जनता टाइम्स

२३ माघ २०७७, शुक्रबार ०९:११

बुद्धिजीविले बुझ्नै नसकेको ओलीको यो क्षमता


टाउको टेकेर उभिएको हेगेलको प्रत्ययवादी वा अधिभौतिकवादी जीवनजगत सम्बन्धी चिन्तनलाई कार्लमाक्र्सले खुट्टाले टेकाएझैँ धर्म र धार्मिक धरोहर, सम्पदा र संस्कृतिजन्य विषयलाई पनि खुट्टाले टेकाउने बौद्धिक प्राज्ञिक चिन्तनको अभाव रहेको देखिन्छ । विरोध गर्न सजिलै छ, तर तथ्य, सत्य र वास्तकिताको कसीमा राखेर सही निष्कर्ष निकाल्न सजिलो छैन र हुँदैन

प्रा.डा. बद्रीविशाल पोखरेल

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बेलाबेला व्यक्त गर्नुभएका धार्मिक, सांस्कृतिक विषय, विचार, व्यक्तित्व र कृतित्वबारेका धारणामा अहिले देशमा मात्र होइन, विश्वस्तरमै व्यापक क्रिया प्रतिक्रिया आउने गरेको देखिन्छ । कहिले राम र अयोध्या, कहिले नेपाल नै वैदिक सनातन धर्म संस्कृतिको मूल केन्द्र हो भनेका कुरा, मन्त्रको पनि महामन्त्र गायत्री मन्त्र सुनसरी र उदयपुरको सीमामा वग्ने सप्तकोसी नदी तटमा सिर्जना भएको कुरा आदि चर्चामा रहे भने हालै पशुपति मन्दिरमा उहाँले गरेको संकल्प पूजा अझ चर्चाको शिखरमा रहेको पाइन्छ ।

विशेष गरेर अतिवादी र अहंवादी सोचका नकार मात्र प्रवाह गर्न आतुर केही बुद्धिजीवी, फेक र पेड मिडियाहरु ओलीको सांस्कृतिक सिर्जनात्मक चेत र चिन्तनप्रति आक्रामक रहेको देखिन्छ । तर तिनीहरु धर्म र संस्कृतिभित्र विद्यमान आदिम मानव सभ्यता र संस्कृतिबारे अनभिज्ञ देखिन्छन । यसको एउटै मूल कारण हालसम्म विद्यमान परम्परागत विगत शाषकको विचार, चिन्तन र संस्कृतिको पक्षधर हुनाले हो भने अर्कातिर माक्र्सवादलाई जडसूत्रवादी ढंगबाट मात्र हेर्नाको परिणाम पनि हो । यसैले कार्लमाक्र्सले नै कुनै पनि युगमा शासकका विचार प्रभावी हुन्छन र बुद्धिजीवीहरु पनि समयमै सचेत नहुँदा जानी नजानी त्यही विचारका वाहक बन्छन भन्नुभएको थियो ।

शरीर र वस्त्रमा लागेको मैलो त साबुनले धोएर जान्छ तर मनमा बसौँदेखि कटकटिएर दर्सन ढुङ्गा सरह जब्बर बनेर जमेर बसेको मयल सफा गर्न माओले झैँ हरदम र हरघडी अग्रगामी कला, साहित्य, शिक्षा, दर्शन, विचार, वाद विषयका बौद्धिक विषयमा लेखन, पठन, सिर्जन, श्रवण, मनन गर्नुपर्छ, तव मात्र मनको मयल विस्तारै घटाउन सकिन्छ । पूरै हटाउन त एक पुस्ता मात्र होइन अर्को पुस्ता पनि लाग्न सक्छ । त्यसैले माक्र्सवादी, लेनिनवादी, मालेमावादी वा आफूलाई अब्बल प्रगतिवादी वा प्रगतिशील विचार र सर्जक नेता र लेखकहरुमा पर्याप्त पछौटे चिन्तन पाइन्छ ।

