जनता टाइम्स

२० बैशाख २०७८, सोमबार १५:०६

प्रिय कान्तिपुर ! सेबारो


इमानी व्यक्तिले एक्लै भए सत्य स्थापित गरिछाड्छन, गरेका छन । बुद्धका विरुद्ध भएभरका धार्मिक भनाउँदा जत्थाका जत्थाहरु बारबार ज्यान फालेर लागेका होइनन् र ? तिनलाई बुद्धले हाँसी हाँसी फाँसीमा चढाए वा परास्त पारे । अनेक प्रतिकूलतासित जुधेर गुलावको फूल सार र रुपमा सौन्दर्ययुक्त भएको हो । चुनौतिसित जुधेर काम गर्दा अर्कै मजा आउँछ । त्यसैले विरोधीहरुलाई सलाम छ

प्रा.डा. बद्रीविशाल पोखरेल

प्रिय कान्तिपुर, तिमी रुप लावण्य र सौन्दर्यमा नामी छौ, मुहारमा लाली पाउडर घसेर सदा सुन्दर भएर बस्छौ । तिम्रो हरेक स्वर सुनूँ सुनूँ लाग्ने चित्ताकर्षक छ । तिम्रो स्वरबाट जसले पनि तिमीलाई सजिलै चिन्छ, जहिले तिमीलाई नै सुन्न खोज्छ । तिम्रो अनुहार, आकृति र हाउभाउ दामी देखिन्छ । बुद्धिभए यस्ता प्रभाव अरु मिडियापुरले पनि सिके हुन्थ्यो । तर अरुहरु ठसठसी कन्छन, अडकीअड्की, ताल न सुरमा बोल्छन् । तिनको पहिलो स्वर सुन्दै दिक्क लाग्छ । तिम्रो बोलीमा भने अंगे्रजी प्रभाव ह्वास्स गन्हाउन थालेको छ । नेपाली स्वर र व्यङ्जन वर्णको उच्चारण असंगत हुन थालेको छ । गोरखापत्रबाहेक अरु मिडियापुरहरुको अवस्था अत्यन्त दयनीय देखिन्छ ।

सामान्य विषयलाई पनि के के न भयो भनेझैँ दुनियाँलाई छक्क, मक्ख र ट्वाल्ल पर्ने गरी विषयलाई प्रस्तुत गर्न तिमी खप्पीस छौ । तिम्रो न्वारानको नाम मिडियापुर हो रे । मिडियाको वास्तविक धर्म त्याग्नु,पीत पत्रकारिता गर्नुलाई मिडियापुर भन्छन क्यारे । सानामा प्यारो गरी बोलाउँदा काले भनेझैँ तिमीलाई अनेक उपनामले पुकारे होलान । तर तिमी रुपमा जति सुन्दर छौ सार सौन्दर्यका दृष्टिले तिमी धेरै कमजोर देखिन थालेका छौ । किन हो पहिले हिजो देश र जनताको चिन्ता गर्ने तिमी अचेल निक्कै फेरिन थालेका छौ । यही चाला रहिरह्यो भने तिमी देशको भूगोल बाहिर पो पुग्छौ कि भन्ने चिन्ता छाउन थालेको छ । जुनसुकै विषयमा पनि सार, अन्तर्य वा गुदी पक्ष महत्वपूर्ण हुन्छ । हेर्दा मानिस नपत्याउँदो हुनसक्छ तर त्योचाहिँ दिलदार, उदार र इमान्दार हुन्छ । बाहिर बाहिर बास्ना आउने मानिस भित्रभित्रै ठसठसी गह्नाउने हुन्छ । त्यसैले बसाइँ उपन्यासमा सुकुलगुण्डा रिकुटको बाहिरी तामझाम देखेर सिदासादा नेपाली चेली झुमादेवी फसेजस्तै यो लेखक तिम्रा नखरामा फस्ने वाला होइन र छैन । यसले तिम्रो सकार र नकारलाई तुलना गरेर मात्र निर्णय लिन्छ ।

