डा प्रशान्त भारद्वाज
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै तीन दिनका लागि स्थगित भएको छ । बिनाएजेण्डा बैठक बसेकोले केन्द्रीय सदस्य तथा पूर्वसांस्द र राजदुत लामाको निधनमा शोक प्रस्ताव पारित गरी पुस १ गतेससम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि छलफल हुने कुनै कार्यसूची नभएकाले शोक प्रस्तावमा मात्र बैठक सिमित रह्यो । हाम्रो देशको संसद र मुख्य राजनीतिक पार्टीका शीर्ष बैठकमा चलाइएको परम्परा के हो भने, पार्टीका नेताहरूको निधन हुँदा शोक प्रस्ताव पारित गरेपछि सामान्यतया त्यस दिन अन्य एजेन्डामा छलफल हुँदैन र बैठक स्थगन गराइन्छ । यसैपनि शोक प्रस्तावमा छलफल गर्नुपर्ने विषय हुँदैनन्, निधन भएका व्यक्तित्वको परिवारमा समवेदना तथा दिवंगत आत्माको शान्तिको कामना गरिन्छ र बैठक सकिन्छ ।
आजको बैठकमा भने अनौठो भयो । कमानसिंह लामाको निधनमा प्रस्तुत शोक प्रस्तावमा छलफल गर्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता लामाको विषयमा नभएर पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रतिरक्षामा समय खर्चिनुभयो । बैठकमा अध्यक्ष प्रचण्डको भनाई थियो, ‘दिवंगत लामा र हाइड्रो पावरको शेयरको विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएकोले भ्रममा नपरौं । लामा र सम्बन्धित हाइड्रोको व्यक्तिलाई सँगै राखेर मैले पनि कुरा गरेको र बुझेको छु, त्यसो भएकाले फेरि पनि भ्रममा नपरौं भन्ने आग्रह गर्न चाहन्छु ।’
यसमा अनौठो कुराचाहिं चपाइएका चार वटा मूल विषय हुन् । पहिलो, नारायणकाजी र उहाँकी मित्र एवं स्वकीय सचिव सुसन कर्माचार्यले स्वर्गीय कमानसिंह लामाको साढे दुई करोड रुपैयाँ अपचलन गरेको विषय कुनै हल्ला वा अनावश्यक प्रचार नभएर स्वर्गीय लामाले जीवित हुँदादेखि नै बारम्बार उठाउँदै आउनुभएको हो । यसबारे विवाद मिलाउन आफैंसमेत प्रयास गर्नुभएको तथ्य पनि आजको बैठकमा स्वयं प्रचण्डले नै स्वीकार्नुभएको छ ।
दोस्रो, बैठकमा भनिएको जस्तो हल्ला वा प्रचार मात्र नभएर कमानसिंह लामा निकटको स्रोतले उपलब्ध गराएको भिडियोमा नारायणकाजीले प्रष्ट शब्दमा भन्नुभएको छ, ‘हामीले दिने पचास लाख मात्र हो, साढे दुई करोड होइन ।’ कमानसिंहको यसैमा विमति र विरोध देखिन्छ र उहाँले बारम्बार साढे दुई करोड ऋण आफूले लिएर सुसनको शेयरसमेतको रकम व्यहोरेको तर, सुसनबाट पैसा नपाएकाले आफू बैंकको ऋणमा डुबेको कुरा भिडियोमा स्पष्ट बताउनुभएको छ ।
तेस्रो, नारायणकाजीको कर्तुतलाई ढाकछोप गर्ने क्रममा याम्बालिङ हाइड्रोपावरको तर्फबाट निस्केको वक्तव्यमा नाम लुकाइएको उक्त हाइड्रोको अध्यक्ष र आजको बैठकमा प्रचण्डले नाम नलिई हाइड्रोको सम्बन्धित व्यक्ति भनी सम्बोधन गर्नुभएको अरु कसैलाई नभएर सुसन कर्माचार्यलाई नै हो । नारायणकाजीको सम्पूर्ण बैध÷अबैध आर्थिक व्यवस्थापन तथा पारिवारिक व्यवस्थापन पनि सुसनले नै गर्दै आएको स्पष्ट देखिन्छ । तसर्थ, आफ्नो निधन हुने बखतमा कमानसिंहले नारायणकाजी र सुसनमाथि लगाउनुभएको आरोप प्रचारवाजी मात्र थिएन, तथ्यमा आधारित थियो भन्ने पुष्टि हुन्छ । कमानसिंहले आफ्नी श्रीमती इन्द्रमायालाई पनि नारायणकाजी र सुसनसँग मिलेमतो गरेको आरोप लगाउनुभएको छ ।
अहिलेसम्म नाम नखुलाई सुसनले हस्ताक्षर गरेको याम्बालिङ हाइड्रोको विज्ञप्ति र इन्द्रमायाले निकालेको अर्को विज्ञप्तिलाई नारायणकाजीको प्रतिरक्षमा उपयोग गरिएको छ, जबकी उहाँहरू दुवै जना पहिलेदेखि नै कमानसिंहको विपक्षी हो भन्ने स्पष्टै छ । झगडाको दोषी पक्षले नै निकालेको व्यक्तव्यलाई आधार बनाएर दोषीलाई उन्मुक्ति दिनुपर्ने अनौठो तर्क नेकपाको बैठकमा आज सुन्नु परेको हो ।
चौथो, आर्थिक लेनदेनको विषय हाइड्रोको शेयरसँग सम्बन्धित थियो भन्ने यथार्थ हो । ऋण लिएर आफूले दर्ता गरेको याम्बालिङ हाइड्रोपावर कम्पनी कमानसिंहले आफैं अनुरोध गरेर आफ्ना निकटवर्ती नेता नारायणकाजीमार्फत उकास्न खोज्नुभएको देखिन्छ । जस अनुसार कम्पनी सुसनले सकार्ने र त्यसको शेयर मिलान गरेवापत साढे दुई करोड रुपैयाँ कमानसिंहले पाउने गरी भएको सहमतिविपरीत पचास लाख मात्र आफूहरूले दिनुपर्ने भन्ने नारायणकाजीको भनाई भिडियोमा प्रष्ट सुन्न र देख्न सकिन्छ ।
नारायणकाजी लेनदेन प्रकरणले सम्पूर्ण नेकपाको नेतृत्वलाई कठघरामा उभ्याएको छ । यत्रो ठूलो आर्थिक अनियमतिताको काण्ड उजागर भएसँगै नारायणकाजीले घरका भित्तामा लेखाएका सादगी र सदाचारका नारा नागरिकलाई झुक्याउन रहेछन् तथा उहाँहरूको वास्तविक काम आफ्नै सहकर्मीहरूलाई चेपुवामा पारी सम्पत्ति हडप्ने रहेछ भन्ने प्रस्ट भएको छ ।
नेकपाका प्रवक्ता समेत रहनुभएका नारायणकाजीको यस प्रकरणबारे छानविन गर्न नेकपा स्थायी समितिले कार्यदल बनाउनुपर्छ र छानविन पूरा नहुन्जेलसम्म पार्टी र संसदका क्रियाकलापमा सघाउन नारायणकाजीले आफ्ना सम्बन्धित जिम्मेवारीबाट अलग हुनुपर्छ । आम रुपमा उठेको आवाजलाई वेवास्ता गरिरहेमा नेकपा नामको विशाल जहाज व्यक्तिका यस्तै आचरणका कारण दुर्घटनाग्रस्त हुने खतरातर्फ पार्टी नेतृत्व र स्थायी समितिको तत्काल ध्यान जानुपर्छ ।
प्रतिक्रिया दिनुहोस्