यो भनाइ अतिरञ्जित लाग्ला, तर सारीले गर्दा महिला पछि परिरहेका छन् । कल्पना गर्नुस, भोली महिलामुक्तिको लागि युद्ध भयो रे, महिलाले सारीको मुजा समाउने कि बन्दुक ?
जस्मीन ओझा ‘गिताञ्जली’
नारीलाई सारीले बेरुन्जेल महिलामुक्ति सम्भव छैन । महिलाहरू कोमल, मुलायम र कमजोर हुन्छन् भन्ने देखाउनकै लागि महिलालाई सारीले बेरेर राखेको भन्दा अत्युक्ति नहोला । परापूर्व कालदेखि हालसम्म र अमेरिकादेखि नेपालसम्म महिलाले लगाउने पहिरनले नै पुरुषभन्दा महिला कमजोर हुन्छन भन्ने देखाउन खोजिएको देखिन्छ । यसका लागि मैले पेश गर्ने दलिल तल क्रमश: राख्नेछु
तीजलगायतका हिन्दू धर्ममा आधारित चाडपर्वमा सारी लगाएका महिला यत्रतत्र देखिन्छन । तिजमा प्राय महिलाले रातो सारी लगाउने गर्छन। रातो सारी, रातो चोलो, रातो पोते, रातै चुरामा सजिएका महिलाहरुले यावत माहोललाई राताम्य बनाइदिएका हुन्छन । रातो एउटा ‘बोल्ड’, ध्यान प्राप्त गर्ने रंग हो । त्यसैले तीजको दिन राताम्य परिदृष्यले महिलाहरुलाई आफ्ना दुःख, पीडाबाट क्षणिकरुपमा भए पनि छुटकारा दिएर मनोवैज्ञानिक राहत प्रदान गर्छ र जीवनमा आशावादी हुन प्रेरणा मिल्छ ।
मनोविज्ञानका आधारमा हेर्ने हो भने विभिन्न रंगले व्यक्तिलाई फरक–फरक प्रभाव पार्दछन् ।
कुनै रंगले हाम्रो मुड अन गरिदिन सक्छन् भने कुनै रंगले नैराश्यता जगाउन सक्छन् । रंगको प्रभाव व्यक्तिविशेषमा फरक हुन्छ, जसलाई तपाईको आफ्नै अनुभव वा परम्परागत मान्यताले धेरै हदसम्म निर्देशित गरेका हुन्छन् । उदाहरणका लागि सेतो रंगलाई धेरै पश्चिमी देशहरूमा शुद्धता र निर्दोषताको प्रतिक मानिन्छ भने पूर्वी देशहरूमा यसले शोकलाई दर्शाउँछ । हिन्दू धर्ममा विवाहित महिलाको सौभाग्यको प्रतिक मानिने सिन्दुरको रंग रातो हुन्छ । चुरापोते र सारी पनि प्रायः रातो रंगका नै हुन्छन् । हिन्दू धर्ममा रातो रंगको आफ्नै महत्व छ भने मनोवैज्ञानिक पाटोबाट पनि यो रंगको आफ्ना विशेषता छन ।
जहाँसम्म सारीको सवाल छ, यसको रंगबारे धेरै टाउको दुखाइरहनु परेन । तर, ढाँचाबारे चाहिँ पक्कै बहस गर्न सकिन्छ । गर्नैपर्छ । सबैभन्दा पहिलो सवाल– के सारी महिलाको लागि सुरक्षित पोशाक हो ? के महिलाको यौनिकतालाई यसले रक्षा गर्न सक्छ ? उत्तर हो– सक्दैन । सुन्दा अप्रिय लागे पनि सत्य यही हो । महिलाको यौनाङ्गमा पुरुषको अवाञ्छित पहुँचलाई रोक्ने हिसाबले भन्नुपर्दा सारी सबैभन्दा असुरक्षित पोशाक हो । बलात्कार लगायतका घटना बढिरहेका छन। महिलाले मिनिस्कर्टजस्ता छोटा र भड्किला पोशाक लगाएकाले बलत्कार बढेको भन्ने विद्वानहरु पनि हाम्रै वरिपरी हुनुहुन्छ । तर, उहाँहरुले यो कहिल्यै सोच्नु भएन कि यौनिकताका हिसाबले मिनिस्कर्टभन्दा सारी बढि उत्तेजक लाग्छ । अनि, अरु कुनै पनि पोशाक लगाएकी युवतीलाई भन्दा सारी लगाएकी युवतीलाई जबरजस्ति गर्न बलत्कारीलाई सहुलियत हुन्छ ।
