराजदुत निरुपमा रावले आफ्ना अन्तर्वार्तामा प्रष्ट भनेकी छन् कि सन् १९९८ माचीन र भारतबीचको समझदारीले गर्दा एसियाका यी दुई उदियमान शक्तिहरु महाशक्तिको रुपमा परिवर्तित हुने अपेक्षा थियो तर चीनले ‘अखण्ड चीनको’ अवधारणाका साथ अगाडी बढेमा आउने दिन आसियान, युरोप, अमेरिका लगायत भारतमा आफ्नो बजार गुमाउन सक्ने अवस्था छ
विपिन देव
मानव सभ्यता र संस्कृतिलाई चिनियाँ साहित्य र चिनियाँ दर्शनले यथेष्ट योगदान दिएको छ । कन्फ्युसियसको दर्शन र लाओत्सेको विचार वर्तमान परिवेशमा पनि अति उपयोगी देखिन्छ । कोरोनाको कहरले गर्दा पश्चिमा संचारको मनोवृतिमा चीनप्रति नकारात्मक छाप परेको देखिन्छ । विज्ञान र प्रविधिको प्रचुर प्रयोगले १२ प्रतिशत जनसंख्या रहेको युरोपले सारा संसारको विचार, पद्धति र जीवनशैलीलाई आफ्नो अनुरुप परिचालित गरेको देखिन्छ । संसारको दोस्रो महाशक्तिको रुपमा चीनको उदय पश्चिमा जगतलाई पाच्य भएको छैन । साथसाथै चीनले आफ्नो सामथ्र्यअनुरुप आफ्नो पक्षमा विश्व जनमतलाई तयार पार्न सामरिक नीतिमा आवश्यक तयारी गरेको देखिँदैन । कोरोना महामारीसँग जुध्न र मानव समुदायलाई यस्ता पीडाबाट उन्मुक्ति दिन चीनले आफ्नो सपनालाई प्रत्याभूति दिन आफ्ना रणनीति अगाडि बढाइरहेको अवस्था देखिदैन ।
कुनैपनि राष्ट्रले आफ्नो इतिहासलाई मानसपटलमा राखेर २१ औं शताब्दीको उच्च चेतनाको बीचमा इतिहासको अखण्डतालाई प्रत्याभूति गर्न धेरै जोखिम बेहोर्नुपर्ने देखिन्छ । पाकिस्तानले आफ्नो राष्ट्रवाद नै यही विचारधारामा अगाडि बढाए । कश्मिरलाई आफ्नो राष्ट्रको अभिन्न अंग बनाउनका लागि सात दशकमा भारतसँग तीन पटक युद्ध गरे । पाकिस्तानले केही पाउन सकेन । विचारधाराले गर्दा बंगलादेशको निर्माण भयो । पाकिस्तान विखण्डित भयो । भारतले पनि ‘अखण्ड भारत’ को विचारधारालाई बेला–बेलामा ध्वनित गर्दै आएको छ । वर्तमान परिवेशमा ‘अखण्ड’ को विचारधाराले आक्रान्त र अशान्ति फैलाउनेबाहेक केही गर्दैन । चीनले ‘अखण्ड’ को विचारधाराले नै गर्दा हंगकंग, ताइवान, भारत, फिलिपिन्स, मलेसिया, इण्डोनेसिया, जापानलगायत अनेकौं मुलुकहरुसँग द्वन्दमा फसेको देखिन्छ ।
चीनले गरेको प्रगति र समृद्धिलाई कसैले पनिनकार्न सक्दैन । तर प्रगतिर समृद्धिलाई स्थायीत्व र दृघकालीन बनाउन आफ्नो बजारसँगको सम्बन्धमा नकारात्मक असर बनाउनु हुँदैन । चीनका राष्ट्रपति सी जिनपिङले गरिबी निवारणमा खेलेको भूमिकालाई विश्व संचार माध्यमले यथेष्ट स्थान दिएको अवस्था एकातिर छ भने चीनले लिएको आक्रामक नीतिलाई निन्दा पश्चिमा संचारले आफ्नो दैनिकका रुपमा लिएको देखिन्छ । खास गरेर लद्दाखमा भएको भारतसँगको भिडन्तलाई पश्चिमा संचारले पर्याप्त ठाउँ दिएर चिनियाँ गतिविधिलाई निन्दा गरेको पाइन्छ । अमेरिकी रणनीतिकार क्रिस डोहटीअनुसार चीनले कम्युनिष्ट विचारधारालाई प्रत्यारोपण गर्न उद्वेलित छैन । चीन वी.आर.आए. परियोजनाको माध्यमबाट आफ्नो बजार र व्यापारलाई बढाउन मात्रै इच्छुक छ । वीआरआइ परियोजनाअन्तर्गत अफ्रिकी मुलुकहरु र दक्षिण एसियाका मुलुक श्रीलंका र पाकिस्तानलाई चिनियाँ ऋणको पासोमा (डेब्ट ट्रयाप) मा पारेको छ ।
