जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार १०:४२

तालिबानसामू किन बन्यो निरिह बन्यो अमेरिकाले २० वर्षसम्म ८३ अर्ब डलर खर्चेको अफगान सेना ?


काठमाडौं । अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको चरमपन्थी आक्रमणमा करिब ३ हजार मानिसको मृत्यु भयो। यो आक्रमणका लागि चरमपन्थीहरुले विमानहरुको प्रयोग गरेका थिए। विमान नियन्त्रणमा लिएर उनीहरुले न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा ठोक्काए। एक विमान पेन्सिलभेनियाको खेतमा दुर्घटनाग्रस्त भयो। इस्लामिक चरमपन्थी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेनलाई यो आक्रमणका लागि जिम्मेवार ठहर्याइयो।

अफगानिस्तानमा त्यो समय कट्टरपन्थी इस्लामिक समूह तालिबानको शासन थियो। र सो सरकारले ओसामा बिन लादेनलाई संरक्षण दिएको थियो। तालिबानले ओसमालाई अमेरिकालाई सुपुर्द गर्न अस्वीकार गर्यो। यसपछि ११ सेप्टेम्बरको आक्रमण भएको एक महिनापछि अमेरिकाले दुबै चरमपन्थी संगठनविरुद्ध अफगानिस्तानमा हवाई आक्रमण शुरु गर्यो।

त्यसपछि के भयो ?

अमेरिका र उसका अन्तर्राष्ट्रिय तथा अफगान सहयोगीको हवाई आक्रमणका कारण दुई महिना भित्रै तालिबानको पतन भयो। र उसका लडाकु भागेर पाकिस्तानतर्फ गए। लडाकु भागे पनि उनीहरुको प्रभाव भने बढ्दै गयो र उनीहरुले कमब्याक गरे। तालिबानले ड्रग्सको व्यापार, खनिज र करबाट करोडौं डलर कमायो। २००४ मा अफगानिस्तानमा अमेरिकी समर्थक नयाँ सरकार बन्यो। तर, यो समयमा पनि तालिबानको घातक आक्रमण जारी रह्यो। अफगान सैनिकसँग मिलेर काम गरिरहेको अन्तर्राष्ट्रिय सेनालाई फेरि बलियो बनेको तालिबानसँग लड्न निकै मुस्किल बन्दै गयो। यो लडाइँमा कैयौं अफगानको ज्यान गयो, चाहे ती आम नागरिक हुन् वा सैनिक।

के अफगानिस्तानको संघर्ष २००१ मा शुरु भयो ?

यसको कुनै छोटो उत्तर छैन। अमेरिकाले अफगानिस्तानमा खुट्टा राख्नुभन्दा पहिला करिब दुई दशकदेखि यो देशले युद्ध झेलिरहेको थियो। १९७० को अन्तमा सोभियत संघको सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो। उसको लक्ष्य आफ्नो साम्यवादी सरकारलाई सहयोग गर्नु थियो। उनीहरु मुजाहिदीनविरुद्ध लडिरहेका थिए, जसलाई अमेरिका, पाकिस्तान, चीन र साउदी अरबसहित कैयौं देशको समर्थन थियो। सोभियत सेना १९८९ मा अफगानिस्तानबाट फिर्ता भयो तर देशमा गृह युद्ध चलिरह्यो। यसबाट फैलिएको अराजकतामा तालिबानलाई फल्नफुल्न मौका मिल्यो।

ति बलियो कसरी भयो तालिबान ?

तालिबान जसेको नेपाली अर्थ ‘विद्यार्थी’ हुन्छ। १९९० को दशको शुरुमा तालिबान उत्तरी पाकिस्तान र दक्षिण पश्चिम अफगानिस्तानको सीमावर्ती क्षेत्रमा प्रभावकारी देखियो। उनीहरुले भ्रष्टाचारविरुद्ध लड्न र अफगानहरुको सुरक्षा गर्ने बचन दिए। त्यो बेला गृह युद्धका कारण अफगानहरुलाई सुरक्षाको विषय निकै महत्वपूर्ण थियो।

तालिबानले तिब्ररुपमा आफ्नो प्रभाव बढायो र उसले शरिया कानुनलाई महत्व दियो। उनीहरु इस्लामिक कानुन अनुसार सजाय दिन थाले। जस्तो हत्या र बलात्कारका दोषीलाई सार्वजनिक स्थानमा फासी र चोरीका दोषीलाई अंगभंग गर्नु।

पुरुषहरुले दाह्री पाल्नुपर्ने र महिलाले बुर्का लगाउनुपर्ने अनिवार्य गरियो। तालिबानले टिभी, संगीत र सिनेमामा प्रतिबन्ध लगायो र १० वर्ष वा त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगायो।

यो युद्धको मूल्य कति हो ?

