जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १३:२६

जेपी-बीपी र समाजवाद


जेपी र बिपीमा मार्क्सवादको प्रभाव शुरुमा प्रचुर मात्रामा देखिएतापनि विकेन्द्रीकरण र ग्रामीकरणको अवधारणा र प्रयोगले दुईटै गान्धीको समिप देखिन्छ । जेपीको सहधर्मिणी प्रभावित गान्धी आश्रममा गान्धीको धर्मपुत्री भएर ब्रह्मचार्य धारण गरेकी थिइन । जेपीले राजनीति र लोक नीतिका बीच रेखा निर्माण गरेका थिए 

विपिन देव

अक्टोबर ११, जयप्रकाश नारायणको जन्म भएकोले समाजवादमा अभिरुची राख्ने व्यक्तिहरु जेपीको विराट व्यक्तित्वको स्मरण गर्दछ । नेपालको सन्दर्भमा जयप्रकाश नारायणलाई सम्झनु पर्ने धेरै कारणहरु छन् । जयप्रकाश नारायणको बिपी कोइरालासँग घनिष्ट र विशिष्ट सम्बन्ध एउटा पक्ष हो भने अर्को पक्ष जयप्रकाश नारायण नेपाललाई आफ्नै दृष्टिले हेर्नु भएको थियो । एउटा समाजवादका द्रष्टा र श्रष्टाका रुपमा नेपाली प्रजातान्त्रिक आन्दोलनलाई सघाउन सदैव दायित्व उहाँले र्निवाह गर्नुभयो ।

जेपी र बिपीको सानिध्य र सामिप्यतालाई बुझ्न भारतीय समाजवादी आन्दोलनलाई दृष्टिगौचर गर्न आवश्यक देखिन्छ । महात्मा गान्धी भारतीय स्वतन्त्रता आन्दोलनको यात्रामा विभिन्न पृथक विचार र दर्शनलाई एक ठाउँमा ल्याउन यथेष्ट प्रयास गरेका थिए । भारतीय राष्ट्रिय काङ्ग्रेसको अंगका रुपमा रहेका एउटा समुह काङ्ग्रेस सोसलिष्ट पार्टी थिए । यी सोसलिष्ट पार्टीका नेताहरु विश्वको विख्यात विश्व विद्यालयबाट शिक्षित र दीक्षित थिए । जयप्रकाश नारायणले सन १९२२ देखि सन् १९२९ सम्म अमेरिकामा मार्क्सवादको उच्चकोटीको अध्ययन गरेका थिए । डा. राममनोहर लोहिया विश्वविख्यात अर्थविद जामवर्टको शोध निर्देशमा जर्मनीबाट विद्यावारिधि गरेका थिए । आचार्य नरेन्द्र देव मार्क्सवाद र बुद्ध धर्ममा महारथ प्राप्त गरेका थिए ।

आचार्य नरेन्द्र देवको नैतिक बल र उच्चकोटीको अध्ययनले गर्दा गान्धीदेखि एउटा साधारण कार्यकर्तासम्म पनि उनलाई उच्च आदर गर्ने गर्दथे । यी समाजवादी आन्दोलनमा बिपी कोइराला पनि सक्रिय थिए । जयप्रकाश नारायण र डा. लोहियासँग समाजवादमा शास्त्रार्थ गर्न सकिने हैसियतबिपीको पनि थियो । बिहार सोसलिष्ट पार्टीका सचिवको हैसियत पनि बिपी ले प्राप्त गरिसकेका थिए । बिपी र जयप्रकाशको सानिध्य र सामिप्याताको थुप्रै कारणहरु मध्ये बिपी जयप्रकाशको सहोदर भाइका साथी पनि थिए र जयप्रकाशले नेपालीहरुलाई उच्चआदर र सम्मानका साथ हेर्ने गर्दथे । सन् १९४२ ताका भारतीय स्वतन्त्रताका लडाईका क्रममा जेपी जेलबाट भागेर नेपालको सप्तरी जिल्लामा अङ्ग्रेजविरोधी आन्दोलनको तयारी गरेका थिए । जेपी का साथ डा. राममनोहर लोहिया र अच्युत पटवर्धन पनि थिए । नेपालमा सक्रिय सहयोग र सद्भाव पाएका थिए ।