अर्कोतर्फ चीनको आर्थिक विकासमा अमरिकी र युरोपको बजारको भूमिकालाई नकार्न सकिदैन । तर अमेरिकासँग व्यापारिक युद्ध हुनु र हंगकंगको मुद्दामा बेलायतसँग कटुता हुनु जस्ता परिघटनाले आउने दिनमा चीनले आफ्नो आर्थिक र सामरिक महत्वाकांक्षालाई प्रत्याभूति दिन सक्दैन भने जानकारहरुको विश्लेषण देखिन्छ । भारत र चीन सम्बन्धको चर्चित लेखक अनन्त कृष्णनले आफ्ना पुस्तक ‘इण्डियाज चाइनाच्यालेन्ज’ मा प्रष्ट भनेका छन् कि चीनले आउने दिनमा भारतसँग सुमधुरता नराखेको खण्डमा विश्वका सर्वाधिक जनसंख्याको सम्भाव्य राखेको मुलुक भारतमा आफ्नो बजार गुमाउन सक्दछ । अनन्त कृष्णनका अनुसार भारतमा मध्यमवर्गीय समुदायको उदय भइरहेको अवस्था छ । जुन समुदायले जीवनमा पहिलो पटक मोबाइल, कार, रेफ्रिजिरेटर, वासिङ मसिन जस्ता उपकरणहरु प्रयोग गर्दैछ । चीनको सस्तो सामान भारतमा भारतीय उपभोगकर्ताको पहिलो अभिरुची हुनेछ ।
अर्थात् चीनले संसारको सबभन्दा बढी जनसंख्या हुन गइरहेको मुलुक भारतबाट आफ्नो बजार गुमाउने बित्तिकै चीन आफ्नो आर्थिक वृद्धिदरलाई निरन्तरता दिन सक्दैन भने अनन्त कृष्णनको भनाइ छ । भारत र चीनको व्यापारिक सम्बन्धलाई व्याख्या गर्दै हड्सन इन्स्टिच्युटका जानकार तनवीमदानले के भनेकी छन् कि वर्तमान परिवेशमा भारत विद्युतीय सामग्रीदेखि औषधिसम्म चीनको कच्चा पदार्थमा निर्भर देखिन्छ । त्यस अर्थमा वर्तमान अवस्थामा चिनियाँ सामान र कच्चा पदार्थलाई भारतले कटौती गरेको खण्डमा भारतको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । भारत र चीनको तनावलाई मलजल गर्न पश्चिमा शक्ति सक्रिय भइरहेको अवस्था छ । लद्दाखको परिघटनापछि विश्वको सामरिक परिदृश्य परिवर्तित भएको देखिन्छ ।
यस परिवेशमा चीनले पनि आफ्नो सहयोगीको सदभावको अपेक्षा राखेको छ भने भारतले पनि आफ्नो सामरिक साझेदारको खोजीमा देखिएको छ । बदलिँदो परिवेशमा अमेरिका भारतको पक्षमा उभिएको देखिन्छ । इतिहासको लामो कालखण्डमा अमेरिकी राष्ट्रपतिले भारतको पक्षमा यस प्रकारको अभिव्यक्ति दिएको उदाहरण छैन । अमेरिका लगायत अस्ट्रेलिया, जापान पनि भारतप्रति सद्भाव र सहानुभूति प्रकट गरेको अवस्था छ । टर्की र कतार मुशलमानको मनोविज्ञानलाई मध्यनजर राख्दै भारतको समर्थनमाअभिमत राखेको देखिदैन भने भारतसँगएकदमै सुमधुर सामरिक र साँस्कृतिक सम्बन्ध राखेका मुलुक इरानआफ्नो नीतिमा परिवर्तन गरेको देखिन्छ । इरान र भारतको सम्बन्ध सुमधुर रहीआएको छ । इरानको ‘चावाहार’ बन्दरगाहमाभारतले लगानी गरेको देखिन्छ । ‘चावाहार’ बन्दरगाहको माध्यमबाट भारत आफ्नो पहुँचपूर्वीय युरोप लगायतअफगानिस्तान र मध्यएसियामा बढाउन सक्दछ ।