प्रधानमन्त्री केपी ओली सर्वगुण सम्पन्न हुनुहुन्छ भन्ने होइन । उहाँलाई देवत्वकरण गर्ने कुरा पनि सही होइन र हुँदैन । तर ओली यो युगका बहुआयामिक विषय र क्षेत्रका सिर्जनात्मक महान क्षमता भएका व्यक्तित्व हुनुहन्छ भन्नेचाँहि तथ्य हो । ओलीले राम र अयोध्याको विषय उठानको उदेश्य परम्परागत अन्धविश्वासी धार्मिक चिन्तन र चेतसित कदापि सम्बन्धित छैन । तर अबूझहरु कम्युनिष्ट ओली एकातिर, प्रचार गर्छन अर्कै । ओली प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा ईश्वरको कसम खानु हुन्न तर अर्कातिर राम भगवानप्रति भक्तिभाव प्रकट गर्नुहुन्छ भनेर खिसीटिउरी गर्छन तर तिनले के बुझ्नुपर्छ भने ओली जीवन जगतको रचना राम आदि भगवानले गरेको हो भन्ने रुढीवादी मान्यताको पक्षधर हुनु भएकोचाहिँ किमार्थ होइन । उहाँका अनुसार हालसम्म भगवान मानिएका रामचन्द्र आदि सांस्कृतिक सम्पदा हुन र धरोहर हुन र उनीहरु मानवका एक पुर्खा हुन । कम्युनिष्ट मुलुक चीनले देशका धार्मिक सांस्कृतिक सम्पदाहरुको पर्याप्त संरक्षण गरेको देखिन्छ । हामीले २५ सय वर्षअघिका सिद्धार्थ गौतमलाई अहिले देवता मानिरहेका छौं र बुद्धलाई विष्णु भगवानका एघारौँ अवतार मानेको पनि देखिन्छ ।

विश्व ब्रम्हाण्डको उत्पत्तिका बारेमा सृष्टिवादी धरणालाई विकासवादी धारणाले खण्डित गरिसकेको छ । यसअनुसार जगत् प्रकृतिको लामो विकासको नतिजा हो । यसले जीवहरु भौतिक संसारकै परिवर्तन र विकासबाट उत्पत्ति भएको मान्छ । वैज्ञानिकहरु तथा इतिहासविदहरुले जीवन जगतको सृष्टि तथा मानव उत्पत्ति र विकासको समय समेत किटानी गरका छन । यस सम्बन्धमा पनि वैज्ञानिक खोजहरु प्रर्याप्त रुपमा भएका छन । ब्रम्हा, विष्णु, महेश्वरलगायत हामीले मानिआएका देवी द्यौताको समय र कालखण्ड निर्धारण गरेको देखिन्छ । वेद, उपनिषद, रामायण र महाभारतलगायत धार्मिक सांस्कृतिक ग्रन्थहरुको रचनाकाल समेतको खोज गरी निक्र्यौल गरिसकेको अवस्था छ । उपर्युक्त कतिपय धार्मिक सांस्कृतिक ग्रन्थहरु कवि कल्पनाको रङ्गले रङगाइएका भए पनि ती यथार्थ र वास्तविकताका धरातलमा आधारित रचना हुन । त्यसैले धार्मिक सांस्कृतिक ग्रन्थ रामायण र महाभारत आदि र तिनमा वर्णित देवी देवताका कथा किम्वदन्ती र काल्पनिक कृति मात्र होइनन । ती यथार्थ र वास्तविकतामा आधारित देखिन्छन ।

