जनता टाइम्स

१ मंसिर २०७७, सोमबार १६:४९

अध्यक्ष कमरेड ! यो तथ्यलाई छोप्न सकिन्छ र ?


यस हिसावले हेर्ने हो भने यो प्रतिवेदन सरासर झुठको खेतीले भरिएको गैरजिम्मेवार प्रकृतिको छ । यस्तो जटिल बेलामा जारी प्रतिवेदनले सरकारको कामको प्रभावकारिता बृद्धिबारे बोल्दैन । मन्त्रालय विशेषको कुरा छैन, बरु आम सर्वसाधारण मानिसले बोल्ने भाषाका रूपमा देशमा शान्ति सुरक्षा भएन, निर्मला हत्याको छानविन भएन, कहाँ के भएन आदि–आदि मात्र भनिएको छ । यससम्बन्धी भए गरिएका प्रगतिबारे मौनता साँध्नुहुन्छ । गृहमन्त्री रामबहादुर थापामाथि प्रहार गर्न खोज्नुभएको छ । उहाँको भरमग्दुर प्रयत्नबारे बोल्न सक्नुभएको छैन । लोडसेडिङ र विद्युतको सहज आपूर्ति यहीँ सरकारले गरेको हो । यसबारे बोल्न सक्नुभएको छैन । यदाकदा, मुद्धागत हिसावले वर्षमान पुनले प्रधानमन्त्री ओलीलाई साथ दिएको निहुँमा मन्त्री पुनको समेत छाला काड्न भ्याउनुभएको छ

युवराज बास्कोटा

आदरणीय कमरेड अध्यक्ष,
आज तिहारको अन्तिम दिन । धेरै–धेरै शुभकामनासहित हार्दिक अभिवादन ।

यो पत्र अलिक अस्ती नै लेख्न मन गरेको थिएँ । कतिपय विषयवस्तु लेखन–टिपन गरेको थिएँ । यहीबीचमा तपाईंको प्रतिवेदन सार्वजनिक भयो । यसबारे विभिन्न रंग र ढंगका टिकाटिप्पणीहरू आउन थाले । तिहारको चटारोकै बीचमा विभिन्न व्यक्तिद्वारा स्वचालित विद्युतीय सञ्चार माध्यमहरू र सामाजिक सञ्जालले तपाईंलाई कागसँग पूजा गरेको, कुकुरसँग पूजा गरेको, गोरूसँग पूजा गरेको अमर्यादित र व्यङ्गात्मक प्रतिमाहरू बाहिर ल्याउन थाले । निम्छरो पत्रकारिता र सञ्जाल प्रयोगको यो छुद्र तरिकाप्रति एकातिर आक्रोश जाग्यो भने अर्कोतिर करूणा । यस्ता अभिव्यक्तिहरूमा केही थप्न, लेखनमार्फत मिसिन र आगोमा घ्यूँ थप्न चाहिनँ । तपाईं नेतृत्वप्रतिको यो सार्वजनिक अपमान र मानमर्दनको उदांगोपन असह्य लाग्छ । तथापि, यसको गरिमा र मर्यादा कमाउने र कमाएको पक्षलाई बचाउने हामीले नै होला भन्ने पनि लाग्छ । यही शब्दाशयभित्र रूमलिँदै यो पत्र लेखिरहेको छु ।

