जनता टाइम्स

१३ मंसिर २०७७, शनिबार ०८:२६

विभिन्न विशेषण भिराएर आतङ्कित गर्नुपर्ने कुनै आवश्यकता छैन : प्रधानमन्त्री ओली


आज हामी राष्ट्रिय पुँजीलाई अवश्य जोड दिन्छौँ । राष्ट्रिय उद्योगलाई जोड दिन्छौँ । राष्ट्रिय पुँजीपतिलाई जोड दिन्छौँ । भरसक बाह्य पुँजी हामीले हाम्रा उद्योगमा, हाम्रा विकासका काममा बाह्य पुँजी ल्याउनै नपरे हुन्थ्यो नि ! हाम्रै पुँजीपतिलाई त्यति सबल बनाउन पाएको भए अरू बाहिरकाले किन यहाँ आएर लगानी गर्छ ? हामीले हाम्रा पुँजीपतिलाई त्यसअनुसार सक्षम बनाउन नसकेर नै हो । लगानी गर्न सक्ने हैसियतमा उठाउन सकेनौँ । त्यस कारण नै हामीले बाह्य लगानी गर्न खोजेको होला । हामीले हाम्रैलाई सबल बनाउन सकेको भए बाहिरका खोज्नै पर्दैनथ्यो । आज हामी खोजीखोजीकन वैदेशिक लगानी आमन्त्रण गरिरहेका छौँ । किनभने हामीले हाम्रा उद्यमीलाई त्यस स्तरमा विकास गर्न सकेनौँ । त्यस कारण तपाईंहरू विकास हुनुस् । ठूला–ठूला आयोजनाहरूमा लगानी गर्न सक्नेगरी । पुँजी यहाँ कमाउने, बाहिर लगानी गर्ने तरिका नअपनाउनुस । यहीँ लगानी गर्ने तरिका अवलम्बलन गर्नुस् । सरकार त्यो चाहन्छ 

प्रधानमन्त्री केपी शर्मा ओली

उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारण सभा प्रारम्भ भएको छ । यसको भव्य सफलताको निम्ति सर्वप्रथम म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यो सफल हुने नै छ । यसले आफ्ना सफलताको ५४ वर्ष पार गरेको छ । आधा शताब्दीभन्दा लामो समय सफलताको यात्रा पार गर्दै यहाँसम्म आइपुगेको एउटा अनुभव र देशको विकासको, उन्नतिको, प्रगतिको, औद्योगिकीकरणको, व्यवसायको नेतृत्व गर्दै आउनुभएका अनुभवी साथीहरू, अनुभवी क्षेत्रको यो साधारण सभा सार्थक उपलब्धिका साथ सफल हुने नै छ ।

यसको विगत, यसले विगतमा गरेका कामका सम्बन्धमा स्वागत मन्तव्यका क्रममा अध्यक्ष भवानी राणाजीले प्रशस्तै प्रकाश पारिसक्नुभएको छ । एउटा असहज परिस्थितिमा उभिएका छौँ । असहज परिस्थितिको सामना गरिरहेका छौँ । नत्र आज अत्यन्त भव्य उपस्थितिका साथ, ठूलो सहभागिताका साथ यो वार्षिक साधारण सभाको यो उद्घाटन सत्र सम्पन्न हुने थियो । कोभिड–१९ का कारणले हामीले यसको स्वरूप बदल्नुपर्यो, तरिका बदल्नुपर्यो, आकार बदल्नुपर्यो र यस रूपमा यस स्थानमा हामी यस प्रकारले आज यो साधारण सभाको शुभारम्भ गरिरहेका छौँ । मेरो सचिवालयमा साथीहरूलाई स्वागत गर्न पाउँदा मलाई त खुसी लागेको छ तर खुसी हुने कारणले यस्तो भएको होइन । कोभिड–१९ का कारणले चाहिँ यस्तो हुन गएको हो ।