तपाईंलाई महाभारत कथाको एउटा सन्दर्भ पक्कै थाहा होला । एकपटक फेरि स्मरण गराउन चाहन्छु । जब युधिष्ठिरले द्रौपदीलाई दुर्योधनसँग जुवामा हारे, त्यसपछि भारदारी सभामा द्रौपदीलाई झिकाइयो । त्यसबेला उनी रजश्वला भएकी थिइन। दुर्योधनका भाई दुशासनले भारदारी सभाभित्रै द्रौपदीको चिरहरुण प्रयास गरे । उनले द्रौपदीको सारी तानेर उनलाई नंग्याउने भगिरथ प्रयास गरे । तर, भगवान श्रीकृष्णले अदृष्य शक्तिमार्फत द्रौपदीलाई नग्न हुनबाट जोगाएको कथा महाभारतमा पढ्न सकिन्छ ।
महाभारतमा त भगवानले द्रौपदीको सतित्व रक्षा गरे । तर, यो कलीमा कुनै महिलामाथि त्यही विपत्ति आइपर्यो भने कुन भगवानले आएर बचाउलान ? चलचित्रमा जस्तै बलिष्ट शरिर भएको ‘हिरो’ उड्दै आएर बलत्कारीको रामधुलाई गर्न पनि सम्भव छैन । तसर्थ, सारी लगाए एक्लै बाहिरफेर हिँड्ने महिलालाई कुनै पनि मोडमा विपत्ति आइलाग्न सक्छ । अरु पोशाक लगाउँदा सुरक्षित हुन्छिन् भन्ने होइन, तर सारीमा उनले आफ्नो प्रतिरक्षा गर्ने सुविधा कम पाउँछिन् । अहिले धेरै महिलाहरु टाईट ब्लाउज लगाउने गर्छन् । धेरैजसोमा पछाडिको भाग ह्वाङ्गै हुन्छ । साथै, अगाडिको भागमा पनि छातिको ‘सेप’ प्रष्टै देखिन्छ । चोलोको पछाडिपट्टि दुईवटा खिपले मात्रै जोडिएको हुन्छ, जुन आफैंमा जोमिख स्थिति हो । त्यसैले महिलाको शरीरको माथिल्लो भागलाई चोलोले रक्षा गर्न सक्दैन ।
केही समयअघि मलाई एउटा पुरूष मित्रले भन्यो, ‘सारीमा तिमी लास्ट सेक्सी देखिन्छौ यार ।’ मैले उसलाई किन भनेर कौतुहलता व्यक्त गरिनँ । यस्तो प्रतिक्रिया दिने उm पहिलो पुरुष पनि थिएन । ‘सेक्सी’ लाई गलत अर्थमा लिएर उनीहरुलाई झम्टिहाल्ने कुरा पनि आउँदैन । तर, पुरुषहरुले किन सारीमा महिलालाई सेक्सी देख्छन त भन्ने प्रश्नमा विवेचना चाहिँ हुनुपर्छ ।
वास्तवमा सारीचोलो लगाउँदा महिला जति सुसंस्कृत देखिए पनि यसले उनका संवेदनशील अंगहरुमाथि न्याय भने गरिरहेको हुँदैन । शरीर आधा छोपेजस्तो, आधा देखिएजस्तो लाग्छ । आजकाल महिलाले लगाउने वान पिस पहिरनलाई सारीसँग तुलना गर्न सकिन्छ । हुन त सौन्दर्यशास्त्रअनुसार आजकाल महिलाले आफ्नो पहिरनको छनोट गर्दा धेरै कुराहरुमा विचार पुर्याउँछन। बजारको ट्रेन्ड के छ? आफ्नो फिगर कम्बिनेसनमा के सुहाउँछ ? कुन समय र अवसर हो आदि । अझै, सम्भ्रान्त वर्गका महिलाहरू त आफूलाई फरक देखाउन विशेषरुपमा डिजाइन गरिएका लुगा लगाउने गर्छन। पहिलेजस्तो ‘मेरो फिगर मिलेको छैन’ भनेर खुम्चिएर बस्ने होइन कि आफ्नो फिगरलाई सुट गर्ने खालका पहिरन डिजाइन गर्ने क्रम बढिरहेको छ । त्यसैले तीज, दसैं वा विवाहका लागि बुटिकमै गएर पहिरन तयार गराउने महिलाहरू बढ्दैछन् । तर यसरी पहिरन तयार गर्ने क्रममा शरीरलाई ढाक्ने भन्दा देखाउनेमा उनीहरुको ध्यान केन्द्रित हुन्छ । यो चाहिँ चिन्ताको विषय हो ।
