जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार ११:०१

प्रतिगमन उन्मुख प्रचण्डले बुझ्नैपर्ने तथ्य


घटनाक्रमले ओलीको स्वाथ्यलाई ख्याल गरेर भविष्यमा आफ्नै हालीमुहाली पार्टीमा हुने कपटपूर्ण सोच अन्तर्गत रहेर प्रचण्डले त्याग देखाएर पाँच वर्ष ओली नै प्रधानमन्त्री रहने समझदारीमा सहमत भएको स्पष्ट हुन्छ । जब ओलीको स्वास्थ्य सबल बन्न थाल्यो, तब प्रचण्डमा भीषण छटपटी सुरु भएको देखिन्छ 

प्रा. डा. बद्रीविशाल पोखरेल

भोल्टेयरले म आफ्ना प्रतिद्वन्द्वीसित एक्लै सामना गर्न सक्छु तर दया गरेर आफन्तहरुबाटै बचाउनु होला प्रभु भनेझैँ नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै पार्टीको सरकार र विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुनियाँलाई रमित देखाउँदै पार्टी फोडने अभियानमा कम्मर कसेर लाग्नुभएको घटनाक्रमले स्पष्ट हुँदैछ । यस्ता धुन्धुकारी प्रवृत्तिले प्रतिगमनलाई मलजल त गर्ने नै छ तर त्यसले देशी विदेशी प्रतिक्रियावादीको स्वार्थ अनुकूल देशलाई चरम अस्थिरतातिर लान्छ । यसले विश्व कम्युनिष्ट आन्दोलनमा एउटा निराशा पनि थप्छ । यस्तो अत्यन्त संवेदनशील अवस्थालाई समेत कुनै ख्याल नगरी अन्धाधुन्द अराजक अभियानको अगुवाइ प्रचण्डले गरेको पाइन्छ । बिगतदेखिको घटनाक्रम नियाल्दा र हालैको कामबाट प्रचण्ड फुटको सबै अपजस ओलीका थाप्लामा थोपरेर आफैँ पार्टी फुटाउने अन्तिम कसरत गर्दै हुनुहुन्छ ।

यो कुरा प्रचण्डले हालै सचिवालयमा प्रस्तुत लिखित अभिव्यक्तिको विषय र भाषाशैलीबाट स्पष्ट हुन्छ । उहाँले ओली केन्द्रित कटाक्ष अधिकांशतः बाह्य शक्तिको इसारामा प्रायोजित गरिएको कपोलकल्पित रहेको देखिन्छ । यस काममा प्रचण्डलाई अग्रसर गराउने पक्ष उहाँभित्र अझैसम्म जड र जब्बर भएर रहेको उग्रवामपन्थी प्रवृत्ति मूल कारक रहेको पाइन्छ । बाह्य वा आन्तरिक शक्तिले पनि आफ्नू अनुकूल औजार नै प्रयोग गर्छ । संवेदनशील घडीमा उग्रवाद सही औजार हुने गर्छ । यस्तो उग्रवाद विचार, सिद्धान्त, व्यवहार र अभिव्यक्तिलगायत हर विषय र क्षेत्रमा हुन्छ । तर आखिरमा उग्रवामपन्थ उग्रदक्षिण पन्थमा परिणत हुन्छ भन्ने कुरा डा. बाबुराम भट्टराईबाट घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । अलि समय लिएर प्रतिक्षा गर्ने हो भने प्रचण्ड आफूसहित एक जत्थालाई त्यतैतिर उन्मुख गराउन प्रयत्नशील हुन खोज्दै हुनुहुन्छ ।

नत्र पाँच महिनापछि हुने एकता महाधिवेशन पनि पर्खिने धैर्य नराखी आजै वा अहिल्यै पार्टी अध्यक्ष ओलीविरुद्ध जेहाद छेड्नु पर्ने किन ? यसको सोझो अर्थ के हो भने आगामी दिनमा आफ्नै ल्याकतले पार्टी अध्यक्ष बन्ने सम्भावना अत्यन्त न्युन देखेको हुनुपर्छ । किनभने सैद्धान्तिक, वैचारिक, सांगठानिक तथा जीवनशैलीका कारण प्रचण्ड धेरै कमजोर हुनुहुन्छ । जनयुद्धका प्रभावमा कब्जा गरिएका भनिएका क्षेत्रहरु शून्य छन । बरु जननेता मदन भण्डारी र जबजका बिउहरु देशका कुना कुनामा अझै जीवित छन । छोरी बुहारी र परिवारवादका कारण प्रचण्ड पूर्वमाओवादी पार्टी वृत्तभित्र आलोचित हुनुहुन्छ । यसमा माओवादी केन्द्रका पूर्वछापामार लडाका, घाइते र अङ्गभङ्ग भएकाहरुका कटु आलोचनाका केन्द्र हुनुहुन्छ प्रचण्ड ।

