मसित तिमी किन रिसाउँछौ ? किन तथानाम भनिरहन्छौ । अब म सित के छ र ? तिमी जे भन्छौ त्यही त्यही मात्र गर्ने अवस्थामा पुगेकी छु । म त एउटा विधि र पद्धतिभित्र बाँधिएकी छु । म आफैँ अगाडि परेर केही काम गर्नै पाउन्न । तर पनि तिमी निरन्तर गाली गरिरहन्छौ । म त डाडाको जून भएकी छु कति खेर प्राण जान्छ कुनै टुङ्गो छैन । तर तिम्रो यस्तै गतिविधि रहिरहयो भने तिमीले मेरो सद्गति नगर्नू
प्रा.डा. बद्रीविशाल पोखरेल
शम्भु बाबु ! म तिम्रीे साख्खै आमा हुँ । तिमी मेरै कोख र काख हौ । तिमीलाई जन्माउँदा प्रशव वेदनाको असह्य पीडाले छटपटााएर मैले चिच्याउँदा अस्पतालका भित्ताहरु चर्किएका थिए । साढे तीन किलो ओजनका तिमीलाई जन्माएपछि म दुई घण्टा बेहोस भएकी थिएँ रे । होसमा आएकी मलाई नर्सहरु हामीले तपाईंलाई माया मारेका थियौँ भन्थे । उनै नर्सहरुका अनुसार मलाई उपचार गरिरहेका डाक्टर पनि मेरो अवस्था देखेर निक्कै आत्तिएका थिए रे । जीवन र मरणको दोसाँधमा रहेर जन्माएका तिमी मेरो मुटुको टुक्रा हौ, मुटुको धमनी हौ र ढुकढकी हौ ।
दसधारा दूध खुवाएकी आफ्नै आमाको तिमीले घोर अपमान गरे पनि म आमा हुँ, माता हुँ । त्यसैले म कदापि कुमाता हुन सक्तिन । मैले मेरा सप्पै रहरहरु तिमीलाई नै समर्पित गरिदिएँ । मैले मेरा सबै सुख र खुसी तिमीलाई नै सुम्पिदिएकी थिएँ । मैले मेरा रहरलाग्दा बैँस र वसन्तहरु तिम्रै भाग्य र भविष्य निर्माणका खर्चिएकी थिएँ, बाबु । यो छोरा बढला, कमाइ गरला, दूधभात देला मलाई भन्ने आहान मैलै मेरा बुबाआमाबाट सुनेकी थिएँ । तिमीबाट त्यत्ति धेरै आशा मैले गरेकी त थिइँन । आशामुखी सदा दुःखी भन्ने पनि मैले उहिल्यै आमाबाट थाहा पाएकी थिएँ । आशा र निराशा भन्दा पनि सन्तानको उन्नति प्रगति देखेर र सुनेर आमा बुबा असाध्य खुसी हुँदारहेछन् भन्ने कुरा म अहिले महसुस गरिरहेकी छु । त्यसैले बाबु नानी शम्भु, तिमी नै मेरो संसार थियौ र हौ पनि । अब चाहिँ मलाई धेरै शंका भएको छ । मेरो बाबु ! अहिले पनि तिमीलाई म उतिबेलाकै जस्तो सानो बालक देख्छु । सपनामा पनि तिम्रो दुःख देखेर रुन्छु । तिमी मेरो सपना हौ, जपना र कल्पना हौ ।
शम्भु बाबु, मेरो प्यारो छोरा, तिम्रो सम्झनाले मात्र मेरो हृदय रसाएर आउँछ, सर्वाङ्ग शरीर तरङ्गित हुन्छ । मातृ वात्सल्यले ओतप्रोत हुन्छ । तर तिम्रो बुद्धि छोटो रहेछ शरीर चाहिँ धेरै मोटो भएछ । तिमी मेरो साख्खै सन्तान हौ, छोरा हौ । तर तिमीले भारी सभामा मेरो नामै काडेर हु आर यु ? तिमी को हौ भनेछौँ । तिमीले दुनियाँलाई नेपाल नेपाली कुलघरानको नै बेइज्जत गरेछौ । गर, सकेसम्म नेपाल आमा र जननीको गर्नु बेइज्जत गर, घोर अपमान गर । तर तिमीले लाठे भएर यसरी मेरा मनमा बिझ्नेगरी दुर्वाच्य बोलौला भन्ने कल्पनासम्म मैले गरेकी थिइँन । तिमीले खुल्ला दिलले ममताका साथ आमा ! भनेर बोलाउँदा मात्र पनि म धेरै खुसी हुन्छु । म त आमा हुँ, धर्तीमाता हुँ, माया, ममता र करुणाकी खानी हुँ । आमाका आँसुहरु नै दुःख, दर्द, पीडा र विरोधका स्वरहरु हुन । आमाका आँसु नै प्रतिवाद, प्रतिकार हुन र मौन इन्क्लाव हुन ।