समादरणीय अध्यक्ष कमरेड,

तिहार मनाइरहँदा हामी ग्रामीण क्षेत्र आधारित पार्टी कार्यकर्तालाई मूलतः तीनवटा विषयले थिचेको छ । नं. १) कोरोनाको डरलाग्दो कहर मानिसको मृत्यु दरबृद्धिमा ओर्लिइसक्यो ! असामयिक मृत्युवरण र बरखी बार्नेको संख्या उल्लेख्य ढंगले बृद्धि भयो ! नं. २) रोगग्रस्त संक्रमणकाल लम्बिदै जाँदा जनजीवन कष्टकर र असहज बन्दै आयो ! वस्तुस्थिति र यसको प्रभावका हिसावले अध्ययन र उपार्जनका क्षेत्रहरू हाउगुजी बन्दै आए ! र, नं. ३) तपाईं नेतृत्वको एकताबद्ध पार्टी संगठनात्मक जीवन दह्रिन पाएको छैन, नेकपा राजनीतिक, बैचारिक मतका साथ उभिन पाएको छैन, राजनीतिक दिशा र कार्यदिशा तय हुन पाएको छैन, तपाईंको आफ्ना सहयोद्धाविरुद्धको प्रस्तावले हामीमा तपाईंप्रति बुझाइमा भ्रम मात्र सिर्जना गरेन, एकीकृत कम्युनिष्ट आन्दोलनको जग निर्माणक्रममा अविश्वास, खिन्नता र अन्यौलता बढायो ! एउटा राजनीतिक प्राणी, राजनीतिक कार्यकर्ता हुनुको नाताले माथिल्ला दुइटा विषयबाहेक तेस्रो विषयले अलिक ध्यान केन्द्रीकृत गर्दो रहेछ । यही सेरोफेरोमा आफ्ना अभिमतहरू राखिरहेको छु ।

अध्यक्ष कमरेड,

पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनमत प्राप्त कार्यकालभरी मात्र काम गर्ने, यसबीचमा स्वभाविक हिसावले भिन्न ढंगले काम गर्ने र एउटा नजिर स्थापना गरेपछि पार्टी जीवनको राजनीतिक सत्ता र यसको प्रभावमा प्राप्त राजकीय सत्ता दुबै क्षेत्रबाट बिदा हुने अर्थात जिम्मेवारीमा नदोहोरिने कबोल पटकपटक गरिसक्नुभएको थियो । हामी साविक एमाले कित्ताका जनताको बहुदलीय जनवाद पक्षधर राजनीतिक–बैचारिक नेता कार्यकर्ताले अब नेता कसलाई मान्ने ? समग्र राजनीतिक काम र यसअनुरुपको भूमिकाको मियो को हुने ? कसलाई समात्ने ? कसलाई पछ्याउने ? त्यो राजनीतिक व्यक्तित्व तपाईं कमरेड अध्यक्ष हुनुहोला कि वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल हुनुहोला ! द्विविधामा थियौं हामी । तपाईं नेतृत्वको राजनीतिक योग्यता र कार्यकौशलताको सुक्ष्म अध्ययन, विषयगत मनन र चिन्तनमा थियौं हामी ।

एकसेएक ठूला नेता बनायौं तर असल नेतृत्व बनाउन सक्यौं कि सकेनौं ? सुक्ष्म अध्ययनमा थियौं हामी । पछिल्ला केही घटनाक्रमबाट हाम्रो यो अध्ययन, मनन र चिन्तनमाथि तुषरापात भएको कुरा लुकाइरहनु पर्छ झैँ लाग्दैन । नेपाली कम्युनिष्ट आन्दोलनलाई यो उचाइमा स्थापित गर्न अनवरत प्रयासरत देशभक्त सन्तानलाई, समानताका पक्षमा उर्लिएको झापा बिद्रोहले विकास गरेको चम्किलो नक्षत्रलाई, राष्ट्र र राष्ट्रियताका पक्षमा अहोरात्र डटिरहने एउटा निष्ठावान पहरेदारलाई, इतिहासमा पहिलोपटक बिस्तारवादलाई झुकाउन सक्ने एउटा राष्ट्रभक्त राजनेतालाई, नातागोताको पक्षपोषण र नियुक्ति, सेवा–सुविधा बृद्धिभन्दा कोसौं टाढा रहेको एउटा इमान, जुवान र निष्ठा पर्याय पात्रलाई यसरी प्रहार गर्न उत्प्रेरणा कसरी जाग्यो ? कसले जगायो ? यो आफैंमा खेदजन्य छ कमरेड ।