पाँच सुते रडलाई बङ्ग्याउन वा दोबार्न सकिन्छ तर ६ र ७ सुते रडलाई बङ्ग्याउन सकिन्न । यसलाई आरनमा गालेर र पगालेर हम्मरले हिर्काउनु पर्छ अनि मात्र सही आकारमा परिवर्तन गर्न सकिन्छ । कतिपय पाठ इतिहासलाई पनि पढाउन दिनुपर्छ । पार्टी संस्थापक महासचिव पुष्पलाललाई गद्दार भन्ने उग्रवामपन्थीहरुलाई इतिहासले उहाँकै पथमा घिसारेर वर्तमानमा पछारेको देखिन्छ । यस्तो उग्रवामपन्थ विचार, सिद्धान्त, व्यवहार, राजनीति तथा राजकीय निकाय आदि हरक्षेत्रमा हाबी हुने गर्दछ । त्यसैले परिस्थिति भन्दा अगाडि दगुर्न खोज्नु, मात्रात्मक परिवर्तनलाई महत्व नदिनु, गुणात्मक फड्कोमा मात्रै जोड दिनु, वस्तुवादी ढङ्गले नसोच्नु, मनोगतवादी एवं जडसूत्रवादी चिन्तन र अवस्तुवादी कार्यक्रम कार्यनीति अँगालेर हिड्नु तथा अराजक कार्यशैली र सर्वसत्तावादी विचार, चरित्र एवं व्यवहार प्रवृत्तिलाई उग्रवाद भनिन्छ । यो प्रवृत्ति भएका नेता तथा व्यक्तिहरु चरम महत्वाकांक्षी र अधैर्य हुने गर्दछन र सोही अनुरुप व्यवहार गर्दछन ।

हुन पनि पञ्चायत विरोधी संयुक्त जनआन्दोलनमा रमिते भएर सडक पेटिमा बस्ने प्रचण्ड बहुदललाई साम्राज्यवादी र प्रजातन्त्रलाई प्रतिक्रियावादी भन्नुहुन्थ्यो । आफू र आफ्नो पार्टी बाहेक संसारमा कोही सक्कली कम्युनिष्ट छैनन भन्नुहुन्थ्यो भने समाज परिवर्तनमा बल र बन्दुकको मात्र सर्वोपरि भूमिका ठान्नु हुन्थ्यो । संसारमा कहीँ वैज्ञानिक समाजवाद छैन र समाजवाद हामी मात्र ल्याउन सक्छौँ भन्नुहुन्थ्यो । एक समय बहुदलीय संसदीय व्यवस्थालाई निरपेक्ष रुपमा उग्र विरोध गर्नुहुन्थ्यो । सबैलाई शत्रु करार गरेर अपार जन र धनको क्षतिमा खुसी हुनुहुन्थ्यो । हुँदाहुँदा सुरुदेखि हालसम्म पनि सैद्धान्तिक रुपमा अत्यन्त अस्थिर र ढुलमुलपन उहाँमा देखिन्छ । कहिले सशस्त्र जनयुद्ध, कहिले प्रचण्डपथ अनि पछिल्लो अवधिमा जबजको समग्र सारसहितको एक्काइसौँ शताब्दीको जनवाद भन्नुभयो । २०६२/०६३ को आन्दोलन सशस्त्र संघर्षसहित निरन्तर जारी गर्ने उहाँको सार्वजनिक रुपमा गरिएको उद्घोष व्यर्थ सावित भयो । पछिसम्म पनि उहाँमा व्याप्त रहेको सशस्त्र युद्धको धङधङी ठेगान लाग्न बाध्य भयो । समय क्रममा उहाँमा व्याप्त उग्रवामपन्थी चेतलाई इतिहासले थप्पड दिएपछि आंशिक रुपमा सही कम्युनिष्ट धारमा आउन बाध्य हुनुभयो ।

