जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १६:०६

सामाजिक मूल्य मान्यता विगठन गरेर राष्ट्र बलियो हुँदैन : शंकर पोखरेल 


काठमाडौं, १ जेठ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको माध्यमबाट अहिले समाजका हरेक मान्छे विचारक र पत्रकार जस्ता बनेका बताउनुभएको छ ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनकाे १२ औँ केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई बिहीबार भक्तपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालबाट मानिस सामाजिकबाट व्यक्ति केन्द्रित बनेका बताउनुभयो । यसले सामाजिक अराजकता तर्फ समाज अघि बढेको पोखरेलको भनाइ छ ।

यो समाजका लागि सबैभन्दा चुनौतीको कारण बनेको उहाँको भनाई छ । ‘कसैका लागि त्यही चिज समृद्धिको आधार बनेको छ, तर हाम्रो लागि त्यो सामाजिक अराजकताको कारण बन्दै गएको छ’, उहाँले भन्नुभयो ।

सूचना प्रविधिको सही प्रयोगको हुटहुटी जाग्ने हो भने साना देशका नागरिकले पनि धेरै काम गर्न सक्ने उहाँले बताउनुभयो । अहिलेको युगमा जोसँग सिर्जनात्मक ज्ञान छ उही सबैभन्दा धनी हुने बताउनुभयो । धनबाट होइन सूचना र प्रविधिबाट नै मानिसले आफ्नो सामर्थ्य निर्माण गर्न सक्ने उहाँले धारणा राख्नु भयो ।

समाज धेरै अघि बढिसकेको भए पनि पूर्वपञ्च, मण्डले र नवमण्डलेहरूले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका उहाँले बताउनुभयो । उनीहरूले विकासको तथ्यलाई नै ओझेल पार्ने प्रयास गरेका पोखरेलले बताउनुभयो । उहाँले पञ्चायत र बहुदल पछिको विकासको तथ्याङ्क सुनाउनुभयो ।

सूचना र प्रविधिको दुरुपयोग गर्ने काम भइरहेको भन्दै उहाँले त्यसलाई निष्तेज पार्नुपर्ने बताउनुभयो । ‘राष्ट्रलाई कमजोर पार्ने कुरालाई भाइरल बनाउने काम कहाँबाट भइरहेको छ भन्ने कुराको अनुसन्धान गर्नुपर्छ, नियोजित ढङ्गले भाइरल बनाउने सूचनालाई नियन्त्रण गर्न सक्नु पर्दछ’, उहाँले भन्नुभयो ।

यो कुराबाट मुलुकलाई जोगाउन सूचना प्रविधिको क्षेत्रका काम गर्ने संस्थाले भूमिका खेल्नु पर्ने उहाँको धारणा छ । अन्यथा मुलुक कमजोर हुने उहाँले स्पष्ट पार्नुभयो । सामाजिक मूल्य मान्यतालाई जोगाउन सूचना प्रदायक संस्थाले आफ्नो सामर्थ्य देखाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

गलत प्रवृत्तिबाट राष्ट्रलाई जाेगाउँदा मात्र राष्ट्र बलियो हुने उहाँले बताउनुभयो । सामाजिक मूल्य र मान्यतालाई कमजोर बनाएर कुनै पनि हालतमा देश बलियो नहुने उहाँको धारणा छ । ‘सामाजिक मूल्यको विगठनबाट राष्ट्र बलियो हुन सक्दैन’, उहाँले भन्नुभयो ।

नेपालमा राजनीतिलाई विकृत बनाउने र साना दलले ठुला दल माथि शासन गर्ने प्रवृत्तिको अन्त्यको लागि दुई ठुला राजनीतिक दल मिलेका उहाँले बताउनुभयो । अहिले देशलाई सही दिशामा ल्याउन दुई ठुला पार्टी मिलेका भए पनि भविष्यमा यिनै दुई ठुला दलले प्रतिस्पर्धा गर्ने उहाँ बताउनुभयो । नीतिगत नेतृत्वको आधारमा नै देशलाई अघि बढाउनु पर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट रहेको पोखरेलले बताउनुभयो ।

राष्ट्रलाई सही दिशा दिन दृष्टिकोण सहितको नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थिरता जरुरी रहेको पोखरेलले बताउनुभयो । त्यो सामर्थ्य नेकपा एमाले बाहेक अरू कुनै राजनीतिक दलसँग नरहेको उहाँले दाबी गर्नुभयो । एमालेलाई बाहिर राखेर राष्ट्र निर्माण सम्भव नरहेको पोखरेलले स्पष्ट पार्नुभयो ।

देश जब स्थायित्व तर्फ अघि बढ्न खोज्छ तब नेपाली समाजमा भ्रम सिर्जना गर्न खोजिने उहाँले बताउनुभयो । पुरानाले गर्न सकेनन् अब नयाँ चाहिन्छ भनेर भ्रम फिँजाउने काम भएको पोखरेलले भन्नुभयो । सामाजिक सञ्जालमा भाइरल भएकाले नयाँको नाममा देश चलाउँछन् भन्नु भनेको त्यो फेरी अर्को भाइरल मात्र बन्ने कुरा भएको उहाँको धारणा छ ।

अहिले खराब मानिसहरूको नियन्त्रणमा सूचना महामार्ग पुगेको पोखरेलले बताउनुभयो । यदि उनीहरूको कब्जाबाट यसलाई मुक्त बनाउन सकिएन भने नयाँ पुस्ता अराजक र उद्देश्य विहीन बन्ने उहाँको भनाइ छ । ‘असल मानिसको हातमा सेवा पुर्याउन सकिएन भने त्यसबाट गलत समाज निर्माण हुन्छ, गलत समाज निर्माण हुनबाट हामीले जोगाउनु पर्दछ’, उहाँले भन्नुभयो ।