२३०० भन्दा धेरै अमेरिकी महिला र पुरुष सैनिक यो युद्धमा मारिए र २० हजारभन्दा धेरै घाइते भए। यसका साथै ४५० बेलायती सैनिक र अन्य सयौं सैनिक पनि यो युद्धमा बलि चढे। तर सबैभन्दा धेरै नोक्सान अफगान नागरिकले झेले, केही अध्ययन अनुसार अफगान सुरक्षा बलका करिब ६० हजार सदस्यले यो युद्धमा ज्यान गुमाए। सँयुक्त राष्ट्र संघले २००९ देखि आम नागरिकको मृत्युको तथ्यांक व्यवस्थित रुपमा राख्न शुरु गर्यो। उसका अनुसार यस युद्धमा एक लाख ११ हजार नागरिक मारिए वा घाइते भए। एक अध्ययनका अनुसार अमेरिकी करदाताका लागि यो युद्धको बित्तिय लागत लगभग १ ट्रिलियन अमेरिकी डलर रह्यो।

के हो तालिबानसँगको सम्झौता ?

फेब्रुअरी २०२० मा अमेरिका र तालिबानले अफगानिस्तानमा शान्तिका लागि एक सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता अनुसार अमेरिका र उसको सहयोगी नेटाले अफगानिस्तानबाट आफ्नो सेना पूर्णरुपमा फिर्ता गर्ने सहमति गरे। यस वापत तालिबानले अल कायदा वा अन्य चरमपन्थी समूहलाई आफ्नो नियन्त्रण रहेको क्षेत्रमा सक्रिय हुन नदिने सहमति जनायो। गएको वर्ष भएको वार्ता अन्तरगत तालिबान र अफगान सरकार दुबैले एक अर्काका कैदीहरुलाई रिहा गरे। सम्झौता अनुसार करिब ५ हजार तालिबानी चरमपन्थीलाई रिहा गरियो।

अमेरिकाले तालिबानविरुद्ध लगाइएको प्रतिबन्ध हटाउन र अन्य केही प्रतिबन्धहरुका सम्बन्धमा सँयुक्त राष्ट्र संघसँग मिलेर काम गर्ने बचन दियो। अफगान सरकारको उपस्थितिबिना नै अमेरिकाले तालिबानसँग सिधा वार्ता गरेको थियो। तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘यति वर्षपछि हाम्रा मान्छेहरुलाई घर फिर्ता बोलाउने समय आएको छ।’

अमेरिकी सेना फिर्ता हुनथालेको केहि महिनामै तालिवानीहरुले देश नै आफ्नो पडकमा लिए । अहिले संसारभरिको ध्यान अफगानिस्तानमा छ। दक्षिण र मध्य एसिया जोड्ने भूपरिवेष्ठित मुलुक अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेका छन्। २० वर्षअघि अमेरिकाले काबुलबाट धपाएका तालिबानहरू अमेरिकी र नाटो सैनिकले अफगानिस्तान छोडेपछि फेरि काबुल फर्किन्छन् भन्नेमा कसैलाई द्वुविधा थिएन। अमेरिकी सेना फर्किएको ६ महिनाभित्र राष्ट्रपति असरफ घानीको सरकार ढल्ने धेरै विश्लेषकले बताएका थिए।

तालिबानलाई काबुलको राष्ट्रपति कार्यालय छिर्न ६ महिना लागेन न त सबै अमेरिकी सैनिक नै फिर्ता हुनु पर्‍यो। हजारौं अमेरिकी सैनिक काबुलमा तैनाथ हुँदाहुँदै तालिबान लडाकु र कमाण्डर आइतबार साँझ राष्ट्रपति कार्यालयमा छिरे। फोटो खिचे र राष्ट्रपतिको कुर्सीमा बसेर कुरान पढे। तालिबानहरूले राष्ट्रपति कार्यालयमा डेरा जमाउनुअघि नै राष्ट्रपति घानी देश छोडेर हिँडिसकेका थिए। तालिबानहरूले काबुल कब्जा गर्दा कसैले प्रतिरोध गरेन।

यस्ता दृश्यहरू यसअघि तालिबानले प्रान्तीय राजधानी कब्जा गर्दा पनि देखिएका थिए। कुनै पनि ठाउँमा अफगान सुरक्षाकर्मीले तालिबानसँग भिडन्त गरेर उनीहरूलाई परास्त गर्न सकेनन्। धेरै ठाउँमा त उनीहरूले सामान्य प्रतिरोध पनि गरेनन् बरू आत्मसमर्पण गरिदिए। अफगान सुरक्षाकर्मीको आत्मसमर्पण तालिबानहरू प्रान्तीय राजधानी छिर्ने गतिमा निर्भर थियो। जति छिटो तालिबान आए, त्यति नै छिटो आत्मसमर्पण।

बीस वर्षसम्म अमेरिकी सैनिकसँग हुर्किएका अफगान सुरक्षाकर्मी तालिबानसामू कसरी यति धेरै निरिह भए ?