यसरी नै एकीकृत पार्टीको विधानमा उल्लिखित जनताको जनवादको पेटबोलीमा हरियो घाँसमा लुकेको सर्प भनेर बारबार आलोचित जबजको सम्पूर्ण सारसहितको जनवाद स्वीकार्नै पर्ने बाध्यतामा प्रचण्ड पर्नुभयो । तैपनि उहाँ उग्रवादी चेत र चिन्तनका कारण नाम चाहिँ जबज भन्न मानिरहनु भएको छैन । आर्थिक तथा राजनैतिक अधिकारसहितको बहुदलीय प्रतिस्पर्धात्मक समाजवाद निरुपण गर्ने जबज बेलैमा स्वीकार्न प्रचण्ड तयार हुनुहन्न । तर यथार्थ हेक्का राख्दा नैराम्रो हुन्छ, अहिले पार्टी एकीकरण हुँदा पूर्वमाओवादी केन्द्र सर्वनाश हुनबाट बचेको छ । अहिलेको घटनाक्रमले ओलीको स्वाथ्यलाई ख्याल गरेर भविष्यमा आफ्नै हालीमुहाली पार्टीमा हुने कपटपूर्ण सोच अन्तर्गत रहेर प्रचण्डले त्याग देखाएर पाँच वर्ष ओली नै प्रधानमन्त्री रहने समझदारीमा सहमत भएको स्पष्ट हुन्छ । तर स्वास्थ्य स्थिति धर्मर भएका ओली चाहिँ यस खालको निकृष्ट कपटभन्दा एकीकृत तथा सबल पार्टी बनाउने विशाल तथा दूरगामी सोचमा रहेको स्पष्ट हुन्छ । ओलीको फाउ जिन्दगी नेपालको कम्युनिष्ट आन्दोलनको समृद्ध भविष्य निर्माणसित सम्बन्धित देखिन्छ । तर जब ओलीको स्वास्थ्य सबल बन्न थाल्यो, तब प्रचण्डमा भीषण छटपटी सुरु भएको देखिन्छ ।

विगतमा भारतले नेपालविरुद्ध जतिसुकै थिचोमिचो गरे पनि हामी भारतविरुद्ध कुनै काम गर्ने छैनौँ भनेर लिखत गर्ने अनि भारत प्रायोजित ओली राजिनामा आफैँले मागेको हो भन्ने प्रचण्डले ओलीलाई नक्कली राष्ट्रवादको कपोलकल्पित आरोप लगाउन सुहाउँछ ? नाकाबन्दीका बेलाको चट्टानी अडान, चीनसित गरिएको अत्यन्त दूरगामी वाणिज्य तथा पारवहन सम्झौता, अतिक्रमित नेपाली भूभाग नेपाली नक्सामा समाहित गरिनु जस्ता ओलीका सबै काम प्रचण्डले भनेझैँ नक्कली राष्ट्रवादी हुन् र ? तपाईं प्रधानमन्त्री हुँदा तुइनमा झुण्डिएर अत्यन्त कष्टकर जीवन गुजार्ने दूरदराजका विद्यार्थी, बाल, बृद्ध र वनिताको पीडा आफू प्रधानमन्त्री हुँदा किन देख्नु भएन ? सरकारले जहाँ जहाँ जुन जुन देश, जनता र जनजीविकाका हितका लागि गरेका कामहरुका विरुद्ध आम जनताका सामु ओलीसितै उभिएर भन्न सक्ने हिम्मत छ प्रचण्ड कमरेड ? जननेता मदन भण्डारीका पछाडि कुरा काटिरहने त्यस बेलाका करिस्मेटिक भनिएका र भनाइएका नेता सीपी मैनाली भण्डारीका सामु लिलिपुट देखिन्थे । मैनाली पनि पार्टी बैठकका लिखित वा मौखिक निर्णयमा सहमत हुन्थे तर बाहिर बाहिर कार्यकर्ताका सामु सदासर्वदा रोइलो मात्र गर्थे र भण्डारीविरुद्ध कार्यकर्ता र नेतालाई उक्साउँथे । पहिलेदेखि नै जस जति सबै आफूले लिने, अपजस जति सबै अरुका थाप्लामा हाल्ने प्रवृत्ति प्रचण्डमा रहेछ । नत्र पार्टी एकतापछि कार्यकारी अध्यक्ष भएको यतिका दिनमा पार्टी काम गर्न पटक्क मन नगर्ने अनि सबै दोष ओलीलाई मात्र दिएर पानी माथिको ओभानो हुन सुहाउँछ ? मिल्छ र कमरेड ?