हामीले आराध्यदेव मानेका ब्रम्हा, विष्णु, महेश्वर, कृष्ण, दुर्गा, युमा, पारुहाङ आदि तमाम आदि पुर्खाहरु आआफ्ना कालखण्ड र सम्प्रदायका युग नायक हुन । भगवानलाई, ईशः स्वामी, शक्तिशाली, ईश्वर, शक्ति सम्पन्न, योग्य, समर्थ, शक्ति र व्यक्तिका रुपमा अथ्र्याएको पाइन्छ । प्रकृति र जगतलाई ज्ञानको स्रोत मान्ने सांख्यदर्शन हामीसित रहेको छ । चार्वाक जस्ता भौतिकवादी दार्शनिकहरु बौद्धिक तथा नवीन चिन्तकहरु उतिबेला पनि अन्धविश्वासका बारेमा बौद्धिक रुपमा द्वन्द्वरत थिए । उनीहरुले अध्यात्मवादी सृष्टिवादको खण्डन गर्दै आगो, बतास, पानी र पृथ्वी यी चार मूल र अनादि तत्व हुन भनेका छन् ।

उपर्युक्त ग्रन्थहरुमा तत्कालीन समाजको ज्ञानको र सूचनाको सीमितताका कारण जीवन जगत सम्बन्धी कतिपय अन्धविश्वास र रुढीग्रस्त धारणाहरु स्थापित र विकसित भएका हुन् । तर ती समय क्रममा खण्डित हुँदै गएका छन । भगवान मानेका चन्द्र सूर्य पृथ्वीका एक ग्रह हुन भन्ने धारणा स्थापित र विकसित हुँदैगएको छ । चन्द्र र चन्द्र ग्रहणका बारेका धार्मिक, आध्यात्मिक तथा रुढीग्रस्त धारणाहरु क्रमशः भत्किँदै छन । यस्ता विषयमा नवीन सोच र खोज गरेर सत्य उजागर गर्न छाडेर हाम्रा कतिपय ह्रस्व बुद्धिजीवीहरु बौद्धिक विलास र विग्रह गर्न उद्यत देखिन्छन ।

अब धर्म, अध्यात्म र देवी देवताबारेमा अन्ध धारणामा रुपान्तर गर्नु अपरिहार्य देखिन्छ । अध्यात्मलाई अब रुढीगत मान्यताका आवरणा मात्र राखेर हुेर्नुहुन्न । अध्यात्म भन्नाले वस्तु, पदार्थ र जीव र मानव जीवनमा अन्तरर्निहित, अन्तर जगत, सार, चुरो र अन्तर्य भनेर पनि अथ्र्याइनु पर्छ । प्राविधिक र वा पारिभाषिक रुपमा एउटै शब्दका विभिन्न र विशिष्ट अर्थ हुन्छन । त्यसैले परम्परागत धर्म, संस्कृति, संस्कार रीत र परम्परालाई पुनः परिभाषित, पुनःनिर्मित र सम्बर्धित गर्दै समयानुकूल बनाउनुपर्छ । धर्म र अध्यात्म भन्ने शब्द सुन्ने बित्तिकै तर्सिने र ततर्किने स्वभाव उग्रवादी अतिवादी सोचले त्यसभित्रका सकारात्मक तथा जीवनोपयोगी पक्षलाई देख्दैन । वेद, पुराण, उपनिषदलगायत धार्मिक सांस्कृतिक ग्रन्थहरुमा निहित अन्ध धारणाहरु मात्र बारबार हजार बार प्रवाहित गरियो । यसले गर्दा आम जनतामा मात्र होइन, बौद्धिक जगत्मा पनि यसको नकारात्मक प्रभाव प्रभावशाली हुनगयो । यसकारण कतिपय बौद्धिक र मिडिया सञ्चालकहरु जानेर वा नजानेर प्रधानमन्त्री ओलीको धर्म सम्बन्धी धारणाका बारेमा प्रायोजित प्रोपगण्डा गरिरहेको देखिन्छ ।

