काठमाडौं, बैशाख ३१ । नेकपा माओवादी केन्द्रका चर्चित नेताबिरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले कालिकोटको माओवादी नेता तथा पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्ष, इन्जिनियर, सबइन्जिनियरदेखि उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको छ । आयोगले गाउँपालिका तत्कालीन अध्यक्ष र उपाध्यक्ष सहित १० जनाले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
कर्णालीको फेरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाउँपालिका लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपाने, निमित्त प्रशासकीय अधिकृत राजकुमार बम, ९ नम्बर वडाका वडाध्यक्ष टंकबहादुर बमबिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरिएको हो । यस्तै इन्जिनियर खडानन्द रिजाल, सब इन्जिनियर विनोदकुमार बम, तत्कालीन सहलेखापाल नन्दबहादुर शाही, कर्णाली फेरी निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरजीत रोकाय सचिव अंग रोकाय र कोषाध्यक्ष पदशीना बम सहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कालिकोटको पलाता गाउँपालिका वडा नं ९ र पचाल झरना गाउँपालिका बीचमा पर्ने घाटाचौर थिर्पु भन्ने ठाउँमा कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणको लागि बजेट आएकोमा काम पूरा नगरी उक्त बजेट अनियमितता गरेको उजुरी परेको थियो ।
सो उजुरीमाथि अनुसन्धानको क्रममा पलाता गाउँपालिकालाई आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेश सरकारबाट फेरी निर्माण वापत प्राप्त भएको रकम मध्ये ७५ लाख ५६ हजार ९सय लागत अनुमान तयार गरी उपभोक्ता समितिसँग सम्झौता भई कार्य गर्दा उक्त कार्य सम्पन्न नगरी सम्पन्न भएको देखाएको, विनियोजित बजेट अनुसारको कार्य सम्पन्न नै नभएको अवस्थामा झुट्टा विल भरपाई तयार गरेको पाइएको थियो ।
सार्वजनिक संस्थालाई हानि पुर्याउने बदनियतले मनासिव कारण बिना निर्माण कार्य नै नगरेको, निर्धारित शर्त तथा मापदण्ड विपरीत कार्य गरे गराएको, नभए नगरेको काम भए गरेको भनी झुट्ठा विल, भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई २५, लाख ५२ हजार ५३ उपभोक्ता समितिलाई भुक्तानी लिने दिने कार्य गरी उपभोक्ता समितिका पदाधिकारीलाई गैरकानूनी लाभ पुर्याउने र गाउँपालिकालाई हानिनोक्सानी पुर्याएको पुष्टि भएको अख्तियार प्रवक्ता पौडेलको भनाई छ ।अभियक्तहरुलाई मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्