आफ्नै सन्तानले आफूलाई दुर्वाच्य बोलेपछि आमाले रुनु बाहेक के उपाय छ र ! यस्तो स्थितिमा नुनिला आँसु पिएर बस्नु भन्दा अरु उपाय केही हुँदो रहेछ र ! बैरीसित झाँसीकी रानी सरह लड्नुपर्छ र लडिन्छ पनि तर आफैँसित आफू कसरी लड्नु ! अहिले यो बुढेसकालमा यो अदना निरीह आमालाई तिमी मनपरि बोलिरहेका छौ । तिम्रा बाबा जीवित हुनुभएका भए यसरी तिमी मेराविरुद्ध मुखमुखै लाग्ने आँट नै गर्ने थिएनौ । सबै बलेकै आगो ताप्छन् । मेरो ओड गरेर बोल्ने लालाबाला नभएका होइनन, धेरै छन्, करोडौँ छन् तर तिनीहरु तिमी जस्तो मनपरि बोल्ने स्वभावका रहेनन तर बाबु धेरै मुख नछाड तिम्रा दाजुभाइ र दिदी बहिनीहरु धेरै रिसाएका छन् । आफ्नै आमालाई तथानाम गर्दा ती सबै अत्यन्त आक्रोशित र रुष्ट भएका छन् ।
तिमीले मेरो तथानाम विरोध र गाली गरे पनि म आफ्नै सन्तान दरसन्तानको कुभलो कहिल्यै चाहन्न । यही आमाको महानम पक्ष रहेछ । यो कुरा तिमी पुरुषहरु बुझ्दैनौ । हेर त मेरा बारेमा तिमीले बोलेका दुर्वचन सुनेर तिम्रा बहिनीहरु मनमनै रोइरहेका छन । छोरीहरु त आमा हुन्, तिनलाई सन्तान जन्माउँदाको अतिसय घनघोर प्रशव पीडा थाहा छ । त्यसैले आमाले नै आमाको पीडा बुझ्छन् तर तिम्रा काका र बडाउका कुसंगतले तिमी बिग्रँदै छौ र तिम्रै संगत सिको गरेर रावण बेहोराकी रामकुमारी छोरीहरु सारीसमेत उचाल्दै आफ्नै आमालाई आमाचकारी गाली गरिहेकी देख्छु । आमाले नै आमाको वेइज्जत गर्नेहरुको पनि अनिकाल रहेनछ यो दुनियाँमा । महिलावादी भन्नेहरु महिलाका बारेमा तथानाम गर्दा किन केही बोल्दैनन् ? अचम्म पर्छु ।
मुख नै टाल्ने गरी प्रतिवाद गर्ने हो भने तिमी जस्ता सन्तान नाजवाफ हुनेछन् । बल्दो आगोमा पानी खन्याउने हो त्यस्ता बनावटी आगालाई छिनभरमा निभाउन सकिन्छ । मेरा पक्षमा बोल्ने दूरदराजमा रहेका निरक्षर र साक्षर मेरा सन्तानहरुको आवाज कसले बोलिदिन्छ र ?
अलिअलि पढेलेखेका र जाने बुझेका बौद्धिक सन्तानहरु आमालाई यसरी मुख छाडेर बोल्दा प्रतिवाद गरिरहेको पनि देखिन्छ । तर तिनको सही आवाज ठूला भनिने फेक,पेड र मेक मिडियाहरु कुनै स्थान दिदैनन् । कुकुरले मानिसको खुट्टा टोकेको विषय समाचार बन्दो रहेनछ तर मानिसले कुकुरको खुट्टा टोकेको विषय चाहिँ भाइरल हुँदो रहेछ । तर म कुकुरको खुट्टा टोक्ने जस्तो अत्यन्त कुरुप काम गर्नै सक्तिन, किनकि म आमा हुँ । तर तिमीले आफ्नै आमाको हुर्मत लिएपछि अरुहरु अझ हौसिएर मलाई अर्थात् तिम्री आमालाई अरु तीनबित्ता उफ्रिएर गाली गलौजमा उत्रिए । भट्टराई भाइ र बन्दीहरु पेसाभन्दा पैसामुखी भएर मालिक रिझाउन मेराविरुद्ध निर्वस्त्र र निर्लज्ज रुपमा भद्दा आरोप लगाउँदै थिए रे । आफ्नै कोख बैरी भएर सडकमा उत्रिए पछि शत्रु त शत्रु हुने नै भयो ।
मैले तिमीलाई धेरै दुःख गरेर हुर्काएकी छु । तिम्रा बाबु असमयमै मरिहाले । तिम्रा काका बडाउहरु तिम्रा बाबाका प्रतिभा, क्षमता र जन सेवा भाव देखेर उहिले मात्र होइन, अहिले दागा धरिरहेका छन् । सबैको भलो चाहनेलाई पनि डाह गर्ने आफ्नै घरमा हुँदा रहेछन् । टोक्नेले आफ्नो धर्म कहिल्यै छाड्दो रहेनछ । आफ्नै दुइतिहाइको घर खरानी पार्नेहरुको पछिपछि लागेका तिम्रो मतिभ्रष्ट भएछ । मतिले नै गति निर्धारण गर्ने हो, जब मति नष्ट हुन्छ, गतिमा अगति देखापर्छ ।
