काठमाडौं, साउन २९ । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि गरेको छ । संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम पनि बढेको छ । हाल आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ८९ पुगेको छ ।
मन्त्रालयका अनुसार मोरङ, बारा र धनुषाका दुई–दुई जना तथा काठमाडौं, कपिलवस्तु, महोत्तरी र धादिङका एक–एक जनाको मृत्यु भएको हो । तीमध्ये पाँच जना राजधानीका अस्पतालमा उपचाररत थिए । ‘एक दिनमा हालसम्मकै सबैभन्दा बढी मृत्यु पुष्टि बुधबार भयो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बुधबार बिहान काठमाडौं महानगरपालिका–१२, टेकु निवासी ७८ वर्षीया एक महिलाको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । झाडापखाला र ज्वरोको समस्या भएकी ती महिलालाई पाटन अस्पतालको फिभर क्लिनिकबाट रेफर गरेर साउन २६ गते किस्टमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप, मधुमेह, हाइपोथाइराडिज्म, सेप्टिक शकसँगै मिर्गौलासम्बन्धी रोगबाट ग्रस्त थिइन् ।
जनकपुर (धनुषा) का पूर्वमेयर ७३ वर्षीय कृष्ण गिरीको कोराना संक्रमणका कारण मंगलबार राति सवा १२ बजेतिर मृत्यु भएको छ । १५ दिनअघि संक्रमण पुष्टि भएपछि उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरीलाई विमान चार्टर गरेर काठमाडौं ल्याइएको थियो ।
यसैगरी साउन १८ मा संक्रमण पुष्टि भएकी जनकपुर–८ की ३८ वर्षीया महिलाको पाटन अस्पतालमा बुधबार उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको किस्ट मेडिकल कलेजमा बुधबार मृत्यु भएको छ । सोमबार भर्ना भएका उनी मिर्गौला र दमका पनि बिरामी थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको पनि बुधबारै कोरोना संक्रमणबाट मृत्यु भएको छ । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि उनी कोसी अस्पताल गएका थिए । त्यहाँबाट साउन २६ गते प्रतिष्ठानमा रेफर गरिएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डको आईसीयूमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको चिकित्सकले बताएका छन ।
यस्तै बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि बुधबार एक संक्रमितको मृत्यु भएको छ । अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाका अनुसार साउन २५ गते भर्ना भएका कपिलवस्तु–२, तौलिहवाका ४२ वर्षीय पुरुषको संक्रमणले मृत्यु भएको हो । बुधबारै मृत्यु भएका कपिलवस्तु–१३, कृष्णनगरका २५ वर्षीय युवकको भने पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । दुवै जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । दुवैमा श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण थिए ।
कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–५ का ५७ वर्षीय पुरुषको पनि बुधबारै मृत्यु भएको हो । उनी नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक थिए । दमका समेत रोगी रहेका उनलाई सोमबार कोरोना पोजिटिभ देखिएको थियो ।
यस्तै वीरगन्ज महानगरपालिका–१६ नगवाको सामुदायिक प्रहरी चौकी नजिकै मंगलबार दिउँसो मृत फेला परेका बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा बुधबार कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार ती युवकले अत्यधिक मदिरा सेवन गरेको पाइएको छ । शंका लागेर उनको मंगलबार स्वाब संकलन गरिएको थियो ।
ज्वरो आएर राजधानीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ का ३९ वर्षीय युवकमा पनि बुधबार कोरोना पुष्टि भएको छ । निमोनियाका क्रोनिक बिरामी उनी गत आइतबार उच्च ज्वरो आएपछि जिल्ला अस्पताल गएका थिए । धादिङ अस्पतालले भोलिपल्ट काठमाडौं रेफर गरेपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै, उपचारका क्रममा सोमबार राति मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिकाका ६ का ५२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । फोक्सो र मधुमेहका बिरामी उनी आइतबार जनकपुरस्थित रामजानकी अस्पताल भर्ना भएका थिए । भोलिपल्ट मंगलबार शव गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि राति रिपोर्ट पोजेटिभ आएको थियो । काठमाडौं उपत्यकामा दिनमा सयभन्दा बढी संक्रमित थपिइरहेका छन् । बुधबार मात्र १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ सय ९, ललितपुरमा २१ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । मुलुकभर भने ४ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्यका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा जाने क्रम एक सातायता बढेको बताउनु भयो । ‘हामी क्रिटिकल स्टेजमा छौं,’ अधिकारीले भन्नुभयो । उहाँका अनुसार संक्रमितमध्ये प्रदेश २ मा ४३ जना, वाग्मती प्रदेशमा ३८ जना, प्रदेश ५ मा ५ जना र गण्डकी प्रदेशमा १ जना आईसीयूमा छन । यस्तै वाग्मतीमा २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
सहप्रवक्ता डा. अधिकारीले जटिल कोभिड–१९ संक्रमितको संख्या वृद्घिले मुलुकको घनाबस्ती भएका ठाउँमा समूहगत संक्रमण व्यापक हुँदै गइरहेको देखाएको बताउनुभयो । उपत्यकामा संक्रमितको चाप बढ्दै गएपछि अस्पतालमा आइसोलेसन शय्या अभाव हुन थालेको छ । चिकित्सकले संक्रमण व्यापक फैलिएकाले आगामी दिनमा मृत्युदर र जटिल बिरामी झन् बढ्ने बताएका छन ।
प्रतिक्रिया दिनुहोस्