तिमी मेलम्चीको पानी तनतनी घड्काउँछौँ तर मेलम्ची ल्याउने सरकारलाई देखिसहँदैनौ । तुइन विस्थापित भएर झोलुङ्गे पुलबाट ओहोर दोहोर गरेका दूरदराजका जनताका खुसी भएको तिमी देख्दैनौ, लेख्तैनौ । प्राचीनता झल्किने र आधुनिकता टल्किने नवनिर्मित गगन चुम्बी धरहरा र हेर्दै मोहित हुने रानी पोखरीको फोटो तिमी छाप्तैनौ । मोदीको गुणगान गाउँछौ तर ओलीलाई सदा सरापी रहन्छौ । के गर्नु नेपालीको बानी रिस खा आफू गर्दैमा जिन्दगी जाने भयो । देश र जनताका हितमा भएका धेरै राम्रा काम तिमी पटक्क देख्दैनौं, एकोहोरो खेदो मात्र खन्न जानेका छौ । तिम्रा सुरिलो संगीत, स्वर र शब्दका प्रभावमा परेर सामान्य श्रोता र पाठक पुरै भ्रमित भएका छन । चुच्चे नक्सा जारी नगर्दै बनेको र जारी भएपछि बनेको चुच्चेसहितको दुईथरि पदकका बारेमा एकतर्फी भ्रमपूर्ण समाचार प्रवाहित गरेर आम जनतालाई भयानक भ्रम फिँजायौ । यसैले होला प्रसिद्ध विश्लेषक भनिएका भरत दाहाल समेत यही विषयमा प्रधानमन्त्री र राष्ट्रपतिलाई धारे हात लगाइरहेका थिए । एक जना चर्चित भनिएका गायक समेत सबै यसै भन्छन भन्दै फेक समाचारका सन्जालका भरमा परेर राष्ट्रपतिलाई समेत लान्छित गरेर गीत गाउँदै थिए ।

सुमधूर संगीतका आधारमा सुन्दै आल्हादित हुने चरम रुढीग्रस्त गीत बजारमा व्यापक देखिन्छ तर उक्त गीत देश र जनताका लागि घातक हुन्छ भनेर बुझ्ने बुझाउने कोही छ ? नेपालको संविधान २०७२ मा सांस्कृतिक रुपान्तरणको महत्वपूर्ण विषय उल्लेख गरिएको छ । तर यस खालका विषय कसैले उठाउँदैन, प्रगतिशील नामका स्रष्टाहरु परिवर्तित परिस्थितिअनुसार अलिकति पनि अगाडि बढ्ने सोच, समझ र गतिमा देखिँदैनन । यस क्षेत्रमा सैद्धान्तिक प्रभावकारी नेतृत्वकै कमी देखिन्छ । विषय वस्तुलाई अपील गर्ने क्षमताका मानिस भुइँमा पनि छन । यस खालको सोच र अपिल गर्ने क्षमता नभएका कतिपय मानिस राजनैतिक र प्राज्ञिक उपल्लो तहमा विराजमान छन । माक्र्सवाद नभनी माक्र्सवाद र जबज नभनी जबज विषयको बखान गर्नेहरुको पर्याप्त कमी छ ।

वाकपटुता हुनेहरु विविध विषय, क्षेत्र र विधामा माक्र्सवादी सोचलाई कलात्मक रुपमा प्रवाह गर्ने क्षमता राख्छन । जागिर मात्र खान हत्ते हाल्नेले गुदी काम गर्दैन । भविष्य देख्नेले भातको मात्र चिन्ता गरेर बस्दैन । गुणीजनले नै गुणको कदर गर्ने हो । यसो गर्दा कतिपय अबूझहरु लेखकलाई अनावश्यक फतुर लगाउँछन तर धर्तीलाई फरक्क घुमाउने क्षमताका ग्यालिलिओहरु उपर्युक्त खालका फरेबबाट तर्सिदैनन, डेग छाड्दैनन । यस लेखककै बारेमा एक प्रसिद्ध मिडियापुरले नानाओली समाचार बनाएको देखेर छक्क परियो । आदत र आग्रहका दासहरु बिना बात बात लगाउनु कुनै अचम्मको बात होइन ।

तर फेक समाचार किन ? कसका लागि र कसको हितका लागि लेखिन्छ भन्ने कुराको सामान्य जानकारी सवैलाई हुन्छ । टीएन प्रधानका नामबाट मदन भण्डारीको हत्यारा बारेको फेक समाचार केही दिनमा पानीको फोका सरह फुटेको जनताको सचेत पङितलाई थाह छ । यस्ता छिनछिनमा उठ्ने र फुट्ने पानीका फोकाहरु समय क्रममा आफैँ सुक्छन । तर रमित हेरर बस्न हुँदैन । इमानी व्यक्तिले एक्लै भए सत्य स्थापित गरिछाड्छन, गरेका छन । बुद्धका विरुद्ध भएभरका धार्मिक भनाउँदा जत्थाका जत्थाहरु बारबार ज्यान फालेर लागेका होइनन् र ? तिनलाई बुद्धले हाँसी हाँसी फाँसीमा चढाए वा परास्त पारे । अनेक प्रतिकूलतासित जुधेर गुलावको फूल सार र रुपमा सौन्दर्ययुक्त भएको हो । चुनौतिसित जुधेर काम गर्दा अर्कै मजा आउँछ । त्यसैले विरोधीहरुलाई सलाम छ ।