कम्युनिष्ट आन्दोलनमा उग्रवादी चिन्तन लामो समयसम्म प्रभावी रहेको प्रभाव स्वरुप पनि धेरैजसो कम्युनिष्ट, प्रगतिशील वा प्रगतिवादी नेता, चिन्तक तथा स्रष्टाहरु धर्म र संस्कृति सम्बन्धी अतिवादी धारणाबाट ग्रसित रहेका छन । यसले बुझाइमा जटिलता र गम्भीर समस्या उत्पन्न भएको देखिन्छ । धर्म र संस्कृति सम्बन्धी विषयमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण अनुसार गम्भीर विवेचना गरेर तिनमा निहित सकार र नकार छुट्याउने दृष्टिकोणको सर्वथा अभावमा रहेको पाइन्छ । त्यसैले बिरालो बाँध्ने संस्कारबाट बौद्धिक समाज पनि प्रभावित देखिएको छ । टाउको टेकेर उभिएको हेगेलको प्रत्ययवादी वा अधिभौतिकवादी जीवनजगत सम्बन्धी चिन्तनलाई कार्लमाक्र्सले खुट्टाले टेकाएझैँ धर्म र धार्मिक धरोहर, सम्पदा र संस्कृतिजन्य विषयलाई पनि खुट्टाले टेकाउने बौद्धिक प्राज्ञिक चिन्तनको अभाव रहेको देखिन्छ । विरोध गर्न सजिलै छ, तर तथ्य, सत्य र वास्तकिताको कसीमा राखेर सही निष्कर्ष निकाल्न सजिलो छैन र हुँदैन ।

वास्तवमा धर्म भनेको कुनै पनि वस्तु पदार्थमा निहित गुण, विशेषता र पहिचान हो । पानीको धर्म भिजाउनु, तिर्खा मेटनु, सिचाइ गर्नु र आगोको धर्म डढाउनु हो । धार्मिक पौराणिक ग्रन्थहरुमा धर्मका धेरै लक्षणहरु बताइएको पनि छ । धर्म भनेको केवल रुढीग्रस्त, अन्धविश्वासी र ढोँगी विषय मात्र होइन । यसको अर्थ आशय मनुस्मृतिमा निम्न अनुसार गरिएको देखिन्छ :
धृति, क्षमा, दमोस्तेयं शौचमिन्द्रियनिग्रहः
धीर्विद्या सत्यमक्रोधो दशकं पञ्च लक्षणम्
सुखदुःखमा एक नास रहनु वा धैर्य गर्नु, सहन गरेर समस्याको समाधान गर्नु वा क्षमा गर्नु, मनलाई आफ्नो बसमा राख्नु वा दमन गर्नु, अरुको हकमा हस्तक्षेप नगर्नु अस्तेय वा नचोर्नु,सत्यको पक्ष लिनु, नरिसाउनु वा रिसलाई नियन्त्रण गर्नु, शरीर शुद्ध राख्नु, इन्द्रीय निग्रह अर्थात आफ्ना इन्द्रीयहरु बसमा राख्नु जस्ता धर्मका दस लक्षण हुन भनिएको पाइन्छ ।

मानव समाजको हित, सेवा र उपकारका खातिर प्रकृति तथा प्राकृतिक सम्पदाहरुको धर्म वा गुणलाई आधार मानेर मानव जातिले धर्मको परिकल्पना,प्रारुप र विकास गरेको बुझिन्छ । हुन पनि मानवजस्तो उच्च, उन्नत, विचार र विवेकयुक्त प्राणीको धर्म वा गुण विशिष्ट हुनुपर्ने कुरा स्वतः सिद्ध देखिन्छ । हाम्रा अग्रज पुस्ताहरुले पनि प्रकृतिको धर्म वा गुणझैँ गुणयुक्त मानव समाजको परिकल्पना गरेको देखिन्छ । यसरी सुरु र विकसित धर्म, सम्प्रदाय र संस्कृतिका धर्म सम्बन्धी मान्यताहरु विकसित भएका हुन । यसरी उन्नत तथा उदात्त चेतनाको मानवले आफूलाई सामान्य पेटु प्राणी भन्दा पर्याप्त पृथक पहिचान बनाउन सामाजिक सेवालाई धर्मका रुपमा अवलम्बन गर्यो । यसैले व्यासले अठार पुराणको सार परोपकार पुण्य हो र परपीडन पाप वा अधर्म हो भन्ने निष्कर्ष उल्लेख गरेका हुन ।