घरिघरि हामीलाई ग्रामीण प्रतिनिधिपात्रका जिज्ञासा मेटाउन गाह्रो हुन्छ, जब हामीलाई केही मानिसले प्रश्न गर्छन–अनाहकमा १७ हजार नेपाली आमाका छोराछोरी किन मारिए ? को थियो त्यो व्यक्ति, जसले यस्तो परिस्थितिमा नेपाली समाजलाई उभ्यायो ? बहुभाषा, बहुधर्म, बहुसँस्कृतिका नाउँमा प्राकृतिक विविधतायुक्त अनेकतामा एकताको विशेषतामा बसेको नेपाली समाजलाई विभाजनको रेखा कोर्ने को थियो ? क्यान्टोनमेन्टमा रहेका जनमुक्ति सेनाको नाममा राज्यबाट वितरण गरिएको अरबौं रकमको हिनामिना गर्ने मुख्य व्यक्ति को हुन ? वर्णाश्रित अभिजातीय शाहवंश टिकाएझैँ गणतान्त्रिक राज्यसत्तामा आफ्ना आफन्त, घरपरिवार र नातागोता मात्र टिकाउने को हुन ? ठूलो शक्ति भएको बेला पनि संविधान जारी गर्न नसकेर अर्को संविधानसभाको भार बोकाउने प्रमुख पात्र र पार्टी कुन थियो ? यो अयोग्यता र असक्षमतायुक्त गुणवान नेतृत्व को हो ? गाह्रो हुन्छ उत्तर दिन । तथापि, एकता प्रक्रियाको अनिवार्यता र यसभित्रका राजनीतिक बैचारिक स्वार्थहरू शीरोपर गर्दै आयौं, गरिरहेका छौँ र गर्छौं पनि । एउटा निर्दिष्ट राजनीतिक मूल्यमा उभिएको अनुशासित कार्यकर्ताको यो सदाशयतालाई कमजोरीको रूपमा बुझिदिनु भयो भने आघात पुग्दो रहेछ, चोट लाग्दो रहेछ, मनभित्रै सुनामी आउँदो रहेछ ।

पार्टी एकताको एउटा शक्तिको कार्यकारी पक्षलाई गहलत्याउने तपाईं नेताको यो पछिल्लो गतिविधिले बढाएको अविश्वासले जगाएको खिन्नता र अन्यौलको अवस्थामा हामी लाखौंलाख युवा कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै हुनुहुन्छ, जोर जबरजस्ती आगो झोस्ने काम गर्दै हुनुहुन्छ । भ्रमका पुलिन्दाहरू उनेर यसमा बेरिएका, लहरिएका हामी कार्यकर्ताहरूलाई झिरहरूले निर्ममतापूर्वक घोप्दै हुनुहुन्छ । कलरफुल सपनाको ब्याडलाई सखाप पार्दै हुनुहुन्छ । हामीलाई यो कतिपय सह्य भएको छैन । यद्यपि, हाम्रो अपेक्षा यस्तो थिएन । तथाकथित भागबण्डा र फेरिएको समुहबन्दीको स्वार्थको जगमा उभिएर प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीविरुद्धको १९ पृष्ठ पत्र के हो ? यो संगीन आरोप केका लागि ? असाध्यै अशोभनीय भएको छ । एक ढंगले आरोप पत्र जस्तो देखिने उक्त प्रस्तावमा उल्लेख भएजस्तो साँच्चीकै कमरेड केपी ओलीमा यति धेरै समस्याहरू थिए त ? थियो भने एकता किन गरियो ? भन्ने अस्वभाविक प्रश्न उठ्नु झन स्वभाविक हुन्छ ।