नेता हरिबोल गजुरेल पाँच वर्ष स्थिर सरकार सञ्चालन गर्न कमरेड ओलीलाई पार्टीले सहयोग गर्नुपर्ने बताउनु हुन्छ भने अर्का नेता विष्णु रिमाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका काम र गतिविधिबारे सन्तुलत विचार व्यक्त गर्दै हुनुहुन्थ्यो । बाम विश्लेषक आनन्दराम पौडेल ओलीका पनि कमजोरी उल्लेख गर्दै प्रचण्डको विगत पार्टी जीवनका निरन्तर गम्भीर कमजोरी नै अहिले समस्याका रुपमा रहेको बताउनु भएको थियो । अहिले कम्तीमा स्वतन्त्र र सापेक्ष रुपमा विश्लेषण गर्दै देशलाई सही दिशानिर्देश गर्ने कलात्मक हस्तक्षेपकारी सबल भूमिकाको अपेक्षा पूरा हुन सकेको छैन । नेकपाका विरुद्ध नेकपाका केही नेताहरु नै भाइरसका रुपमा देखापरिरहेका छन् ।

नवौं महाधिवेशनका बेला इटहरीको कार्यकर्ता भेलामा अध्यक्षका प्रबल प्रत्यासी तथा स्वास्थ्य लाभ गरिरहनु भएका ओलीलाई मृत्युको नजिक रहेको भन्दै सत्तोसराप गर्ने जगन्नाथ खतिवडा प्रधानमन्त्रीलाई शत्रुवत आक्रमण गर्दै थिए । अर्का पाण्डे थरि नेता पनि फरक गुटगत संकीर्ण चिन्तन राखेर एक लेखमा ओली विरोधी बेसुरा राग गाउँदै थिए । त्यस्तै संसदीय राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठ पनि सरकार विरुद्ध ससाना छिद्र खोजेर जग हँसाउने कामको अगुवाइ गरिरहेकी छन् । यिनीहरु यस लेखकको निगरानीमा रहेका छन् । तर ओली व्यक्तित्व र विशेषता नबुझ्नेहरुलाई के थाहा हुनुपर्छ भने उहाँ नवौँ महाधिवेशनमा चौतर्फी आक्रमण गर्दा पनि ओच्छयानमा बसेर स्वास्थ्यलाभ गरिरहेर अध्यक्षमा विजयी हुनुभएको थियो । अहिले पनि पार्टी, पार्टी एकीकरण, पार्टी सञ्चालन तथा सरकारका कामहरुका बारेमा ओलीलाई बोल्न नै दिइयो र त्यस अनुकूल वातावरण निर्माण भयो भने प्रचण्डलगायतले फेक र पेड मिडियाका भरामा भुईंतहसम्म छरिएको तमाम भ्रमहरु निस्तेज हुन्छन ।

पूूर्वमाओवादी केन्द्रमा जस्तो आफ्ना लिखित वा मौखिक विचारलाई सिरानी नहाली लेख नै लेख्न नपाउने स्थिति तयार पार्ने प्रचण्ड, भिन्न मत हुने बित्तिकै डा. बाबुरामको जीवन नै खतरामा पार्ने तथा आफूलाई प्रायोजित रुपमा देवत्वकरण गर्ने एकाधिकार पूर्ण चरम व्यक्तिवादी, गुटवादी, कम्युनिष्ट आचरणविपरीत व्यवहार गर्ने प्रचण्डले ओलीलाई लगाउने उपर्युक्त आरोप सरासर अवास्तविक देखिन्छ । अन्तरिम विधानले दुई अध्यक्षलाई आपसी सहमतिमा महाधिवेशनसम्म पार्टी र सरकार सञ्चालन गर्ने विशेष अधिकार दिएकाले तदनुसार पार्टी नचले एकता जुनसुकै बेला भङ्ग हुनसक्छ । तर प्रचण्ड भने उपर्युक्त पद्धतिअनुसार नचली प्रतिगमन उन्मुख हुन थाल्नुभएको छ । बिधि, पद्धती मिचेर कसैको इसारामा पार्टी बिभाजन गर्ने योजनाका साथ आधारपत्र प्रस्तुत गर्नुभएको छ । महिनौँदेखि स्थायी समिति र सचिवालमा देश र जनताका लागि भन्दा सत्ता, शक्ति, स्वार्थ र सम्पत्तिका लागि प्रचण्डलगायत नेताहरुले अपहत्ते गरेर जग हँसाउँदा पुनरुत्थानवादी तथा पूर्वराजावादीहरु प्रोत्साहित हुन थालेका हुन् ।