तसर्थ जुन प्रकारको कार्यक्रम हामी जुममार्फत आज गरिरहेका छौँ, त्यसले कार्यक्रमको स्वरूपमा मात्रै होइन, हाम्रा अगाडिका चुनौती, हाम्रा अगाडिका समस्या, हामीले भोग्नुपरेका कठिनाइ र अब तिनीबाट मुक्त हुने उपायको खोजी र प्रयासको सन्दर्भमा पनि सङ्केत र माग गर्छ । हामीले अब यस परिस्थितिबाट देशलाई कसरी उम्काउने, यस महामारीका कारणले अर्थतन्त्रमा परेका प्रभावलाई अथवा दुष्प्रभावलाई कसरी छुट्याउने र त्यसबाट कसरी उठ्ने ? अर्थतन्त्रले जुन गति लिन खोजेको थियो, कोभिडभन्दा अगाडि त्यस गतिमा फेरि कसरी फर्काउने र अगाडि बढाउने ? यी प्रश्नहरू पनि हाम्रा अगाडि आएका छन। मैले विश्वास लिएको छु, यस साधारण सभाले कोभिड–१९ र अबको अर्थतन्त्रको सन्दर्भमा गहन छलफल गर्ने छ, निष्कर्षहरू निकाल्ने छ । त्यो निष्कर्ष आफ्नो निम्ति, आफ्नो सङ्गठनको निम्ति, आफ्नो व्यावसायिक क्षेत्रको निम्ति र नेपाल सरकारका निम्ति पनि उपयोगी हुने छ नेपाल सरकार पनि त्यसबाट लाभान्वित हुनेछ ।

हामी एउटा साझा समस्या भोगिरहेका छौँ । यसको समाधान पनि हामी संयुक्त प्रयासबाटै गर्न सक्छौँ । सरकार र निजी क्षेत्र, व्यक्ति र संस्था, केन्द्र सरकार, प्रदेश सरकार वा स्थानीय तहहरू यी सबै पक्ष मिलेर मात्रै हामी यस समस्यासँग जुध्न सक्छौँ र यस समस्याबाट पार पाउन सक्छौँ । एउटा खुसीकै जानकारी आएको छ कि कोभिड–१९ का विरुद्ध खोप विभिन्न देशले पत्ता लगाएका छन र त्यो खोपको प्रयोगले मानव जातिलाई यस महामारीबाट मुक्त गराउने छ वा यसविरुद्ध हाम्रो लडाइँमा सफलता दिनेछ । कोभिड–१९ यस्तो महामारी हो, जसले हामीलाई मात्रै होइन, विश्वलाई नै सताएको छ । कमजोरलाई मात्रै होइन, बलियालाई पनि त्यतिकै आक्रमण गरेको छ यसले । कसैलाई छोडेको छैन । कसैले आफूलाई सबल छु भन्ने ठानेको छ, सुरक्षित छु भन्ने ठानेको छ भने त्यो पनि साँचो होइन । सबै यसका अगाडि कमजोर परेका छन । कोही पनि सुरक्षित रहेको छैन । यसबाट उठ्न बलियालाई भन्दा कमजोरलाई मुस्किल पर्ने छ । अब खोप त आविष्कार भयो तर त्यो खोप गरिब देशहरूले वा गरिब जनताले त्यो मानव जातिको साझा सम्पत्तिका रूपमा प्राप्त गर्ने स्थिति बन्ने कि त्यो एउटा व्यापारको नाफा क्षेत्र बन्ने ? भन्ने गम्भीर प्रश्न फेरिपनिउठ्छ ।