पत्याउन गाह्रो हुन्छ– यति चाँडो हामी सँगसँगै हिड्न नसक्ने तहमा ओर्लिनुभएको छ ! राजनीतिलाई जुवाँको खालजस्तो गणितीय आँकलनको विषयवस्तु बनाउनु भएको छ । जनयुद्धको रथ चलेको समयमा होस अथवा जनताको बहुदलीय जनवादी कार्यक्रममार्फत समाजवाद प्राप्तिको बाटोमा अविचलित रहेका कार्यकर्ताको कुरो होस– इमान र निष्ठासाथ उभिएका सयौं नेता कार्यकर्तालाई लाखापाखा लगाउनुभएको छ, काखे र पाखे बनाउनुभएको छ । जनयुद्धकालीन सैन्य मनोविज्ञान र हाँकधाँकले त्रासको वातावरण सिर्जना गर्नुभएको छ । एकीकृत नेपाली कम्युनिष्ट आन्दोलन निर्माण प्रक्रियामा जनउत्साहका साथ प्राप्त बहुमतलाई राजनीतिक गठबन्धन, शक्ति सन्तुलन, मन्त्रीमण्डल निर्माण, राजकीय नियुक्तिमा आफू अनुकूल व्यक्ति परे नपरेको आक्रोश अभिव्यक्त गर्ने थलो बनाउनुभएको छ । छलफल र बहसलाई आत्मकेन्द्रीत र समुहगत बनाउन थाल्नुभएको छ । कटवाल प्रकरणबाट गिरेको साख उठाइदिने यहीँ शक्ति होइन, जोसँग हामी एकाकारित भयौं र अहिले फेरि राजदूत नियुक्तिमा मिले नमिलेको विषयसँगै पोखिन खोज्दै छ ।

युद्ध कमाण्डार कमरेड,

भलै तपाईंले आफ्ना सहयोद्धा, सहकर्मी र सहयोगीहरूलाई बचाउन, टिकाउन र सँगसँगै राजनीतिक सहयात्रा गर्न सक्नुभएन ! तथापि, तपाईं एकजना सफल युद्धकमाण्डार हो । तर तपाईंको यो पछिल्लो पत्रले आजको खुल्ला राजनीति र राजनीतिक गन्तव्य ठम्याउन सकेन, आम कार्यकर्ताको भावना बोक्न सकेन । धाँकधम्की र त्रास–सन्त्रास सिर्जना गर्ने युद्धउन्मादको कायर छनक देखियो । नाम भलै जे होला ! तथापि, तपाईंको लेखन र शब्दाक्षरहरूमा जनताको बहुदलीय जनवादको राजनीतिक मर्मको प्रतिनिधित्व गर्न सकेन । हामी जबज पक्षधर अटाउन सकेनौं । राजनीतिक स्थायित्वविरुद्धको तपाईंको यो आत्मरतिमा हामी रमाउन सक्दैनौं । राजनीतिक भागबण्डा र भागबण्डा नमिल्दाको कुण्ठाबाहेक नेकपा नेतृत्वको सरकारको भूमिकालाई कसरी प्रभावकारी बनाउने बिचार आउन सकेन । राजनीतिक दल, दलको आडमा उभिएको शक्ति र व्यक्तिसहित राज्यका विभिन्न तहमा भ्रष्टाचार छ । यससम्बन्धी स्वतन्त्र छानबिन हुनुपर्ने, त्यो आफूहरू स्वयंबाट हुनुपर्ने, तहगत सरकार सञ्चालनका सन्दर्भमा चुलिएका कतिपय राम्रा नराम्रा पक्षउपर अध्ययन हुनुपर्नेजस्ता विषयवस्तु उठ्न सकेन । घरबासको कुरा एकातिर छ भने विभिन्न देश–देशान्तरमा बसोबास गर्ने प्रवासी नेपालीको जीवनोस्थिति झन बढी जटिल छ, यसबारे तपाईं बोल्नुहुन्न ।