चावाहार बन्दरगाहनजिकै पाकिस्तानको ‘ग्वादर’ बन्दरगाह चिनियाँ लगानीमा निर्माण भइरहेको छ र तर अमेरिकाले इरानलाई आर्थिक नाकाबन्दीगर्न बितिक्कै इरानले भारतसँगमध्यस्ताको अपेक्षा गरेको थियो र साथसाथै भारतसँग पर्याप्त सहयोग र सहानुभूतिको पनिअपेक्षाथियो र अमेरिकी दबाबमा आएर भारतले आफ्नो इरानसँगको कच्चा तेलको कारोबारमा कटौती गर्यो । अर्थात् इरानको अपेक्षा र आकांक्षामा तुषारापात भयो र भारत र चीनको द्वन्दमा इरानले भारतको पक्षमा उभेन र सांकेतिक रुपमा आउने दिनमा इरानमा चिनियाँ लगानीलाई अभिवृद्धि गर्दै भारतको प्रभाव र पहुँचलाई इरानले न्यूनीकरण गर्दै अगाडी बढ्ने लक्षण देखिएको छ । इरान र यूएई. साउदी अरेबियालगायत खाडी मुलुकहरुमा भारतको सामरिक सम्बन्ध चीन भन्दा अपेक्षाकृत बलियो रहीआएको छ र पाकिस्तानको विरोधको बाबजुद पनि इस्लामिक संगठनमा भारतलाई निमन्त्रणा दिएर इस्लामिक जगतले आफ्नो मित्रताको प्रष्ट परिचय दिएको अवस्था छ ।
चीन इरानमा आफ्नो पकड बढाउन बितिक्कै अमेरिकी विरोधी गतिविधिलाई खाडीबाट मलजल गर्न सक्दछ । भारत र चीनको भिडन्तमा रुसको भूमिका बडो रोचक देखिन्छ । भारतको पक्षमा सबभन्दा बढी भिटो प्रयोग गर्ने देश सोभियत रुस नै हो । रुस आफ्नो सैन्य र इन्धन भण्डारणले गर्दा हरेक गठबन्धन र गठजोडलाई प्रभावित गर्न सक्दछ । पुटिनको उदयभए पछी रुस वैचारिक संग्राममा अभिरुची राखेको छैन । रुस सैनिक सामग्री र इन्धनलाई बेच्ने मुलुकमात्रै भएको देखिन्छ । रुसले चीन, पाकिस्तान र भारतलाई सैन्य सामग्री निर्यात गर्दछ । त्यसमा रुसले सामरिक सन्तुलन, वैचारिक संग्राम र गठबन्धनलाई महत्वदिंदैन भारत र चीनको डोकलाम द्वन्दमा पुटिनले महत्वपूर्ण भूमिका खेलेको थियो । भारतले रुस सँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै लद्दाख तनावमा भारतका रक्षामन्त्री रुसको विजय दिवशको निमन्त्रणालाई अवसरको रुपमा प्रयोग गर्दै रुसको यात्रा गरेका थिए । जानकारहरुका अनुसार भारतको रणनीति अनुसार पुटिनको नेतृत्वको माध्यमबाट चीनलाई दबाब दिनु राजनाथ सिंहको भ्रमणको उद्देश्य थियो ।
भारतका पूर्वराजदुत निरुपमा रावले आफ्ना अन्तर्वार्तामा प्रष्ट भनेकी छन् कि सन् १९९८ माचीन र भारतबीचको समझदारीले गर्दा एसियाका यी दुई उदियमान शक्तिहरु महाशक्तिको रुपमा परिवर्तित हुने अपेक्षा थियो तर चीनले ‘अखण्ड चीनको’ अवधारणाका साथ अगाडी बढेमा आउने दिन आसियान, युरोप, अमेरिका लगायत भारतमा आफ्नो बजार गुमाउन सक्ने अवस्था छ । वर्तमान अवस्थामा ‘साउथचाइना सी’ मा एक तर्फ चीन तैनाथ छ भने अर्कातर्फ क्वार्ड (जापान, भारत, अस्ट्रेलिया, अमेरिका) का सैन्य अड्डाहरू तैनाथ रहेको देखिन्छ । चीनले आफ्नो नीतिले गर्दा विश्व सामरिक घेराबन्दीमा परेको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्