म भन्न चाहन्छु, खोपको आविष्कार मानव जातिका निम्ति एउटा ठूलो उपलब्धि हो । यो मानव जातिका निम्ति साझा उपलब्धि हुनुपर्दछ । यो सबलका निम्ति थप उपलब्धि हुने र दुर्बलका निम्ति कुनै अर्थ नराख्ने हुनुहुँदैन । कोभिड–१९ ले हामीलाई राम्रो पाठ सिकायो । हामी एउटा सानो धर्तीमा छौँ । एउटालाई एक ठाउँमा एक रोग सुरु भयो भने त्यो विश्वव्यापी रूपमा फैलिन सक्छ । हामी एउटै ग्रहमा छौँ र आजको दुनियाँ आवागमन, यातायात आदि कारणले यति साँघुरो भएको छ कि सङ्क्रमणबाट जोगिन सजिलो छैन । हामी प्रयास त गरिरहेका छौँ । मास्क लगाइरहेका छौँ । सामाजिक दूरी कायम गरिरहेका छौँ । अरू स्वास्थ्यसम्बन्धी प्रोटोकल मानिरहेका छौँ तर फेरि पनि यदि यी कुरा पनि नगरेको भए कस्तो हुन्थ्यो होला दुनियाँ ? महामारीको स्तर के हुन्थ्यो ? यी सबै गर्दागर्दै पनि यति तीव्र गतिमा यो महामारी अगाडि बढिराखेको छ । यो सबै पनि हामी नगर्ने हो भने कस्तो हुन्थ्यो होला ! जे होस यसविरुद्ध हामीले साझा लडाइँ लड्नु नै छ । यसले अर्थतन्त्रमा पारेको असर र सिर्जना गरेको प्रतिकूलतालाई पराजित गरेर अर्थतन्त्रलाई फेरि माथि उठाउनु छ ।

गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.५ का दरले हुने प्रक्षेपण गरेका थियौँ तर हामी लगभग शून्यको स्थितिमा पुग्यौँ । हामीले सन्तोष गर्नुपर्दछ कि ठूला बलिया देशहरू नकारात्मक अवस्थामा गएका छन् भने हामी लगभग शून्यको थोरै प्लसको स्थितिमा जोडिएका छौँ । त्यसले हामीलाई जोसँग धेरै रिजर्भ थियो, जोसँग धेरै बचत थियो, उसले त मेकअप गर्न सक्छ तर जोसँग बचत छैन, जसले जम्मा गरेर राख्न पाएको छैन, खर्च गर्ने क्षमता राख्दैन, त्यसलाई अप्ठ्यारो पार्छ । उद्यमी व्यवसायी साथीहरूलाई लाग्छ होला, कतिवटा देशका सरकारले उद्योगहरू, व्यवसायको पुनरुत्थानका लागि ठूलो रकम दिइराखेका छन, नेपाल सरकार किन दिँदैन भनेर । नेपाल सरकार पनि मनको गरिब होइन, दिन इच्छा नगर्ने होइन तर नेपाल सरकारको क्षमता, आर्थिक क्षमता, यसको वित्तीय क्षमता जो साथीहरूले हेर्नुभएको छ । त्यस कारण हामीले आफ्नो अभिभावकको गच्छेअनुसार मात्रै अपेक्षा गर्न वाञ्छनीय हुन्छ । गच्छे कति छ त्यसअनुसार ।

म यहाँहरूलाई विश्वस्त गराउन चाहन्छु, नेपाल सरकारले गच्छेअनुसार वा गच्छेभन्दा अझ एक कदम अगाडि बढेर साथ सहयोग पुर्याउनका लागि सहयोगको हात बढाउने छ तर त्यो फेरि पनि सीमित हुनेछ किनभने हामीसँग त्यस्तो बचत छैन । मैले अघि पनि भनेँ हामीले साझा प्रयास, संयुक्त प्रयासबाट हाम्रो अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ । यो काम हामी अगाडि बढाउन सक्छौँ र बढाउँछौँ । हाम्रा प्रयासहरू त्यस दिशामा केन्द्रित छन् र म सबै साथीलाई भन्न चाहन्छु, मानव जातिले समय–समयमा कहिले प्रलय, कहिले महामारी, कहिले विपत्ति, कहिले एड्स, कहिले विभिन्न रोग, कहिले भूकम्प, कहिले आगलागी, कहिले सामुन्द्रिक आँधी, कहिले चक्रवात, कहिले पहिरो जस्ता अनेक कुरा सहेको छ, भोगेको छ । विश्वव्यापी रूपमा कहिलेकाहीँ देश विशेष, कहिलेकाहीँ ठाउँ विशेषमा प्रायः हामीले भोगेका छौँ तर ती कुरालाई फेरि पराजित गर्दै, तिनीहरूको सामना गर्दै मानव जाति अगाडि बढेको छ । यसपल्ट पनि हामी कोभिड–१९ को सामना गर्दै, यसलाई पराजित गरेर अगाडि बढ्ने छौँ । हामीले अझ उन्नतस्तरको ग्लोबल कन्सेप्ट, ग्लोबल कोअपरेसन, ग्लोबल फ्रेन्डसिपको कन्सेप्टका साथ अगाडि बढेर हाम्रो विकासको गतिलाई पनि तीव्रता दिनेछौँ ।