आदरणीय अध्यक्षज्यू,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिदै गएको किचलोले राजनीतिक बैचारिक केही होइन । यसर्थ, तल्ला तहमा खासै फरक पारेको छैन, भ्रम त सिर्जना गरेको छ नै । योबाहेक तत्काल केही असर परेको देखिदैन । तपाईं नेतृत्वको केन्द्रीय तहमा निकै हलचल मच्चिएको छ, यसको कारक पनि तपाई नै हो भन्ने कुरा विभिन्न दृष्टान्त र दृश्यचित्रमार्फत आइरहेको छ । दुई चारजनाले तपाईंलाई जुरूक्क पर्दा र तपाईं स्वयं बुरूक्क हुँदा क्षणभर आनन्द आउला तर नेपाली कम्युनिष्ट आन्दोलन र यसको भविष्यका लागि चाहिँ यो किमार्थ राम्रो होइन । जहाँ प्रचण्ड, त्यहाँ विग्रह र विध्वंस भन्ने कुरालाई चरितार्थ गर्न खोज्नु हुँदैछ । कार्यकारी अध्यक्षका हैसियतले तपाईंले फरमान गर्नुभएको प्रतिवेदनमार्फत अघि सार्नुभएका विषयवस्तुहरू परस्पर असहयोगीभावको मात्र होइन, सम्माननीय प्रधानमन्त्री एवं अध्यक्ष कमरेड केपी शर्मा ओलीमाथि सरासर लगाउनुभएको निराधार आरोप, फर्काइफर्काई पढ्नलायक छ । टिपनटापन ढंगले धेरै कुरा उठाउनुभएको छ, बोकिएका बोकाइएका कुण्ठा पोख्नुभएको छ, तर मूलभूत कुराहरू ओझेलमा पार्नुभएको छ ।

यतिबेला सिंगो पार्टी पंक्ति महाधिवेशनको संघारमा उभिनुपर्ने हो । यसका लागि आवश्यक ढंगले राजनीतिक बैचारिक अभियान सञ्चालन गर्नुपर्ने हो । यस हिसावले हेर्ने हो भने यो प्रतिवेदन सरासर झुठको खेतीले भरिएको गैरजिम्मेवार प्रकृतिको छ । यस्तो जटिल बेलामा जारी प्रतिवेदनले सरकारको कामको प्रभावकारिता बृद्धिबारे बोल्दैन । मन्त्रालय विशेषको कुरा छैन, बरु आम सर्वसाधारण मानिसले बोल्ने भाषाका रूपमा देशमा शान्ति सुरक्षा भएन, निर्मला हत्याको छानविन भएन, कहाँ के भएन आदि–आदि मात्र भनिएको छ । यससम्बन्धी भए गरिएका प्रगतिबारे मौनता साँध्नुहुन्छ । गृहमन्त्री रामबहादुर थापामाथि प्रहार गर्न खोज्नुभएको छ । उहाँको भरमग्दुर प्रयत्नबारे बोल्न सक्नुभएको छैन । लोडसेडिङ र विद्युतको सहज आपूर्ति यहीँ सरकारले गरेको हो । यसबारे बोल्न सक्नुभएको छैन । यदाकदा, मुद्धागत हिसावले वर्षमान पुनले प्रधानमन्त्री ओलीलाई साथ दिएको निहुँमा मन्त्री पुनको समेत छाला काड्न भ्याउनुभएको छ । भन्न कन्ज्युस्याईं नगरे हुन्छ– लोडसेडिङ यही ओली सरकारले तोडेको हो । अहिले बजारमा विद्युत स्थानीय मागभन्दा आपूर्ति बढी छ । पोहोर सालदेखि नै यसपटकसम्म पनि तिहारमा झलमल बत्ती बल्यो सर्वत्र । परनिर्भर हाम्रो विद्युतबजार अहिले भारतलाई बेच्न थालेको छ । यो पनि कुरा तपाईंले उठान गर्न र खुलेर भन्न सक्नुभएन । लक डाउनयता सरकारका राम्रा कामबारे चुइक्क बोल्नुभएको छैन, बरु कुनै न कुनै नाम र निहुँमा सक्ने प्रयास गर्नुभएको छ ।