प्रचण्डले अन्तरिम विधानको धारा ४६ मा कुनै पनि तहको नेताले सामान्यतया एउटा प्रमुख मुख्य जिम्मेवारी लिने भन्ने कुरालाई तदनुकूल नबुझेर समस्या उत्पन्न भएको देखिन्छ । यस्ता अलि खुकुला प्रावधानहरु आगामी एकता महाधिवेशनसम्मलाई हो । यसले विशेष अवस्था र सन्दर्भलाई रोक्न र छेक्न सक्तैन । सचिवालयले बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय भए पनि गौतम संविधान संशोधन गरेर आफू प्रधानमन्त्री हुने र बन्ने अवस्थामा निश्चित हुँदा मात्र मनोनयन हुन राजी हुने हुँदा उक्त विषय अनिर्णित हुन गएको देखिन्छ । ओली फोविया ग्रस्त प्रचण्ड आफ्नै विगत कालका कृत्यको मनको बाघबाट भयग्रस्त देखिनुहुन्छ र ओलीले आफूहरुलाई त्याग, डर, धाक र धम्की दिएको बताउनुहुन्छ ।

भारत अतिक्रमित भूभागका विषयमा मौन कुटनीतिका माध्यमले वार्ता नगरी विषयलाई एउटा विद्यार्थी संगठनले झैँ सडकमा उफ्रिएर समाधान हुन्छ र ? कम्तीमा यस विषयमा ओली सरकारमार्फत नेपालीको सुदृढ एकता शक्तिशाली अस्त्र भयो । त्यसैले अतिक्रमित भूभागको नक्सा बेलैमा प्रकाशित नगरिएको भन्ने कुनै तर्क नै होइन । प्रचण्ड ओली सरकारविरुद्ध सुरुदेखि नै लागेको प्रमाण यस लेखकसित सुरक्षित छ । बहुमत सभासद्हरुको सही गराएर सरकार ढाल्ने गुप्त षडयन्त्रको प्रतिक्रिया हो अध्यादेश प्रकरण । यसमा को को लागे ? को को थिए र छन ? त्यसको लेखो पनि यस लेखकले राखेको छ । तुलनात्मक रुपमा सबभन्दा जिम्मेवार र उत्तरदायी सरकारलाई अनुत्तरदायी देख्ने प्रचण्डमा गम्भीर दृष्टिदोष देखिन्छ । सरकार त हिजो पनि बनेका थिए, भोलि पनि बन्लान । यी सब कुरा बुझेर मात्र बुझ्झकी नेताले बोल्नुपर्ने हो । तर तपाईंले देश, जनता र जनजीविकाका लागि दूृरदर्शी विचार व्यक्त गरेको आजसम्म देखिएको छैन ।

सबैभन्दा ठूलो शक्ति सही विचार हो । यस्तो विचारले नेता र कार्यकर्तालाई कुनै पनि आश, त्रास र बतासले छेक्न, थुन्न र हल्लाउन सक्तैन । सही विचारले मात्र आवश्यक पर्दा बलिदानी संघर्ष गर्न पनि मानिसलाई तयार पार्छ । त्यो विचार भनेको जबज नै हो । अहिले केही अवसरवादी र उग्रवाम प्रवृत्तिका मानिसको भीड देखेर हौसिनु पर्दैन । ती खहरे हुन । सही विचार अनवरत वगिरहने नदी र महानदी हो । यो खहरेझैँ घरि उर्लिने र घरि स्याप्पै सुक्ने हुँदैन । डाक्टरले अन्तिमसम्म पनि रोगीलाई बचाउने गम्भीर प्रयत्न गर्छ । यो त्यही प्रयन्त हो, तर मधौरुले माड त खानु पर्यो नि ।