यस सन्दर्भमा देशको अर्थतन्त्रलाई माथि उठाउन उद्योग वाणिज्य महासङ्घले खेलेको भूमिका प्रशंसायोग्य छ । म उद्योग वाणिज्य महासङ्घलाई यहाँसम्म ल्याइपुर्याउने पूर्वअध्यक्षहरू लगायत योगदान गर्ने सबै साथीको प्रशंसा गर्न चाहन्छु । यस अवसरमा सबैलाई धन्यवाद भन्न चाहन्छु । उद्योग व्यवसायको सुरुवात त सरकारले भन्दा बढी निजी क्षेत्रले जब अवसर पायो, जब मौका पायो, उसले अगाडि बढाउने प्रयास गरेको छ । इनोभेटिभ कामहरू सरकारले भन्दा निजी क्षेत्रले गरेको छ । नयाँ नयाँ उद्योग, व्यवसाय, कारोबारका क्षेत्रहरू पत्ता लगाउने र ती क्षेत्रलाई अगाडि बढाउने काम पनि निजी क्षेत्रले गरेको छ । यसबीचमा उद्योग वाणिज्य महासङ्घले एउटा नयाँ कीर्तिमान पनि सफलताका साथ राखेको छ । त्यो हो महिला अध्यक्ष बनाएर । उहाँ सफलताका साथ कार्यकाल पूरा गर्न सक्ने क्षमतावान अध्यक्ष । उहाँलाई म सफलताका लागि बधाई भन्न चाहन्छु । उहाँले उद्योग वाणिज्य क्षेत्रलाई सफल नेतृत्व गर्नुभयो । उद्योग वाणिज्य महासङ्घको पहिलो महिला अध्यक्षको हैसियतमा काम गर्नुभयो । अरूभन्दा कम होइन, बरु अरूभन्दा बढी होला एक कदम बढी । यस प्रतिकूल अवस्थामा पनि नहडबडाइकन महासङ्घलाई अगाडि बढाउनुभयो । अब नेतृत्व हस्तान्तरणको एउटा नयाँ चरणमा ल्याइपुर्याएर यो ५४औँ वार्षिक साधारण सभाको आयोजना गर्नुभएको छ । वर्तमान कार्यसमितिमा रहनुभएका सबै साथीलाई पनि म धन्यवाद भन्न चाहन्छु । यस कार्यसमितिसँग सरकारको सहकार्य उत्साहजनक, सफल, समझदारीपूर्ण र सफल रह्यो । अप्ठ्यारो परिस्थितिमा समझदारीका लागि म साथीहरूलाई धन्यवाद भन्न चाहन्छु ।

हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने दिशामा हरेक क्षेत्रबाट अगाडि बढिरहेका छौँ । यसभन्दा लगत्तैअघि म सामाजिक सुरक्षाको क्षेत्रमा हामी कति काम गरिरहेका छौँ जस्तो प्रश्नमा सहभागी भइरहेको थिएँ र बोलिरहेको थिएँ । अर्थात उद्योग वाणिज्यको क्षेत्रमा होस, सामाजिक सुरक्षाको क्षेत्रमा होस, उन्नति प्रगतिको क्षेत्रमा होस अथवा सामाजिक उत्तरदायित्वको क्षेत्रमा होस् । सबलहरूलाई सबलता कायम राखेर अगाडि बढ्नुस् उद्यममा, व्यवसायमा अगाडि बढ्नुस भन्ने क्रममा हौसला दिने, साथ दिने, सहयोग पुर्याउने कुरामा होस अथवा अशक्त, असहायलाई सहयोग पुर्याउने कुरामा होस् सरकारको ध्यान त्यत्तिकै गएको छ । हामी जुन ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्दै छौँ, त्यसमा समृद्धि हासिल गर्नका लागि सर्वाधिक महत्वको क्षेत्र हो यो । हामीले आज कृषि क्षेत्रलाई पनि आधुनिकीकरण गर्न जरुरी छ, व्यावसायिकीकरण गर्न जरुरी छ, यान्त्रिकीकरण गर्न जरुरी छ । त्यसमा पनि औद्योगिकरण गर्न जरुरी छ । कृषिमा आधारित उद्योगहरू वा तत्सम्बन्धमा अन्य औद्योगिकीकरणका प्रयास जो अपरिहार्य क्षेत्र हो, आधारभूत क्षेत्र हो जीवनका लागि । त्यसमा रोजगारीका अवसर सिर्जना गर्ने, प्रविधिको प्रयोग गर्ने, उत्पादकत्व र उत्पादन वृद्धि गर्ने र त्यस क्षेत्रप्रति विश्वास जगाउनु जरुरी छ । यसमा पनि यहाँहरूले प्रेरित गर्न सक्नुहुनेछ । त्यससँग सम्बन्धित उद्यम, व्यवसाय पनि गर्न सक्नुहुन्छ ।