अहिले उखु किसान उद्योग, मुल्य बृद्धि आदिको कुरा व्यवस्थित गरिएको छ । यो पक्ष मसिनो अध्ययन नगरी विभागीय मन्त्री लेखराज भट्टमाथि खनिनुभएको छ । मूल्य बृद्धि कायम राख्दै अहिले धेरै नियन्त्रण र सन्तुलनमा राखिएको कृषि उपज कृषकको कुरा नउठाइका मलको कुरा गरेर मन्त्री घनश्याम भुसालमाथि ओइरिनुभएको छ । परिस्थितिजन्य कुरा हो । योबाहेक मल ल्याउन मन्त्री भुसाल स्वयं र प्रमले पनि बंगलादेशसँग प्रत्यक्ष संवाद गरेर व्यवस्थालाई सहज गरेको कुरा कहीँ कतै छुवाउनु भएको छैन । संक्रमणका बेलामा बिदेशबाट श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू ल्याएन सरकारले, श्रमिकलाई अलपत्र पारे भनेर धारे हात लगाउनुभएको छ तर भए गरिएको अधिकतम प्रयासबारे कतिसम्म आग्रह–पूर्वाग्रह र दूराग्रह हो ! चुँसम्म पनि बोल्नुभएको छैन । यसबीचमा हाम्रो पर्फमेन्स दिन नसक्दा जनमतले रूचाइएका दुईजना मन्त्रीहरू लालबाबु पण्डित र गोकर्ण विष्ट हटाइए । खानेपानी परियोजना कार्यान्वयनमा ल्याउन असफल मन्त्री बिना मगरको विकल्प खोज्नुपर्ने कुरा गर्न सक्नुभएन । यद्यपि, मन्त्री मगरको अहोरात्र क्रियाशीलताको समयभित्र दुइजना इञ्जीनियरको देहावसान भयो । तिनका नाउँमा शोक, समवेदना उच्चारणसम्म गर्न सक्नुभएन ।

सरकार र नेतृत्वको पक्षमा खह्रो उभिनुभएका युवा नेता एवं मन्त्री योगेश भट्टराईंमाथि पनि चर्को ढंगले खनिनुभएको छ वाइडबडीको विषयलाई लिएर । देशको अक्षुण्य भूगोल र सार्वभौमसत्ताबारे ऐतिहासिक विषयवस्तुको अध्ययन उत्खननसहित दृढतापूर्वक उभिएर बोल्न सक्ने मन्त्री पद्मा अर्यालको समेत हुर्मत काड्न खोज्नुभएको छ । चुच्चोसहित नक्सासहितको भौगोलिक अखण्डताबारे सरकारले गरेका राम्रा पक्षबारे बोल्नुभएको छैन । यसले तपाईंको अभिभावकत्व कहाँ देखिन्छ ? कहाँ भेटिन्छ ? प्रश्न जन्माउनु स्वभाविक भएको छ । होला भनेजस्तो भएन होला ! तथापि, केही भएकै छैन भन्न भएन नि कमरेड ! विश्व महामारीको रूपमा उघ्रिएको कोभिड–१९ को उपचार कुनै बेला यहाँबाट स्वाब लिएर हङकङ परिक्षणका लागि पठाउनुपर्ने अवस्था थियो । आज त्यो बिस्थापित भएको छ । महामारी नियन्त्रणको घेरामा छ । संक्रमित कोही भए केही घण्टाभित्रै स्वदेशमै परिक्षण हुने र रिपोर्ट पाउने अवस्था विकास भएको छ । सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री ओलीलाई साथ दिनुभयो भनेर तपाईं उपप्रधानमन्त्री ईश्वर पोखरेल र भानुभक्त ढकालमाथि भुतभते लिएर खनिनुभएको छ । समग्रता सरकारविरुद्धको उत्रिनुभएको छ, अध्यक्ष कमरेड ओली नेतृत्वको नेकपाको सरकार असफल भयो भन्न उभिनुभएको छ । मियो ढालेर जथाभावी कुल्चन प्रयास गर्दै हुनुहुन्छ ।