समाजमा व्यक्तिहरुको भिन्न–भिन्न समूह हुन्छन् । जन्मलिए पश्चात समाजले उनीहरुको लिंग मात्र नछुट्यााएर काम, कर्तव्य, सामाजिक वर्ग र विज्ञानहरू पनि छुट्याईदिन्छ । उदाहरणको लागि, एउटा नारी भएर गर्नुपर्ने भुमिका र पुरूष भएर निभाउनु पर्ने काम, कर्तव्यहरु लिंगको आधारमा विभाजन गर्न खोजिन्छ । एवं रितले सारीको सामाजिक र वर्ग विज्ञान विवाहसँग जोडिन पुग्छ । विवाह गर्न चाहना भएका, विवाह गरेका र विवाह गर्ने उमेर पुगेका नारीले सारी लगाउनैपर्छ भन्ने मान्यता छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार आ.व २०७५/७६ मा नेपालमा करिब ३२ करोड रूपियाँ बराबरको टीका, चुरा र पोतेको आयात भएको थियो । अघिल्लो आव २०७६÷७७ मा करिब २८ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार तथ्याङ्कले देखाउँछ । यी वस्तुहरुको सबैभन्दा बढी खपत तिजमा हुने गरेका छ भने विवाहको सिजनमा पनि आयात उकासिन्छ । हरेक तीजमा नयाँ सारी लगाउनै पर्ने, अरूको देखासेखीमा हिँड्नुपर्ने मनोविज्ञानका कारण एकप्रकारको प्रतिस्पर्धा नै चल्छ । यसले आर्थिकरुपमा कमजोर वर्गका महिलालाई ठूलो प्रभाव परेको छ । अरु लुगाभन्दा सारी महंगो पर्छ । सामान्य स्तरको सारीलाई पनि १० हजार रुपैयाँ तिनुपर्ने अवस्था छ । सारी मात्रै भएर पनि भएन, त्यससँग म्याच गर्ने गरगहना र सौन्दर्य सामग्रीहरु पनि त चाहियो । यसले गर्दा निम्न र मध्यमवर्गीय महिलाहरु दवावमा परिहेका छन् ।
सारी लगाएकी महिला हेर्दा पक्कै सुन्दर देखिन्छिन् । उनको सौन्दर्यको उच्चतमरुप प्रकट हुन्छ । समाजले ‘भव्य’ मान्ने खालको व्यक्तित्व निर्माण हुन्छ । तर, सारीमा सजिन महिलालाई पटक्कै सहज छैन । धेरै युवतीहरुले राम्ररी लगाउन जान्दैन । सारी बेर्नकै लागि महिलाले घन्टौं समय खर्चिनुपर्ने हुन्छ । अनि आफूभन्दा पाँच गुणा लामो पहिरनलाई स्याहार्न पनि कम्ता सकस हुन्न । यसको मुज्जा मिलाउनु सबैभन्दा कष्टप्रद कुरा हो । जसले लगाउन जान्यो ऊ पक्कै सुन्दर देखिन्छ । तर, सारीकै कारण महिलाको रफ्तार पुरुषभन्दा कम भइरहेको छ । यो भनाइ अतिरञ्जित लाग्ला, तर सारीले गर्दा महिला पछि परिरहेका छन् । कल्पना गर्नुस, भोली महिलामुक्तिको लागि युद्ध भयो रे, महिलाले सारीको मुजा समाउने कि बन्दुक ?
२१ औ शताब्दीमा विश्वले नारी–पुरुषलाई समानताको अधिकार दिएको छ । तर, नेपालजस्तो देशमा भने रूढीवादी र पुरातनवादी सोच अहिले पनि हावी छ । नेपालको तथ्याड्ढ अनुसार ५१.५ प्रतिशत जनसंख्या ओगटेको नारीहरू अहिले पनि ज्यादै सकसमा बाँच्न विवश छन् । केही नारीले समानता र अधिकार पाए भन्दैमा रमाइहाल्ने स्थिति छैन् । अहिले पनि महिला दिदीबहिनीका दुःख, पीडा, वेदना र मर्मलाई उजागर गर्न निकै कसरत गर्नुपर्ने अवस्था रहेको छ । गाउँमा मात्र होइन शहरमा समे महिला भएकै कारण कतिपय कुराबाट बन्चित हुनु एउटा दुःखदायी परिस्थिति हो ।
दोहोर्याएर भन्छु, सारी लगाएकैले महिला पुरूषको रफतारमा हिँडन सकेनन। यसले सामाजिक, आर्थिक, राजनीतिक एवं समाजका सबै पक्षहरूमा महिलालाई पछाडि धकेलियो । त्यसर्थ अब रफतार बढाउनका लागि नेपाली महिलाहरुले सारीको सप्कोबाट बाहिर निस्कनैपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्