तिम्रा काका र बडाउहरुले संसारमा कहीँ थातबास नपाएर, पहिचानविहीन भएर, समाजले लाठो लाएर खेदाएपछि ती बिल्लीवाठ भएका थिए । तिम्रा बाबाले उनीहरुकै भाग्य र भविष्यका खातिर सिद्धान्तको सिर्जना र तदनुसार कार्यान्वयन गरेको हुँदा तिनले आफ्नो राजनीतिक र राजकीय इज्जत, आबरु र पद, प्रतिष्ठा पाएका हुन् । तिम्रा जेठी आमाका उग्रवादी सन्तानहरु अहिले समाज परिवर्तनका लागि एक मात्र उपाय बम र बन्दुकको धम्की दिइरहेका छन् । उग्रवादीहरु मात्रात्मक परिवर्तन परिवर्तन नै होइन भन्छन् र जनतालाई पुर्ने खाल्टो खन्छन । उग्रवाद घोर दक्षिणपन्थी अवसरवादमा परिणत हुँदो रहेछ भन्ने प्रत्यक्ष उदाहरण डा. बाबुराम भट्टराई रहेको तिमीले देखेकै हौला ।
पुष्पलाललाई त्यतिबेलै गद्दार भनेर पछि पछुताए पनि तिनीहरु अझै कम्युनिष्ट कठमुल्लावाद र बाम लप्फाजीमा रमाइरहेका छन् । एउटी कान्छीलाई मन्त्री बनाउनका लागि पार्टीलाई बलिबेदीमा चढाउँदैछन । कम्युनिस्ट नामका यस्ता वर्गविरोधी,जनविरोधी र कृतघ्न पार्टी र नेता पनि हुँदा रहेछन् । अहिले तिनैको पक्षमा तिमीले पैरवी गरिरहेको देख्दा मेरो छाती चिरिन्छ । त्यो जमानामा घर, परिवार र छरछिमेकले समेत छिःछिः दुरदुर भएर एकल महिला वा ठेट नेपालीमा राँडी आमाका कसरी तिमीहरुलाई हुर्काएँ होला । ती दिन सम्झँदा पनि मेरो मनमा ठूलै पहिरो जान्छ ।
तिमी उतिबेला लाहुरे बन्न चाहन्थ्यौ तर मैले नै तिमीलाई तिम्रा बाबाले भनेझैँ देशको एउटा इमान्दार शालीन बौद्धिक व्यक्ति बनाउन खोजेकै हो । त्यसैले तिमी पेसाले राम्रै स्थान र मानमा पुगेका हौ । तर बाबु सबै कुराको एउटा सीमा हुन्छ तर इमान, ज्ञान, सेवा र समर्पणको कुनै सीमा हुँदैन । पैसाका खातिर इमान, जमान र इज्जत बेच्नु हुँदैन बाबु । तिम्रा बारेका गुनासा धेरै कुरा सुन्दैछु । कृपया बाबाकै लागि पनि नराम्रो काम नगर, सदा इमान्दार बन । सामान्य पेटु मानिस त मानिस नै होइन । पेटपालो त काग, कुकुरले पनि गर्छ । तिमी समाजको आदर्श बन, प्रतिष्ठा बन । इज्जत गुम्यो भने त्यो कहिल्यै किन्न पाइन्न । तिमीले मेरा विरुद्ध भारी सभामा तथानाम भनेपछि बेलुका पिया पसलमा राम्रै भोजभाज भएको सुनाउन्थे ।
त्यस पसलमा तिमीलाई तिम्र्रा मालिकले मोटो रकमले पुरष्कृत गर्ने घोषणा पनि गरे भन्ने सुनेँ । बाबु जे बन्छौ बन, विभीषण चाहिँ नबन । विभीषणको उलामालामा लागेर आफ्नै दाजुको हत्या गर्ने काम किमार्थ नगर । लेन्डुप त झन् बन्दै नबन । पछि लाए अह्राएको काम तमाम भएपछि लेन्डुपले मरेपछि सद्गति गर्ने चारफिट जमिन पनि पाएन बाबु । मसित तिमी किन रिसाउँछौ ? किन तथानाम भनिरहन्छौ । अब म सित के छ र ? तिमी जे भन्छौ त्यही त्यही मात्र गर्ने अवस्थामा पुगेकी छु । म त एउटा विधि र पद्धतिभित्र बाँधिएकी छु । म आफैँ अगाडि परेर केही काम गर्नै पाउन्न । तर पनि तिमी निरन्तर गाली गरिरहन्छौ । म त डाडाको जून भएकी छु कति खेर प्राण जान्छ कुनै टुङ्गो छैन । तर तिम्रो यस्तै गतिविधि रहिरहयो भने तिमीले मेरो सद्गति नगर्नू । तिम्रा बहिनीहरु छन्, ती मेरा आँखाका दुई नानीहरु ह्ुन्, तिनले नै सद्गति गर्नेछन ।
प्रतिक्रिया दिनुहोस्