भ्रष्टाचार भएकै छैन भन्ने होइन । तथापि, यसमाथि लगाम लागेकै छ । नेपालको राजनीतिक इतिहासमा पहिलोपल्ट विपक्षी दलको नेतामाथि भ्रष्टाचारको अध्ययन अनुसन्धान भयो र जेल चलानको अवस्था विकास भयो । यो पनि वर्तमान सरकारकै सफलताको रूपमा तपाईंको ध्यान किन पुग्न सकेन ? देश एकातिर रोएको छ, अर्कोतिर बेमौसमी बाजाहरू किन बजाइरहनु हुन्छ ? यो सर्पपालन गर्ने बेला हो ? यसबारे तपाईं किन बोल्नुहुन्न, अध्यक्ष कमरेड ? कालोसूचीमा परेको ठेकेदारलाई कारबाही गर्नुपर्ने कुरा किन बोल्नुहुन्न ? राज्यसत्ता सञ्चालनका सन्दर्भमा ठेक्कापट्टाको पारदर्शिताबारे तपाईंको प्रतिवेदन किन मौन ? बालुवाटार जग्गा प्रकरणमा सरकारले चालेको सही कामप्रतितपाईं किन केही बोल्नुहुन्न ? जनआन्दोलन र जनयुद्धकालका शहिद व्यक्ति र तिनका घरपरिवारजन, घाइते, अपांगहरू र विभिन्न कारणले सडकमा रोएर हिडेका नेपाली नागरिकबारे तपाईंको लिखत किन बोल्दैन ? यसतर्फ सरकारको ध्यान खिच्न किन चुक्छ तपाईंको लेखन ?

यसबीचमा आइलागेको निवाशकारी भूकम्प, कोभिड महामारी, बाढीपहिरोको कहरका व्यहोर्नुपरेका असजिला समयमा आफ्नै पार्टीका शीर्ष नेताहरू आफ्नै पार्टीको सरकार र यसको पक्षमा के कति साथ दिए ? असफल प्रमाणित गर्न के कसरी केन्द्रीकृत रहे ? पछिल्लो तपाईं अध्यक्ष कमरेड प्रचण्डको ‘प्रचण्ड प्रतिवेदन’ नै यसको जग हो, जसले सरकारको उपस्थिति, भूमिका र यसको प्रभावकारिता कहिल्यै देख्दैन, राम्रो कार्य भएको छ, धन्यवाद भन्न सक्दैन । अनि कसरी सफल वा असफल भयो भन्छ ? तपाईं कसरी गाइडेड हुनुहुन्छ ?

नेता बन्नका लागि हाम्रो पनि मन जित्नुपर्ने छ र मस्तिष्कमा बस्नुपर्ने छ । हावा बिनाको बेलुन उडाउने निरर्थक प्रयास नगर्नुस ! यस्ता निरर्थक विषयमा समय खेर नफाल्नुस ! बहस नै चलाउनुपर्ने भए राजनीतिक, बैचारिक मुद्धामा स्वथ्यकर बहस आरम्भ गर्नुस ! राजनीतिक भूमिका र जिम्मेवारी निर्वाहका दृष्टिकोणले पुस्तान्तरणको कुरा गर्नुस ! आफूलाई नै अपरिहार्य सावित गर्नुपर्ने भए यसका लागि व्यवहारमै धैर्यता राख्नुस ! राजनीतिक, संगठनात्मक कामको नेताको रूपमा हामीलाई पनि चलाउनुहोस ! भविष्य तपाईंकै उज्ज्वल छ । नेता तपाईं नै हो, हामी होइन । अपेक्षित सफलताका लागि धेरै–धेरै शुभकामना !

