२५ जेष्ठ २०७६, शनिबार ००:००

कृषिले फेरियो कृषको जीवन : एउटै वडाले भित्र्यायो एकै बर्ष चार करोड


तारानाथ आचार्य/बलेवा

बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँका किसानले चालू आर्थिक वर्षमा कृषिजन्य उत्पादन बिक्री गरेर झण्डै चार करोड गाउँ भित्र्याएका छन् । दूध, सुन्तला, उखु, अदुवा, पलम, बाख्रालगायत कृषिजन्य उत्पादनको बिक्रीबाट चालू आर्थिक बर्षमा मात्रै तीन करोड ८० लाखभन्दा धेरै रकम गाउँ भित्रिएको हो ।

बिहुँबाट चालू आवमा एक करोड ५० लाख, ३० हजार २२५ सुन्तला, एक करोड ३५ लाख ९० हजार २०० दूध, आठ लाख ९५ हजार केरा, ७५ हजार ३५० अम्बा, तीन लाख ९० हजारका खसिबोका, पाँच लाख २० हजार १५० कुखुरा र अन्य घुसुवा तथा नगदे बालीको बिक्रीबाट उक्त रकम गाउँ भित्रिएको हो । काठेखोला–६ बीउका शिवलाल कँडेलले चालु आर्थिक बर्षमा मात्रै १ लाख २० हजरा रुपैयाँको कृषिजन्य उत्पादन बिक्री गर्नुभयो । ७० हजार रुपैयाँको दुध, ३० हजार सुन्तला र १० हजार उखु बिक्री गरेर कँडेलले सो रकम कमाउनु भएको हो ।

उहाँ जस्तै घरछेउको बारीमा सुन्तलाको खेती गरेका सयौं किसान बिहुँमा छन् । उनीहरुले आम्दानीको मुख्य स्रोत कृषिजन्य उत्पादनलाई नै लिने गरेका छन् । ‘एउटा भैंसी पालेको छु, ७०/८० वटा सुन्तलाका रुख छन,’ कँडेलले भन्नुभयोे, ‘दूध र फलफुल बेचेर घर खर्च चलाएको छु ।’ बिहुँका किसानले अत्यावश्यक सामग्री बजारबाट ल्याउँदा त्योभन्दा धेरै कृषिजन्य उत्पादन बजार पठाउने गरेको उहाँले बताउनु भयो ।बिहुँबाट दूध तथा दुग्धजन्य उत्पादनको बिक्री वितरण र सुन्तलाको बिक्री धेरै हुने गरेको छ । भरिभराउ देखिने बिहुँका बारीमा फलेको सुन्तलाले गाउँमा करोडौँ रकम भित्र्याएको वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । बिहुँका किसानले कुनै न कुनै रुपमा कृषिजन्य उत्पादनको बिक्री वितरण गरेर घर खर्च चलाउने गरेका छन् । व्यावसायिक रुपमा उत्पादन गर्नेले राम्रो आम्दानी गर्ने गरेको र निर्वाहमुखी खेती गरेकाहरुले पनि घरखर्चको लागि कृषिजन्य उत्पादनकै भर गर्ने गरेको कँडेलले बताउनुभयो ।

वडा कार्यालयले यहाँका किसानलाई चार तहमा विभाजन गरेर स्तरीकरण गरेको छ । वडा कार्यालयको तथ्यांकअनुसार व्यवसाय उन्मुख, सिमान्तकृत, निर्वाहमुखी र सोखको लागि कृषि पेशा गर्ने किसान बिहुँमा छन् । वडा कार्यालयले गरेको सर्वेक्षणमा यहाँका ४७६ परिवार कृषि पेशामा आबद्ध रहेका छन । उनीहरुमध्ये अधिकांशले निर्वाहमुखी कृषि पेशा गर्ने गरेको तथ्यांक छ । ‘बिहुँका हरेक किसानको बारीमा सुन्तला छन्, भैँसी पालेकाले दूध बिक्री गरेकै हुन्छन,’ वडाध्यक्ष कँडेलले भन्नुभयो, ‘कतै समूहमा त कतै सहकारी संस्थामा आबद्ध भएर यहाँका किसानले कृषिजन्य उत्पादनबाट आम्दानी लिन्छन ।’

बिहुँमा स्थापना भएको नमूना दुग्ध उत्पादक सहकारी संस्था र मिलीजुली दुग्ध उत्पादक सहकारी संस्थाले किसानको दुग्ध संकलनदेखि बजारीकरणको काम गर्ने गरेका छन् । सहकारीमार्फत दुग्धको कारोवार गर्दा बिक्रीका लागि बजार पुर्याउनुपर्ने झण्झट नै आम्दानी गर्न सकिने किसान कँडेल बताउनु हुन्छ ।