यी हुँदाहुँदै पनि राणा शासनले यी तीनै महापुरुषहरुलाई जेल चालान गरे । तर नेपालीहरुले आफ्नो इमान्दारी र निष्ठालाई निर्वाह गर्दै जेपी र डा. लोहियालाई जेलबाट मुक्त गराउन सफल भए । जेपी र डा. लोहियाले नेपालीहरुको सहयोग र सद्भावलाई उच्च मुल्यांकन गर्दै नेपालको प्रजातान्त्रिक संघर्ष र आन्दोलनमा यथेष्ट सहयोग गरे । २०२४ साल कार्तिकमा नेपाली काङ्गग्रेसको बृहत सम्मेलन पटनामा भएको थियो । अमेरिकाबाट घाँटीको अप्रेसन गराएर फर्किएका बिपीको सम्मानमा पटनावासीले ठुलो आमसभाको आयोजन गरेका थिए । त्यस सभामा जेपी प्रमुख अतिथि, बिहारका मुख्यमन्त्री कर्पुरी ठाकुर, कृष्णप्रसाद भट्टराई र चन्द्रशेखर जस्ता नेताहरुको सहभागिता रहेको थियो । बिपी को उद्दारता प्रकट गर्दै भने “बिपी कोइराला , नेपालका नेता मात्रै होइनन, सम्पूर्ण विश्वकै मानवअधिकार, प्रजातन्त्र र समाजवादका निमित्त भैरहेका आन्दोलन, संघर्ष र वैचारिक प्रभावका नेता हुन् । नेपालले यति ठुलो नेता पाएको छ । बिपी र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई मेरो पूर्ण सहयोग र सद्भाव छ ।”

यी वाक्यहरुबाट बिपीको व्यक्तित्व र कृतित्वलाई प्रतिबिम्बित गर्दछ । त्यस्तै जेपीको सम्पूर्ण क्रान्तिको सिद्धान्तप्रति बिपीले गरेको व्याख्या बडो रोचक छ । जेपी, सन् १९३९ ताका नै समाजवादको सिद्धान्तलाई व्याख्यागर्दै “हवाई सोसलिज्म” भन्ने पुस्तक एउटा विमर्श र क्रान्तिको रुपमा सार्वजनिक गरेका थिए । समाजमा आमुल परिवर्तन गर्न जेपीले “सम्पूर्ण क्रान्ति”को सिद्धान्त अगाडि सारेका थिए । भोला चटर्जीसंगको अन्तर्वार्तामा सम्पूर्ण क्रान्तिका सन्दर्भमा बिपीले भन्न खोजेको आशय “मानव इतिहासको उर्जा उत्पादन गर्ने शक्ति मात्र नभएर उसको चाहना रोटीको लागि मात्र होइन । मानिसको बहु–आयामिक अस्तित्व हुन्छ, ऊ एउटा कच्चा उत्पादन हो । तसर्थ सम्पूर्ण पक्षको उदय नै सम्पूर्ण क्रान्ति हो ।

जीवनको अन्तिम घडीमा जेपी नेपालमा प्रजातन्त्र पुनस्थापनाप्रति ज्यादै चिन्तित थिए । बिपीको रिहाइका लागि श्री ५ सँग आग्रह गरेका थिए । तत्कालीन समयमा नेपालको सार्वभौमिकतामा र आन्तरिक मामिलामा हस्तक्षेप भनेर टिप्पणी पत्र–पत्रिकाले गर्दा जेपी ले के भनेका थिए भने बिपीको व्यक्तित्व र गरिमा अन्तरराष्ट्रिय राजनीतिसँग जोडिएकोले प्रजातन्त्रमा हिमायती राख्ने प्रत्येक मानवले बिपीको पक्षमा उभिनु पर्दछ ।

