काठमाडौं, जेठ १ । ड्यूटीमा रहेका प्रहरी सहायक हवल्दारमाथि सार्वजनिक स्थलमै कुटपिट गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) कार्वाहीमा परेका छन ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौंको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साहलाई कार्वाही स्वरुप जिम्मेवारीमुक्त गरेर छानविन अघि बढाएको हो । इन्सपेक्टर साहले प्रहरी सहायक हवल्दारलाई बुधवार सडकमै चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सो भिडियो सार्वजनिक भएपछि सहायक हवल्दारमाथि कुटपिट गर्ने इन्सपेक्टर साहको जिम्मेवारी खोसिएको काठमाडौं प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले साहमाथि छानबिन अघि बढाइएको जानकारी पनि दिनुभएको छ ।
साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तानिएको छ । अनुसन्धानपश्चात थप कारबाही प्रक्रिया अघि बढाइने तामाङले बताउनु भयो । सो घटना बुधवार दिउसोको भएको जानकारी पनि उहाँले दिनुभएको छ । कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत छन भने इन्सपेक्टर साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्