जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १८:५२

वीर अस्पताल प्रकरण : कोरोना बिरामीको मृत्यु कि हत्या !


काठमाडौं, असोज ६

केन्द्रीय कारागार सुन्धारामा रहेका एक कैदी बन्दीको शंकास्पद मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । विगत सात वर्षदेखी जेलमा रहेका भैरहवाका ६३ वर्षिय रामलखन जयसवालको कोरोनाका कारण मृत्यु भएको भन्दै परिवारलाई कारागार खवर गरेको थियो ।

कारागारले जयसवालको शव विर अस्पतालमा राखेको र त्यही गएर बुझ्न भनेको थियो । तर, परिवारका सदस्य आएपछि अस्पताले शव हेर्न समेत दिएन । कोरोनाका कारणले मृत्यु भएका व्यक्तिको शव आफन्तलाई टाढाबाट हेर्न दिनुपर्ने हुन्छ । तर, अस्पताल प्रशासनले नदिएको परिवारको आरोप छ । उनिहरुले जवरजस्ती भित्र प्रवेश गरेर शव हेर्दा गला काटेको, दुवै आँखा फोडिएको, घाटीमा सुन्निएर ठुला फोकाहरु आएको, शरिरमा रगत नै रगत लागेको र टाउको समेत फुटेको भन्दै भिडियो सार्वजनिक गरेका छन् । उहाको कोरोनाका कारण नभई हत्या भएको भन्दै आफन्तले छानविनको माग गरेका छन् ।

अस्पतालले भने कोरोना लागेका कारण जयसवालको शव देखाउन नमिल्ने भन्ने गरेको आफन्तको भनाई छ । ‘शनिवार १२ बजेतिर फोन गरेर तिम्रो बुबालाई सास फेर्न गाह्रो भएको छ भने कारागारले भन्यो’, जयसवालकी छोरीले भनिन् । पछि फेरी फोन गरेर बुबाको कोरोनाका कारण मृत्यु भएको जानकारी दिएको बताइन् । उनका अनुसार जयसवाल असोज २२ गते जेलमुक्त हुने थिए । परिवारजनले प्रहरीलाई खवर गर्दा समेत कुनै कारवाही नगरेको भन्दै आक्रोश पोखेका छन् ।

यता, वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले कारागारबाट ल्याएपछि ड्युटीमा रहेका चिकित्सकले जाँच गर्दा ती कैदीको मृत्यु भइसकेको बताउनु भयो । उहाले मृत्यु भइसकेको पाइएपछि गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

डा. सेन्चुरीले त्यसपछि शवगृहमा राखिएको शव सड्ने क्रममा रहँदा यस्तो हुन गएको उल्लेख गर्नुभयो । ‘तीन दिनदेखि मृतकको शव शवगृहमा राखिएको छ । जसले गर्दा सड्ने गल्ने प्रक्रिया सुरु भइसकेको छ । सड्ने क्रममा नाक मुख सुन्‍निएको तथा मुख र नाकबाट तरल पदार्थ निस्किनु सामान्य प्रक्रिया हो’, उहाले भन्नुभयो । मेडिकल अवस्थालाई नबुझी अफवाह फैलाएकोमा आपत्ति समेत जनाउनु भयो ।

संक्रमित कैदीलाई राति ११ बजे इमर्जेन्सीमा भर्ना गरिएको र ४ गते मृत्यु भएको वीर अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिनुभयो । ५ गते कोरोना पोजेटिभ आएको थियो ।

शवलाई स्थानान्तरणका लागि आफन्तले अहिलेसम्म सहमति नदिएकाले समस्या आएको उहाले बताउनु भयो । शवमा मुद्दा मामिला भए पोष्टमार्टम हुन सक्छ । तर कोभिडको त्रासमा पोष्टमार्टम नहुन पनि सक्ने उहाँको भनाई छ । पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा लानुपर्ने हुन्छ । तर कोभिडबाट ज्यान गएकाले त्यहाँसम्म लगेर पोस्टमार्टम गराउन पनि चुनौतीपूर्ण रहेको कार्कीले जानकारी दिनुभयो ।

यस्तो अस्पतालको विज्ञप्ती

अस्पतालको भनाई पछाडी थप गरिएको हो *