बिपी र जेपीमा रणनीतिमा पनि सामिप्यता देखिन्छ । बिपी र जेपी गान्धीको छत्रछायामा पल्लवित र पुष्पित भएता पनि राजनीतिको केही कालखण्डमा यी दुईटै नेताहरुले हिंसाको प्रयोग गरेता पनि जीवनको उत्तरार्धमा गान्धी दर्शनबाट पूर्णरुपमा सम्मोहित देखिन्छ । जेपीको राजनीतिमा विरोधाभाष प्रचुर मात्रामा पाइन्छ । एक समयमा जेपीलाई राजनीतिक दलमा भरोसा भएन । भ्रष्टाचारका कारण नै राजनीतिक दलहरु हो भन्ने जेपीको ठहर थियो । जीवनको लामो समय सक्रिय राजनीतिलाई परित्याग गर्दागर्दै सर्वोदय आन्दोलनमा होमिएका थिए । गान्धीदर्शनको सुत्रात्मक प्रयोग गर्दै चम्मलको डाँकाहरुलाई हृदय परिवर्तन गराउँदै हतियार राख्न लगाए ।

नागाल्याण्डको हिंसात्मक आन्दोलनलाई मत्थर गर्दै र पूर्वीय पाकिस्तान (हाल बाङ्गलादेश) को दमितहरुको स्वरलाई प्रतिनिधित्व गर्दै बाङ्गलादेशको निर्माणको लागि अन्तरराष्ट्रिय वातावरण निर्माण गरे । जेपीले विनोभावेसँग सहकार्य गरेर सर्वोदय आन्दोलनको मध्यमबाट भू–दान(भुमिदान) को अभियान भारतभरी चलाए । यो गान्धीदर्शनको प्रयोग थियो । आफ्नो सम्पतिको केही अंश निर्धनलाई दान दिने जेपीले देशव्यापी आन्दोलन चखाए । तर जेपी चलायमान थियो । विनोभाभावेले इन्दिरा गान्धीको आपतकालीन शासनलाई “अनुशासन पर्व” भन्दै स्वागत गरे भने जेपीले भारतको स्वतन्त्रता आन्दोलन जस्तै चलाए । राजनीतिक दलहरुलाई निस्तेज गरेका जेपीले सम्पूर्ण राजनीतिक दलहरुलाई एकीकृत गर्दै गान्धीको सुत्रअनुसार एउटा अनुपम आन्दोलनको प्रयोग गर्दै प्रजातन्त्रलाई पुनर्वहाली गरे ।

एकातिर जेपी आन्दोलन गान्धीवादको प्रयोग थियो भने अर्कोतिर बिपीको राष्ट्रिय मेलमिलाप पनि गान्धीवादको प्रयोग थियो । जसरी जेपीले क्रान्तिकारी विद्यार्थीहरुको जोश जाँगरलाई मुखरित गरे । त्यसैगरी बिपीले पनि नेपाल २०३६ सालमा विद्यार्थी आन्दोलन चलाए । जेपी र बिपीमा मार्क्सवादको प्रभाव शुरुमा प्रचुर मात्रामा देखिएतापनि विकेन्द्रीकरण र ग्रामीकरणको अवधारणा र प्रयोगले दुईटै गान्धीको समिप देखिन्छ । जेपीको सहधर्मिणी प्रभावित गान्धी आश्रममा गान्धीको धर्मपुत्री भएर ब्रह्मचार्य धारण गरेकी थिइन । जेपीले राजनीति र लोक नीतिका बीच रेखा निर्माण गरेका थिए ।

राजनीति सत्ता, शक्ति र सामर्थ्य दिन्छ भने लोकनीतिले जनतालाई बलियो बनाउँछ । लोकनीतिले गर्दा नै जेपी कहिले सत्तारोहण गरेनन । यस अर्थमा जयप्रकाश नारायणलाई लोकनायकका उपाधिबाट भारतमा नमन गर्ने गरिन्छ । नेपालका सच्चा मित्र जेपीलाई यस आलेखबाट श्रद्धा सुमन अर्पित गरिन्छ ।