ओलीलाई फसाउन पासो लिएर हिडेका माधव नेपाललाई उनकै गलपासो भएको छ । नेपालका मतियार भुसाल, रावल, डा. भुसाल र भीम आचार्यहरु नेपाललाई हाल्ने खाल्टो खनिरहेका छन । दुर्जनले सज्जनको तारिफ गर्नु हुन्न र गर्दैन । कालरात्रीलाई झलमल्ल जून किमार्थ मन पर्दैन । प्रधानमन्त्री ओलीले एक प्रसंगमा हामी कति सज्जन भन्नुभएको थियो । उहाँले पार्टी, नेतृत्व र सरकारका बारेमा चाहिने नचाहिने आरोप, फतुर र लान्छना लगाइहँदा पनि हाम्रो पार्टी पङ्ति र हामी चुपचाप छौँ भन्ने सन्दर्भमा उक्त कुरा बताउनु भएको थियो । सत्यलाई पनि स्थापित गर्नुपर्छ, आफैँ स्थापित हुँदैन । यसका लागि कलात्मक प्रतिवाद गर्नैपर्छ ।

यस्ता विषयमा अधिकांश नेता, कार्यकर्ता र बुद्धिजीवीहरुको अवस्था दयनीय देखिन्छ । केही नेताहरुले भने जमेर तर्क तथ्यपरक तथा रोचक घोचक पारामा घैँटामा घाम लाग्नेगरी प्रतिवाद गरेको पनि देखिन्छ । तर उपल्लै तहका अधिकांश नेता कलात्मक प्रतिवाद गर्न नजानेर, नसकेर र जनसहभागिता अनुसार अपिल गर्ने क्षमताका पूरै अभावमा हैरान देखिन्छन । आम जनताका बीचमा ओली एक्लैले आवश्यकता अनुसार रोचक र घोचक पारामा विषयलाई जनआकर्षित गर्ने अपिल क्षमताले विरोधीहरुको ओठमुख सुकेको देखिन्छ । ओलीले भनेझैँ यति भलाद्मी बुद्धिजीवी र स्रष्टा हुनु र नहुनुमा केही फरक देखिन्न । बुद्धिले बुद्धिको, विचारले विचारको र स्रष्टाले सिर्जनाको काम नगरे के गर्ने ? समाजलाई अग्रगमनतर्फ उन्मुख गराउन कलात्मक हस्तक्षेप गर्न सकिन्न भने त्यस्ता विचार र सिर्जना नाम मात्रका हुन् । प्रेस चौतारीमा दर्जनौँ पूर्वअध्यक्ष र केन्द्रीय सल्लाहकारको मात्रा धेरै देखिन्छ तर गुण खोज्ने हो भने निक्कै सकस पर्छ । पार्टीमा नेता, कार्यकर्ता इन्चार्ज र सहइन्चार्जको संख्या अहिले पनि भारी मात्राको देखिन्छ तर त्यहाँ पनि गुण पक्ष निक्कै कमजोर देखिन्छ । ओलीकै अत्यन्त निकट हुँ भन्नेको गतिगरास यस लेखकलाई थाहा छ ।

अधिकाश मिडियामा विरोधी पक्ष पर्याप्त हावी र सबै एकमुख भएर लागेको देखिन्छ तर यता त मुख नै छैन कि भनेझैँ देखिन्छ । त्यसैले यो लेखक पार्टीमा अब्बल ओली होइन, भरसक विवादमा नपरेको र कम परेको दोयम ओलीको खोजिमा छ । साइवर सेनाको चर्चा त धेरै भयो तर पार्टी र समर्थक सबैले फेसबुकलगायत सामाजिक सन्जालको पूरापुर सदुपयोग गर्ने हो भने सय थुकी नदीझैँ विरोधीका तमाम फतुर र अफवाहहरु छिनभरमा बगाउन सकिन्छ । माओले बन्दुकधारी शक्तिभन्दा गलत विचार धेरै खतरनाक हुन्छ भन्नुभएको थियो र उहाँका अनुसार झारपात रुपी गलत विचार हुर्किएको र झाँगिएको देखेर चुपचाप बस्नु हुँदैन उखेल्नु पर्छ तर यस्ता काम गर्नेहरु कति छन ? नेतालाई थाहा छ । लेख र लेखक पहिचान गर्ने तिनको कामलाई उचित महत्व दिने कोही होला र पार्टीमा ? लेखन, सिर्जन र पठन संस्कृतिलाई अतिसामान्य ठान्ने नेता पार्टीमा धेरै छन् ।