यद्यपि, केही मानिसले भन्ने गर्छन– अध्यक्ष कमरेड पदाकांक्षी होइन । उहाँले नचाहेको भए न विद्यादेवी भण्डारी राष्ट्रपति बन्न सक्नुहुन्थ्यो, न केपी शर्मा ओली प्रधानमन्त्री ! तर्क कति यान्त्रिक छ, यसबारे धेरै समय खेर फाल्दिनँ । सत्य चाहिँ के हो भने तत्कालीन एमाले महासचिव कमरेड माधवकुमार नेपालले रिस्क नमोल्नुभएको भए र कमरेड केपी शर्मा ओली एमाले अध्यक्षमा निर्वाचित हुनुभएपछि पार्टी एकताको नाउँमा क्रेन लगाएर नतानेको भए तपाईंको अवस्था के हुने थियो ? ३० प्रतिशत मात्र पाए हुन्छ भने काङ्ग्रेससँग बार्गेनिङ भएको छर्लङ छ त ! त्यो बेला अध्यक्ष कमरेड ओलीले गम्भीर र बोल्ड डिसिजन नगरेको भए तपाईं आज कहाँ हुनुहुन्थ्यो ? कहिले छलाङ, कहिले क्रमभंगता, कहिले प्रचण्डपथ र कहिले २१ औँ शताब्दिको जनवाद भनिरहँदा आजको विकसित अवस्थामा संगठनात्मक दशा र दिशा के हुन्थ्यो ? यो ठूलो र बृहत्तर कम्युनिष्ट पार्टीको अध्यक्ष हुने कुराको सुनिश्चिता थियो ? अहं बिल्कुलै थिएन । चाहे संघमा होस वा प्रदेशमा, तपाईं निकट नेतृत्वले निर्वाचनमा प्राप्त गरेको मत र पूर्वमाओवादीको चुनाव चिन्हमा खसेको समानुपातिक मतलाई पनि आधार मान्न सकिन्न र ? अवस्था के छ भनेर । हो, यहिँनेर अडिन र हाम्रा बारेमा गम्भीरतापूर्वक सुझ्न, बुझ्न जरुरी छ ।

अध्यक्ष कमरेड,

हो– निर्वाध तपाईं ३२ वर्षसम्म पार्टीको पहिलो व्यक्ति र शक्तिशाली व्यक्ति भएर बस्नुभयो । एकीकरणपछि परिस्थितिमा फेरबदल आयो । अन्तरसंगठनात्मक जीवनका सन्दर्भमा पनि स्थापित लोकतान्त्रिक विधिमार्फत सम्भावित सबैलाई उछिनेर अब तपाईले हाम्रो पनि नेता बन्नुपर्ने छ । नेता बन्नका लागि हाम्रो पनि मन जित्नुपर्ने छ र मस्तिष्कमा बस्नुपर्ने छ । हावा बिनाको बेलुन उडाउने निरर्थक प्रयास नगर्नुस ! यस्ता निरर्थक विषयमा समय खेर नफाल्नुस ! बहस नै चलाउनुपर्ने भए राजनीतिक, बैचारिक मुद्धामा स्वथ्यकर बहस आरम्भ गर्नुस ! राजनीतिक भूमिका र जिम्मेवारी निर्वाहका दृष्टिकोणले पुस्तान्तरणको कुरा गर्नुस ! आफूलाई नै अपरिहार्य सावित गर्नुपर्ने भए यसका लागि व्यवहारमै धैर्यता राख्नुस ! राजनीतिक, संगठनात्मक कामको नेताको रूपमा हामीलाई पनि चलाउनुहोस ! भविष्य तपाईंकै उज्ज्वल छ । नेता तपाईं नै हो, हामी होइन । अपेक्षित सफलताका लागि धेरै–धेरै शुभकामना !