म यहाँहरूलाई फेरि पनि रोजगारीका अवसर सिर्जना गर्ने सन्दर्भमा त्यसैगरी उत्पादकत्व र उत्पादन वृद्धि गर्ने कुरामो ध्यान जाओस भने आग्रह गर्छु । यसैगरी इनोभेटिभ तरिका, विज्ञान–प्रविधिको प्रयोग र मोडर्नाइजेसनको दिशा समात्ने कुरामा पनि ध्यान पुगोस। यस दिशामा यहाँहरूको सजग, सचेत सङ्गठित प्रयास होस् भन्ने आग्रह गर्न चाहन्छु । अनि यहाँहरूको सफलता देशको सफलता हुनेछ । त्यसकारण यहाँहरूलाई सफल बनाउनु राज्यको कर्तव्य हो । राज्यको छनोटको कुरा हो । राज्यको खुसीको कुरा हो । सरकारले, प्रधानमन्त्रीले दलाल पुँजीवादलाई प्रश्रय दियो, नवउदारवादी पुँजीवादी बाटो लियो भन्ने अनेक प्रकारका भ्रमपूर्ण र उद्यमी व्यवसायीलाई विभाजित गर्ने तथा त्रसित बनाउने खालका अभिव्यक्ति तपाईंहरूले सुनेर केही दुविधा उत्पन्न पनि भएको हुन सक्छ ।

म तपाईंहरूलाई स्पष्ट पार्न चाहन्छु, सरकार उद्यमी व्यवसायीमा मेरो र तेरो, मेरो पक्ष र तेरो पक्ष, आफ्नो पक्ष र अर्को पक्ष सरकारका निम्ति त्यस्तो हुँदैन । सबै उद्यमी, सबै व्यवसायी ती सबै राष्ट्रका निम्ति काम गरिरहेका, राष्ट्रमा योगदान गरिरहेका, राष्ट्रका निम्ति उत्पादन गरिरहेका, राष्ट्रका निम्ति रोजगारी दिइरहेका, राष्ट्रका निम्ति कर तिरिरहेका राष्ट्रका साझा सम्पति हुन, समान छन् । राज्यको नजरमा सबै समान छन र राज्यले सबैलाई कानुनसम्मत ढङ्गले, यथोचित ढङ्गले संरक्षण प्रदान गर्छ, सुरक्षा दिन्छ । यति हो राज्यले आग्रह गर्छ कि तपाईंहरूको कारोबार स्वच्छ होस। कारोबारमा अनफेयरनेस नहोस, फेयर होस विजनेस । सरकारले डिमान्ड गर्ने यति हो । अब स्वच्छताका साथ अगाडि बढ्न सरकारले सबैलाई प्रेरित गर्छ । मन नपरेकालाई कम्प्याड, दलाल पुँजी, नवउदारवाद आदि कुराले विभिन्न विशेषण भिराएर आतङ्कित गर्नुपर्ने कुनै आवश्यकता छैन ।