बिहुँबाट वर्षेनी करोडौं रुपैयाँको कृषिजन्य उत्पादन बिक्री हुने गरेको भए पनि त्यसको व्यवस्थापन गर्न नसक्दा व्यावसायिक नबनेको भन्दै वडा कार्यालयले कृषकहरुको स्तरीकरण गरेको हो । ‘हामीले उत्पादन गरेर बिक्री भइरहेको कुरामा समस्या छैन, यसैलाई व्यावसायिक उत्पादनसँग जोड्न खोजेका छौं,’ वडाध्यक्ष कँडेलले भन्नुभयो, ‘सोखका लागि खेतीपाती गर्नेहरुलाई पनि राम्रो आम्दानीको स्रोतका रुपमा कृषिलाई अवलम्बन गर्ने बनाउन स्तरीकरण गरेका हौँ ।’

बिहुँमा उत्पादन भएको दूध, फलफुल तथा तरकारीहरु बागलुङ बजारमा बिक्री हुने गरेका छन् । मध्य पहाडी लोकमार्गले यातायातमा सहजता बनाएकाले बजारीकरणमा कुनै समस्या नरहेको किसानहरु बताउँछन् । सुन्तला उत्पादनको हिसाबले विशेष क्षेत्र मानिने बिहुँमा व्यावसायिक मौरीपालन र अलैंची खेतीको समेत शुरुआत गरिएको छ ।

मुख्य क्षेत्रमै घट्यो आलु उत्पादन

आलुको मुख्य क्षेत्र ताराखोलामा यस वर्ष आलुको उत्पादन घटेको छ । हिउँदमा भएको निरन्तर वर्षा, असिना र विभिन्न रोगका कारण आलुको उत्पादन घटेको हो । गत वर्ष झण्डै ४० हजार टन आलु उत्पादन भएको ताराखोलामा यस वर्ष लगाएको बीउसमेत पु¥याउन कठिन भएको किसानले बताएका छन् ।

ताराखोलामा प्रतिकिसानले हरेक वर्ष १५ देखि ९० क्वीन्टलसम्म आलुको उत्पादन गर्दै आएका थिए । यो वर्ष भने चार÷पाँच क्वीन्टलसमेत नपुगेको किसानको गुनासो छ । आलुको बिरुवा हुर्किने बेलामा परेको असिना र पानीले उत्पादन घटेको ताराखोला गाउँपालिका–५ करिमेलाकी नन्दी घर्तीले बताउनुभयो । बजारमा यहाँको आलुको माग राम्रो रहेकाले किसानले व्यावसायिक रुपले आलुको खेती गर्दै आएका थिए । गत वर्ष एक रोपनी जमीनमा तीन क्वीन्टल आलु फलाउनु भएकी घर्तीले यो वर्ष थप जमीनमा आलु लगाउनुभएको थियो ।

उत्पादन बढेर बजार पठाउनुको साटो बीउ पनि उठाउन कठिन भएको उहाँले बताउनुभयो । ‘अर्को वर्षलाई बीउ पनि किन्न पर्ने हो,’ उहाँले भन्नुभयो, ‘केही आम्दानी होला भनेको त आलु उत्पादन नै घटेर पो गयो ।’ यहाँका किसानले आलुकै भरमा घर चलाउने गरेका थिए । छोराछोरी पढाउनेदेखि औषधि उपचार खर्च जुटाउने माध्यम पनि आलु नै हो । खानका लागि स्वादिलो भएकाले बागलुङ बजार लगायत देशका ठूला शहरमा ताराखोलाको आलुको चर्चा छ ।

‘हाम्रो गाउँपालिकाको मुख्य बाली नै आलु हो,’ गाउँपालिकाका उपाध्यक्ष डिलकुमारी पुनले भन्नुभयो, ‘हातमुख जोर्ने खेती नै मासिएपछि किसानहरु समस्यामा परेका छन् ।’ ताराखोलाको तारा, करिमेला, लामुवा, अर्गल, धप्ल्याङ र रानीबाँस लगायतका गाउँहरु आलुकै परिचयले चिनिने गरेका छन् । हिउँदेबाली आलु मासिएपछि गाउँपालिकाले भने किसानलाई राहतका लागि तथ्यांक संकलनको काम थालेको छ । ‘हामीसँग दैविक प्रकोप व्यवस्थापन शीर्षकमा रहेको केही रकमबाट राहत उपलब्ध गराउने सोचेका छौं,’ गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयोे, ‘अहिले किसानको क्षतिको विवरण संकलनको काम भइरहेको छ ।’

यहाँको आलु नेपालका ठूला शहर पोखरा, काठमाडौं, बुटवललगायतका ठूला रेष्टुरेण्टका चुल्होमा पाक्ने गरेको छ । यो वर्ष असिना पानीले पु¥याएको क्षतिपछि गाउँपालिकाले आलुको बीमा गर्ने योजना बनाएको छ । ‘यो वर्ष तत्कालका लागि हामीले हुन सक्ने राहत दिन्छौँ र बीउको जोहो गर्न भन्छौं,’ अध्यक्ष घर्तीले भन्नुभयो, ‘अर्को वर्ष सबै बारीको आलुको बीमा गर्ने योजनामा हामी छौं ।’ पाथीका हिसाबले बिक्री हुने यहाँको आलु घरबाट १३० र बागलुङ बजारमा १६० रुपैयाँमा प्रतिपाथी बिक्री हुन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ताराखोला गाउँपालिकालाई आलु क्षेत्रको रुपमा समावेश गरिएको छ । रासस