कतिपय नेताले लेखक र सर्जकप्रति उपर्युक्त खालका हेपी व्यवहारका विरुद्ध यही लेखकले एकान्तमा राम्ररी छाँस्ने गरेको छ । कम्युनिस्ट पार्टीमा पनि अरु पार्टी, शक्ति र समूहमा झैँ चाचु नै गर्ने हो भने यो लेखकले यस्ता कुरालाई ठाडै र खुल्ला अस्वीकार गर्छ । कारमा होइन, कलममा गर्व गर्ने यो लेखक माननीय र मन्त्रीलाई आवश्यकता भन्दा बढी महत्व दिँदैन र आफूलाई कमजोर ठान्दैन । एउटा इमानी लेखकदेखि क्रुर तानासाह हिटलर पनि डराउँथे, उनले अरुसित भन्दा यस समारोहको पुछारमा बसेको लिखुरे लेखक पत्रकारदेखि आफूलाई धेरै डरलाग्छ भन्थे रे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेझैँ एक झुटलाई खण्डित गर्न दसपटक सही सूचना जनातका बीचमा प्रवाह गर्नुपर्छ । यो कुरा कति एमाले उपल्ला तहका नेताले बुझेका छन ? आशंका छ । कति एमाले नेताहरु मिडियाको महत्व राम्ररी बुझ्छन ? बुझ्ने भए तिनले मिडियामैत्री गर्छन, गरेका छन् ? प्रश्न गम्भीर देखिन्छ ।

प्रिय कान्तिपुर, तिमी कन्फर्टेवल सरकारको किन्चित विरोध गर्दैनौ तर राष्ट्रको स्वाधीनता, अखण्डता र समृद्धिका पक्षधरलाई सिरदेखि तिरसम्म कटु आलोचना मात्र गरिरहन्छौ । गुण्डादलको पक्ष लिन्छौ तर एक गुण्डा सज्जन बन्न खोज्दा देशै हल्लिने गरी कोकोहालो मच्चाउँँछौ । अझ प्रधानमन्त्री ओलीका व्यक्तिगत लवाइ खुवाइ, पारिवारिक, सार्वजनिक तथा सरकारी सूक्ष्म गतिविधिको राम्ररी निगरानी गरिरहन्छौँ । भारतीय प्रधानमन्त्री मोदीले आफ्ना कट्टर विरोधीहरुलाई उनले रोजगारी चाहिँ दिईरहन्छु भनेझैँ ओलीले पनि विरोधी पक्षहरुलाई गृहकार्य दिनु भएको देखिन्छ । ओलीलाई राजनैतिक तथा राजकीय कुनै न कुनै मात्रा, रुप र अवस्थामा कटुवचन नगरी न लेख लेखिन्छ न टिप्पणी गरिन्छ न समाचार तयार पारिन्छ । ओली नभए के लेख्थे ? के छाप्थे भन्ने लागेको छ ।

जेहोस ओलीले कतिपय लेखक, विश्लेषक विचारक तथा मानव अधिकार कर्मीहरुको वृत्ति विकास र खाइजीविका प्रदान गरेको स्पष्ट हुन्छ । तर एक दिन फेक मिडियाहरु सत्य स्वीकार्न बाध्य हुनेछन । विचरा पत्रकारहरु विगहाउस वा मालिकले भने अनुसार गर्न बाध्य पनि हुन्छन् । यसको जनकारी यस लेखकलाई पनि रहेको छ । आखिरमा एक सुप्रसिद्ध पत्रिकाले ओली सरकारले ल्याएको मेरो कित्ता कार्यक्रमको तारिफ गर्दै सम्पादकीय नै लेखेको पनि पाइयो । त्यसैले ओलीले भन्नु भएझैँ शक्तिसित नझुक्दा र सत्यसित नलड्दा ढिलो चाँडो एक दिन सफल भइन्छ । त्यसैले प्रिय कान्तिपुर, प्रिय मिडियापुर, यसरी माया गरेर भए पनि नाम उच्चारणसहित बारबार गाली गरेकामा तपाईंहरु सबैलाई हार्दिक सेवारो, अभिवादन ।