आज हामी राष्ट्रिय पुँजीलाई अवश्य जोड दिन्छौँ । राष्ट्रिय उद्योगलाई जोड दिन्छौँ । राष्ट्रिय पुँजीपतिलाई जोड दिन्छौँ । भरसक बाह्य पुँजी हामीले हाम्रा उद्योगमा, हाम्रा विकासका काममा बाह्य पुँजी ल्याउनै नपरे हुन्थ्यो नि ! हाम्रै पुँजीपतिलाई त्यति सबल बनाउन पाएको भए अरू बाहिरकाले किन यहाँ आएर लगानी गर्छ ? हामीले हाम्रा पुँजीपतिलाई त्यसअनुसार सक्षम बनाउन नसकेर नै हो । लगानी गर्न सक्ने हैसियतमा उठाउन सकेनौँ । त्यस कारण नै हामीले बाह्य लगानी गर्न खोजेको होला । हामीले हाम्रैलाई सबल बनाउन सकेको भए बाहिरका खोज्नै पर्दैनथ्यो । आज हामी खोजीखोजीकन वैदेशिक लगानी आमन्त्रण गरिरहेका छौँ । किनभने हामीले हाम्रा उद्यमीलाई त्यस स्तरमा विकास गर्न सकेनौँ । त्यस कारण तपाईंहरू विकास हुनुस् । ठूला–ठूला आयोजनाहरूमा लगानी गर्न सक्नेगरी । पुँजी यहाँ कमाउने, बाहिर लगानी गर्ने तरिका नअपनाउनुस । यहीँ लगानी गर्ने तरिका अवलम्बलन गर्नुस् । सरकार त्यो चाहन्छ ।

हामी विदेशी पुँजी पनि आमन्त्रित गरिरहेका छौँ र विदेशी पुँजी आमन्त्रण गर्नका लागि अनेक प्रकारका सहुलियत सुविधाको घोषणा गरिरहेका छौँ भने हाम्रै उद्यमी व्यवसायीले यहाँको पुँजी बाहिर लगेर दुई/चार पैसा बढी कमाइन्छ भने पनि बाहिर लगेर लगानी गर्ने ती बाटो लिनु उचित होइन । देशप्रति माया गर्न सिकौँ । हाम्रोमा लगानीका अवसर सिद्धिएका छैनन् । हाम्रोमा त झन् अवसर छ । त्यस स्थितिमा हामी छौँ । हाम्रोमा श्रम बजार सस्तो छ । त्यस कारण पनि यहाँको उद्यम बढी मुनाफामा जान सक्छ । अन्यत्रभन्दा स्वच्छ गर्यो भने पनि तर हामी के–के प्रयोजनका लागि बाहिरतिर लगानीका स्थान खोज्छौँ भने त्यो सुल्टो बाटो होइन । म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, यहाँहरूलाई आवश्यक पर्ने सुविधा, सहुलियत, छुट कानुनबमोजिम जे दिन सकिन्छ, मिल्न सकिन्छ वा जे न्यायोचित हुन्छ, त्यो कानुन बदलेर पनि हामी उपलब्ध गराउँछौँ जे न्यायोचित छ । त्यस कारण तपाईंहरू यहाँ लगानी गर्नुस् । यहाँ रोजगारी सिर्जना गर्नुस्, यहाँ उत्पादन वृद्धि गर्नुस् अनि निर्यात गर्नुस् । बाँकी दुनियाँ त छँदैछ, हाम्रा छिमेकमा ठुल्ठूला बजार छन् । हामी निर्यात गर्न सक्छौँ । हामी उपभोक्ता देश भयौँ । डिपार्टमेन्ट स्टोरहरू छन्, हाम्रो उत्पादन केही पनि छैन । बाहिरका सामान ल्याउने हामी त उपभोक्ता मात्रै हौँ, उत्पादक होइनौँ । हामी उपभोक्ता त हौँ तर उत्पादक पनि बनौँ । उत्पादन गरौँ, उपभोग गरौँ र निर्यात गरौँ । ठूलो परिमाणमा उत्पादन गरौँ, निर्यात गरौँ । सरकार यस पक्षमा तपाईंहरूसँग सल्लाह गर्न र अगाडि बढ्न तयार छ ।