द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार सन् २००१ यता अमेरिकाले अफगान सुरक्षाकर्मीको तालिम, हतियार र अन्य सामग्रीमा ८३ अर्ब डलर खर्चेको थियो। अमेरिकीहरूलाई सधैँ अफगानिस्तानमा लड्न सकिन्न बरू यहाँकै सुरक्षाकर्मीलाई बलियो बनाए काबुलमा प्रजातान्त्रिक सरकार बनिरहन्छ भन्ने लागेको थियो। राष्ट्रपति बाराक ओबामा प्रशासनको मुख्य रणनीति नै अफगान सुरक्षाकर्मीलाई बलियो बनाएर जतिसक्दो चाँडो आफूहरू फर्किने भन्ने थियो।

त्यसका लागि उनीहरूले अफगान सुरक्षाकर्मीलाई उच्चस्तरको तालिम दिएका थिए। अत्याधुनिक हतियार दिएका थिए। तालिबानसँग हुँदै नभएका सैनिक जहाज र हेलिकप्टर किनेर राखेका थिए। अमेरिकीहरूले २० वर्ष समय र अर्बौं डलर खर्चेर बनाएको अफगान सुरक्षा फौजलाई दुई महिना नपुग्दै तालिबानहरू पाखा लगाइदिए।

आफूले बलियो बनाएको भन्ठानेका अफगान सुरक्षाकर्मी तालिबानसामू निरिह भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टिमका सदस्यहरू पनि चकित परेका छन्। ‘हामीले अफगान सुरक्षा फौज देशको रक्षा गर्न असक्षम भएको देख्यौं तर यो हामीले सोचेभन्दा निकै छिटो भयो,’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सिएनएनसँग भनेका छन्।

युद्ध लड्न र जित्न तालिम र हतियारले मात्र सकिँदो रहेनछ। अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फर्किने घोषणा गर्नुअघि नै तालिबानहरूले अफगानिस्तानमा आक्रमण तीव्र पारेका थिए। सुरूमा उनीहरूले ग्रामीण इलाकामा रहेका सुरक्षा पोष्टहरूलाई निशाना बनाए। खाद्यान्न र गोलीगठ्ठाको नियमित आपूर्ति नहुने ठाउँमा बसेका प्रहरीलगायत सुरक्षाकर्मी चारैतिरबाट तालिबान लडाकुले घेरेपछि आत्तिनु स्वभाविक थियो। तालिबानहरूले उनीहरूलाई आत्मसमर्पण गरे ज्यान बचाइदिने प्रस्ताव राखे।

ग्रामीण क्षेत्रका सुरक्षाकर्मीहरू धमाधम तालिबान लडाकुलाई हतियार बुझाउँदै आत्मसमर्पण गर्दै ज्यान जोगाउन लागे। कतिपय ठाउँमा त तालिबानहरूले उनीहरूलाई घर फर्कन गाडी भाडासमेत दिएका विवरणहरू सार्वजनिक भएका थिए। यसरी गाउँका सुरक्षा पोष्ट कब्जा गरेका तालिबानहरूले दोस्रो निशाना जिल्लालाई बनाए। दुर्गमका जिल्लाहरू तालिबानले धमाधम कब्जा गर्न थाले। सबैतिरका सुरक्षाकर्मीको एउटै गुनासो हुन्थ्यो– काबुलबाट हवाई सहयोग छैन, खाद्यान्न र अन्य सामग्री पनि सकिएको छ।

तालिबानको आक्रमण तीव्र हुनुअघि नै अफगान सुरक्षा फौज समस्यामा जेलिइसकेका थिए। अफगान सैनिक र प्रहरीमा काबुलमा सत्ता चलाइरहेकाप्रति गहिरो बितृष्णा थियो।

अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने घोषणा गरेसँगै तालिबानहरूले आक्रमणलाई तीव्र पारे तर अफगान सुरक्षाकर्मीले राष्ट्रपति असरफ घानीका लागि आफ्नो ज्यान बाजी राख्नु जरूरी ठानेनन्। सुरक्षा फौजभित्र व्यापक भ्रष्टाचार थियो। किताबमा झन्डै ३ लाख सुरक्षाकर्मी भएको रेकर्ड थियो तर मैदानमा त्यति संख्या कहिल्यै पुगेन। विभिन्न अन्तर्वार्ताहरूमा सिपाहीदेखि उच्च सैनिक अधिकारीहरू निराशा र तिरष्कृत भएको भाव व्यक्त गरिरहेका थिए।

गत साता तालिबानहरूले आक्रमण गरेको दक्षिणी सहर कान्दहरको एउटा प्रहरी चौकीभित्र आलुमात्र भेटिएको थियो। हप्तौंदेखि उक्त चौकीमा दैनिक रासनको रूपमा आलुमात्र सप्लाई हुँदै आएको रहेछ। आलुमात्र खाएर बाँचेको ज्यानले तालिबानसँग कसरी लड्नु, किन लड्नु ! ‘यी फ्रेन्च फ्राईले मात्र अग्रपंक्तिलाई जोगाइराख्न सक्दैनन्,’ आलुमात्र रासनको रूपमा आएपछि कान्दहरका एक प्रहरी अधिकारीले भनेका थिए।

कान्दहरको अर्को सुरक्षा पोष्टमा रहेका प्रहरी अधिकारी अब्दुल हलिमले आफूहरू भ्रष्टाचारमा डुब्न थालेको बताएका थिए। उनको पोष्टमा ३० जनाको दरबन्दी थियो तर मान्छे १५ जनामात्रै थिए। उनीहरू पनि गाउँ तालिबानले कब्जा गरेकाले मात्रै चौकीमा बसेका थिए।

‘यति थोरै हतियारले हामी कसरी तालिबानलाई हराउन सक्छौंरु उनीहरूसँग मेसिन गन छन् तर हामीसँग मेसिन गनमा लाग्ने गोली थोरै छन्,’ अब्दुलले भनेका थिए। गाउँ र जिल्लामा तालिबानलाई रोक्न नसकेपछि अफगान सुरक्षा फौजले ३४ वटा प्रान्तीय राजधानी जोगाउने रणनीति लिएका थिए। जब तालिबानहरूले एकपछि अर्को सहर कब्जा गर्न थाले त्यो रणनीति पनि असफल भयो।

सन् २००१ यता झन्डै ६० हजार अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ। यत्रो ठूलो क्षति हुनुका पछाडि तालिबानभन्दा पनि सरकारकै कमजोर रणनीति कारक रहेको धेरै सुरक्षाकर्मीलाई लाग्छ। गत साता उत्तरी सहर कुन्दुजको विमानस्थलमा रहेको अफगान आर्मी कर्प्सको मुख्यालय नै तालिबानले कब्जामा लिए। त्यहाँ रहेका हेलिकप्टर र अमेरिकाले दिएका ड्रोनसँग फोटो खिचेर उनीहरूले सामाजिक सञ्जालमा राखे।

तालिबानले आफ्नो मुख्यालय कब्जा गर्दा त्यसका कमाण्डर ब्रिगेडर जनरल अब्बास तावाकोली अर्को प्रान्तमा थिए। उनलाई पनि तालिबानको शक्तिले होइन सरकारकै लाचारीले सैनिक मुख्यालय तालिबानको हात पुगेको लागेको छ। ‘जानेर वा नजानेर संसदका केही सदस्यहरू र राजनीतिज्ञले नै दुश्मनले लगाएको आगोमा पंखा हम्किए,’ जनरल तावाकोलीले भने,‘कुनै पनि क्षेत्र युद्ध भएर ढलेको छैन बरू मनोवैज्ञानिक लडाइँले ढलेको छ।’

तालिबानविरूद्ध लड्न ठाउँ(ठाउँमा जातीय मिलिसियाहरू पनि बनाइएका थिए। तिनीहरूलाई स्थानीय वारलर्ड्सहरूले परिचालन गर्थे। पछिल्लो समय त्यस्ता वारलर्ड्सहरूले पनि तालिबानसमक्ष आत्मसमर्पण गरे। यसरी हरेक फ्रन्टमा सुरक्षाकर्मी निरिह बनेपछि २० वर्षपछि तालिबानहरू फेरि काबुल फर्किएका छन्। दुई दशकपछि तालिबान काबुल फर्किएसँगै अफगानिस्तानमा एक युगको अन्त्य भएको छ।

(अन्तराष्ट्रिय समाचार एजेञ्सीको सहयोगमा)