उपर्युक्त नवीन सत्य, तथ्य र वास्तविकता हुँदाहुँदै पनि कतिपय विद्वानहरु ओलीको धर्म सम्बन्धी धारणका बारेमा ह्रस्व दृष्टि र दृष्टिकोण व्यक्त गरिरहेको देख्दा तिनप्रति दया लाग्छ । तिनले धर्म निरपेक्ष देशमा वैदिक सनातन वा हिन्दू धार्मिक मन्दिरमा प्रधानमन्त्रीले लाख बत्ती बाल्नु र पूजाआजा गर्नु नाजायज ठहर गरेका छन । ओलीले, पशुपति मन्दिर संकल्प पूजा गरेकोलाई क्षमा पूजा गरेको देखेछन । प्रधानमन्त्रीले विश्व शान्ति र नेपालको समृद्धिको कामना गरेर दीप प्रज्वलन गरेको विषयलाई उल्टा व्याख्या गरेको पनि पाइयो । हुन त केही प्रगतिशील भनिने प्राज्ञ र वरिष्ठ लेखकसमेत डा.मोदनाथ प्रश्रितको योग ध्यान सम्बन्धी कृतिको विमोचन समारोहमा उक्त रचनालाई धार्मिक कृति भनेर कटाक्ष गर्छन । परम्परागत सोच र उग्रवादी समझका कारण धेरैजसो बुद्धिजीवीको ह्रस्व सोच घातक देखिन्छ ।

तिनीहरुमा ज्ञान विज्ञानको खोज, प्रवर्धन, प्रवर्तन, पुनर्लेखन र पुनरचना गर्ने भन्ने समझको अभाव देखिन्छ । प्रधानमन्त्री ओलीलाई त्यस्ता बुद्धिजीवीले अमाक्र्सवादी, पुनरुत्थानवादी खुसी पार्ने, जनतामा अलौकिक मिथ्या चेतनावादी अध्यात्मवादको यात्रा गराउने, इश्वरीय उपासना गरेर अपराधबाट मुक्त हुन्छ भन्ने भावना जगाउने संघीयता विरोधीलाई उपस्थितिका लागि गरिएको हार्दिक आमन्त्रण जस्ता भद्दा आरोप लगाएको पाइन्छ । सबै धर्म र संस्कृतिभित्र विद्यमान मानवतावादी र जीवनोपयोगी अनेक स्वस्थ धार्मिक तथा सांस्कृतिक पक्षहरुलाई ओझेल पारेर आम जनतालाई भ्रमित पारिएको छ ।

भाग्यवादको अहोरात्र भाष्य, भजन र कीर्तन गरिन्छ, गराइन्छ तर त्यहीँ आलश्यं हि मनुष्याणाम् शरीरस्थो महान् रिपुः अर्थात् अल्छेपन नै मानिसको सबैभन्दा ठूलो शत्रु हो भन्ने जस्ता अनेक श्रुति, उक्ति र सन्दर्भको चर्चा नै गरिँदैन । त्यसैले यस्ता विषयमा कलात्मक हस्तक्षेप गरी धार्मिक सांस्कृतिक विषयमा समयका सत्य, तथ्य र वास्तविकता उजागर गर्दै तिनमा अन्तर्निहित अन्धवादी सार तत्वलाई रुपान्तरण गर्ने प्रधानमन्त्री ओलीको धार्मिक र सांस्कृतिक धारणा नबुझ्नु बुद्धिजीवीको ह्रस्व दृष्टि र दृष्टिकोण हो ।