राज्यको नजरमा सबै समान छन र राज्यले सबैलाई कानुनसम्मत ढङ्गले, यथोचित ढङ्गले संरक्षण प्रदान गर्छ, सुरक्षा दिन्छ । यति हो राज्यले आग्रह गर्छ कि तपाईंहरूको कारोबार स्वच्छ होस। कारोबारमा अनफेयरनेस नहोस, फेयर होस विजनेस । सरकारले डिमान्ड गर्ने यति हो । अब स्वच्छताका साथ अगाडि बढ्न सरकारले सबैलाई प्रेरित गर्छ । मन नपरेकालाई कम्प्याड, दलाल पुँजी, नवउदारवाद आदि कुराले विभिन्न विशेषण भिराएर आतङ्कित गर्नुपर्ने कुनै आवश्यकता छैन ।

 

म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु, कसैले राजनीतिक खपतका लागि, मान्छे अलमल्याउनका लागि वा आफ्ना काँचा कार्यकर्ता वर्ग ल्याउनका लागि कुनै हिसाबले वा आफ्ना अतिवादी सोचहरूको प्रकटीकरण हुन सक्छ । यो लोकतान्त्रिक प्रणाली भएको देश हो । लोकतन्त्रमा मान्छेले जिम्मेवारीभन्दा स्वतन्त्रताको उपयोग गरिरहेका छन् । त्यसकारण यहाँ बोल्ने कुरा मान्छेले बोले भनेर पनि भ्रममा नपर्न र त्यसबापत चिन्ता नगर्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु । सरकार बहुत स्पष्ट छ, यी सबै मामलामा । विभेदबिना नेपालका उद्योग, व्यवसाय, व्यापार, सेवाका क्षेत्रहरू, पर्यटन वा अरू व्यवसाय सबैलाई साथ सहयोग दिन, सहकार्य गर्न सरकार तयार छ । त्यसका निम्ति के–के गर्नुपर्छ अघि नै मैले भनेँ, के–के गर्नुपर्छ भन्ने कुरा तपाईंहरूले पनि यस साधारण सभाबाट निष्कर्ष निकाल्नुस। सरकार यस कठिन अवस्थामा छ । कठिनाइ तपाईंहरूलाई पनि परेको छ, निजी क्षेत्रलाई पनि परेको छ । तपाईंहरूको सङ्गठनलाई पनि परेको छ, तपाईंहरू व्यक्ति–व्यक्तिलाई परेको छ । त्यसैगरी सरकारलाई पनि कठिनाइ परेको छ । यो कठिनाइ हामी मिलेर सामना गर्न सक्छौँ र गरौँ । दुनियाँ अगाडि बढ्न सक्ने हामी नसक्ने होइन ।

हामी अझ तीव्र ढङ्गले हाम्रो सिमान्त विकास भइसकेको स्थिति होइन । विकासका सम्भावना मात्रै बाँकी छन् हामीसँग । त्यसकारण हामी विकास गर्न सक्छौँ, तीव्र गतिका साथ विकास गर्न सक्छौँ । तसर्थ म साथीहरूलाई आग्रह गर्न चाहन्छु, कि हामी त्यसैअनुसार अगाडि बढौँ । अब आउने नेतृत्वलाई म शुभकामना भन्न चाहन्छु । तपाईंको नेतृत्वमा कार्यकाल चुनिनुभन्दा अगाडि नै थाहा छ, यो पोहोर परारदेखि थाहा छ, तपाईंहरूको विधानले नै भन्छ अबको अध्यक्ष को हो भनेर । तसर्थ म अग्रिम बधाई भन्न चाहन्छु । तपाईंको कार्यकाल सफल होस् धेरै–धेरै शुभकामना । तपाईंको कार्यकालमा एफएनसीसीआई र नेपाल सरकार अझ सघन ढङ्गले सहकार्यका साथ अगाडि बढ्ने छन् भन्ने विश्वास मैले लिएको छु । फेरि एक पटक म यो ५४औँ साधारण सभाको सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दै मलाई यो अवसर दिनुभयो, यसका निम्ति यहाँहरूलाई धन्यवाद दिँदै, उद्घोषिकालाई पनि धन्यवाद दिँदै आफ्नो भनाइ टुङ्ग्याउछु । धन्यवाद !

(उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारण सभाको समुद्घाटन समारोहमा २०७७ मङ्सिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधन ।)