जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १७:५६

चार महिनापछि बसेको पोखराको कार्यपालिका बैठकमा कांग्रेस वडाध्यक्षले गरेन हस्ताक्षर


पोखरा, कात्तिक ६ । नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि आज बसेको छ । जिसीलाई गत साउन १ गते मष्तिष्कघात भएको थियो ।

उपचारपछि पोखरा फर्किनु भएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको थियो । त्यसपछि बसेको बैठकमा कांग्रेसले भने असहमति जनाएको छ । बैठकमा सहभागी भएपनि कांग्रेसतर्फका वडाध्यक्षहरुले उपस्थितिमा हस्ताक्षरसमेत नगरी हिडेका छन ।

बैठकका एजेण्डा समयमै उपलब्ध नगराएको र छलफलमा उठेका विषयलाई छोडेर आफुखुसी निर्णय लेखिएको भन्दै हस्ताक्षर नगरेको कांग्रेस वडाध्यक्षहरुको दावी छ । यसअघि धेरै पटक बैठकले दिएको सुझाव भन्दा अन्यत्रैबाट निर्णय लेखिने गरेको कांग्रेस सचेतक रामराज लामिछानेले बताउनु भयो । ‘एजेण्डामा हामीले सुझाव दिन्छौं । कार्यपालिका सदस्यहरुको सुझावको सुनुवाइ हुँदैन ।

महानगरले एकलौटी रुपमा निर्णय लेखेर हाम्रो हस्ताक्षर दुरुपयोग भयो,’ उहाँले भन्नुभयो, ‘अब निर्णय पुस्तिकामा लेखिएको निर्णय हेरेर मात्रै हस्ताक्षर गर्ने भनेका छौं । हामीले भने अनुसारको सुझाव लिखित रुपमा नआए हस्ताक्षर गर्दैनौं ।’ आफुहरुले विश्वास गरेर हस्ताक्षर गरेपनि त्यसको दुरुपयोग गरेको उहाँको आरोप छ ।

बैठकले ल्याण्डफिल साइट सार्नेदेखि उपचाररत मेयर जिसीको उपचारमा सहयोग गर्ने निर्णय गरेको छ । जिसीको उपचारमा थप २० लाख उपलब्ध गराउने निर्णय भएको नगरका प्रवक्ता धनबहादुर नेपालीले बताउनु भयो । यसअघि पनि १० लाख निकासा दिइसकिएको छ ।