जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १३:०६

युवामाझ ‘रोभर मुट’ले बढाएको स्काउटको लोकप्रियता


पोखरा ।

बालबालिका तथा युवा वर्गलाई शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो । २००९ सालमा यो स्थापना भएको संस्था हो । एक समय थियो, आपतविपत पर्दा यो संस्था अग्रणी भागमा उभिएर काम गर्ने गर्दथ्यो । तर, विगत केही वर्षदेखि यो संस्था मृत जस्तै अवस्थामा थियो ।

आफुलाई स्काउट भनेर चिनाउनेहरु कमै भेटिन्थ्ये । नेपाल प्राकृतिक विपत्तिको जोखिममा रहेको मुलुक पर्दछ । यहा भुकम्प, बाढी, पहिरो, डढेलो, हावाहुरी जस्ता प्राकृतिक विनासक विपत्ति गईरहन्छन् । पछिल्ला समय हुने यस्ता विपत्तिमा स्काउटको संलग्नता कमजोर हुदै गएको भान देखिन्थ्यो । तर, अब समय फेरिएको छ । एक पटक पुन स्काउट जुर्मुराएको छ । युवाहरुलाई स्काउटप्रति आकर्षित गर्ने लक्ष्यका साथ यो संस्था लागेको छ । स्काउट भनेकै सामाजिक कार्यमा सेवा पुर्याउने स्थापना भएको यसका राष्टिय संयोजक लोकबहादुर भण्डारीले बताउनु भयो । पछिल्लो समय उहा नेतृत्वमा आउनु भएपछि यसलाई चलायमान बनाउन विभिन्न कार्यक्रमको आयोजना गरिरहनु भएको छ ।

प्रदेश–१ को विराटनगर र गण्डकी प्रदेशको पोखरामा कार्यक्रम सम्पन्न भईसकेको छ । जसले गर्दा युवाहरु यसमा आकर्षित हुन थालेका छन् । पोखरामा भएको रोभर मुटमा भेटिएका १६ देखी २५ वर्षका युवायुवतिमा स्काउट प्रतिको क्रेज निक्कै थियो । उनिहरु सामाजिक कार्य गर्न आतुर देखिन्थ्ये । प्रायः युवाहरु मोजमस्तीमा डुब्ने प्रवृत्ति हुन्छ भनिन्छ तर, पाँच दिनसम्म पोखरामा भएको रोभरमुटमा भने बेग्लै दृश्य देखियो । सबै टेन्टमा बसेका थिए । सो समयमा दुई दिन जति निक्कै ठुलो पानी समेत पर्न गयो । तर उनिहरु अलिकति पनि विचलित देखिएनन् । बरु भन्दै थिए, यो त हामीलाई प्रयोगात्मक जस्तो भएको छ ।

जेठ १७ गतेबाट शुरु भएको ऐतिहासिक ‘रोभर मुट’ कार्यक्रम ‘समृद्धिका लागि सहकार्य’ भन्ने नारासहित नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले समुद्घाटन गर्नुभएको थियो । ७ प्रदेशका ७५३ स्थानीय तहका युवायुवतीहरुको सहभागिता रहने कार्यक्रम सफल बनाउन युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकमाको संयोजकत्वमा २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो ।

पाँच दिनसम्म चलेको कार्यक्रममा नेपालबाट ४ हजार ५ सय जना सहभागि हुनुका साथै भारत, ताइवान, बंगलादेश, फिलिपिन्स, जोर्डन, अमेरिका, बेलायत, मलेसिया, थाईल्याण्ड, इजिप्त, ताइवान, युगाण्डा, लग्जमवर्गलगायतका मुलुकहरुबाट ५ सय जना सहभागि भएका थिए । कार्यक्रममा रोप क्लाईम्बिङ, ओमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, ब्याम्बो वाल्क, टायर वाल, आर्चरी, साईक्लिङलगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो ।

यसका साथै करियर काउन्सिलिङ, प्यानल डिस्कसन, युथ फोरम लगायतका कार्यक्रमहरु पनि भएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । यस्ता कार्यक्रमले उनिहरुमा निखारपन ल्याउने र भविष्यमा आईपर्ने विपत्तमा परिचालन गर्न सकिने संयोजक भण्डारीले बताउनु भयो । स्काउटले अहिले प्रत्येक विद्यालयमा एक स्काउट शिक्षक राख्न माग समेत गरेको छ । सरकारले पनि प्रत्यक स्थानीय तहलाई स्काउट शिक्षासम्वन्धि ज्ञान दिन बजेट विनियोजन गर्न पत्र पठाईसकेको छ । जसले गर्दा आउदा दिनमा स्काउटको अपरिहार्यता युवाहरुले अझै बुझ्ने सानै उमेरदेखी सहयोगी भावना बढ्ने देखिन्छ ।