काठमाडौं, कात्तिक २७ । मेलम्ची खानेपानी आयोजनको सुरुङमार्गमा आगामी पुससम्म पानी परीक्षण गरिने भएको छ । हाल टनेलमा ४ वटा गेटको जडानको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
सुरुङमा रहेका ४ वटा अडिट टनेलमा गेट फिक्स गर्ने र सुरुङमा पानी पठाउने कार्यतालिका अनुसार काम भइरहेको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकृत राजेन्द्र पन्तले बताउनुभयो । उहाँका अनुसार आयोजना अन्तर्गत पानी प्रवेशद्वार अम्बाथान, ग्याल्थुम, सिन्धु अडिट (बाहिर निकास निकाल्ने सुरुङ) र सुन्दरीजल सुरुङ प्रवेशद्वारमा गेट जडानको काम भइरहेको छ ।
उहाँले भन्नुभयो , ‘आयोजनाको ४ वटा गेटको सुधारको काम भइरहेको छ । कंक्रिटिङ गर्ने, गेट फिक्स गर्ने काम भइरहेको छ । संक्रिट सुक्न २१ देखि २८ दिन समय लाग्ने हुन्छ । गेट फिक्स गरेपछि मात्रै सुरुङमा पानी हाल्ने हो, त्यसको एउटा तालिका बनिसकेको छ । आगामी पुसको दोस्रो हप्तासम्म पानी हाल्न सकिन्छ कि भन्ने अनुमान गरिएको छ ।’
सुरुङभित्र ३ वटा भेन्टिलेसन साफ्ट निर्माणको काम सकिएको छ भने खानेपानी आयोजनास्थलको हेडवर्क्समा कंक्रिटिङको काम भइरहेको छ । यसअघि अस्थायी बाँध बाँधेर सुरुङभित्र पानी परीक्षण गर्न सुरु गरिएपनि अब बाँधस्थलमा स्थायी संरचना बनाउने काम भइरहेको छ ।
यसैवीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सम्बन्धित क्षेत्रबाट प्रतिनधिसभाका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख विष्णुगोपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना प्रमुख तिरेश खत्रीसहितको टोलीले यस आयोजनाको कार्य प्रगतिको स्थितिको स्थलगत र समग्र निरीक्षण गरेको समेत गरेको छ ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पूरा हुने अन्तिम चरणमा पुगेको र सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल ल्याई राजधानीबासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको सपना कुनै अन्यथा परिस्थिति सिर्जना गरिएन भने नयाँ बर्ष २०७८ को आगमनअघि नै व्यवस्थित रूपमा उपभोक्ताले आआफ्नो घर र धारामा उपलब्ध हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताउनुभयो ।
गत असार ३० गते आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानको सुरुङ दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए । सुरुङभित्र पानी परीक्षणका क्रममा सुरुङभित्रको गेटको ढोका फुटेर उत्पन्न भएको बाढीबाट दुर्घटना भएको थियो ।
झण्डै अम्बाथानदेखि सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङमा अम्बाथानबाट पानी हालेको १५ देखि २० दिनभित्र सुन्दरीजलमा पानी आइपुग्ने अनुमान गरिएको छ । यो आयोजनाबाट सुरुमा १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ ।
दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाको गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ । यो खानेपानी आयोजना सुरु भएयता हालसम्म २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भइसकेको छ ।
मेलम्चीको पानी ल्याई काठमाडौंका सडक पखालिदिने भनी तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालको आम निर्वाचनमा भाषण गर्नुभएको धेरैलाई संझना नेै भएको बताउदै सल्लाहकार थापाले उहाँले दुई पटक प्रधानमन्त्री बन्दा आयोजना अघि बढाउन कुनै सुरसार सम्म नगरेको बताउनु भयो । उहाँले भन्नुभयो तर आज तीन दशकपछि, अझ उहाँको अवशान भएको पनि करिब एक दशकपछि यो आयोजना पूरा हुन गइरहेको छ । वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको सफल नेतृत्वका कारण नै यो संभव भएको छ ।
प्रतिक्रिया दिनुहोस्