जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार १४:२०

प्रधानन्यायाधीश प्रकरणमा एमाले प्रवक्ता ज्ञवाली : एउटालाई हटाउने र अर्कोलाई ल्याउने स्वार्थबाट प्रेरित खेलमा हाम्रो रुची छैन


एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको स्वार्थका लागि न्यायालयको प्रयोग गर्दा मुलुक अहिलेको अवस्थामा पुगेको बताउनु भएको छ । सर्वाेच्च अदालतमा न्यायाधीशहरु राजनीति गरिरहेको आभास हुन थालेपछि एमाले प्रवक्ताले यस्तो निश्कर्ष सुनाउनु भएको हो, पाँच दलीय गठबन्धनको स्वार्थका लागि न्यायालयको जसरी प्रयोग गरियो, यसैको परिणाम हो यो,’ ज्ञवालीले भन्नुभयो ।

यस्तो छ एमाले प्रवक्ता ज्ञवालीको निचोड

एउटा महत्पवूर्ण कारण भनेको २८ असारको परमादेश र त्यसले सिर्जना गरेका सहउत्पादनहरू नै हुन् । यसको समाधानका लागि जडमै जानुपर्छ । यसमा प्रधानन्यायाधीशसँग त्यस एजलासमा रहेको न्यायाधीशहरूको पनि उत्तिकै जवाफदेहिता रहन्छ । एउटालाई दोष दिएर उरु उम्किन मिल्ने हामी देख्दैनौँ ।

अहिले जुन ढंगले पूर्व(प्रधानन्यायाधीशहरू तथा राजनीतिक दलसँग आबद्ध भएका मिडियाहरूले यस विषयमा जसरी चर्चा गरिरहेका छन्, यसले न्यायालयमा भएको विकृतिलाई हटाउने किसिमको देखिँदैन । यो बहस विशेष रूपमा एउटालाई हटाउने र अर्कोलाई ल्याउने स्वार्थबाट प्रेरित भएको देखिन्छ । यो समीक्षा समस्या समाधानको होइन । त्यसैले यसमा हाम्रो रुचि छैन ।

जुन ढंगले राजनीतिक विषयमा अदालत प्रवेश गर्यो र निश्चित राजनीतिक दलका स्वार्थका लागि अदालतको जुन ढंगले दुरुपयोग भयो अहिलेका समस्याको परिणाम पनि त्यही नै हो भन्ने हामी ठान्छौँ । हामी न्यायालयको समग्रको सुधारको पक्षमा छौं । पाँचदलीय गठबन्धनको स्वार्थका लागि न्यायालयको जसरी प्रयोग गरियो, यसैको परिणाम हो यो ।

निश्चित राजनीतिक स्वार्थ समूह अथवा अरु स्वार्थ समूहको हितमा न्यायालयलाई प्रयोग गरिएको छ, त्यसमा हाम्रो रुचि छैन र त्यो कुनै समाधान पनि हैन । न्यायाधीशको विरुद्ध कुनै महाअभियोग लगाउनुले समस्या समाधान हुन्छ भन्ने हामीलाई लाग्दैन । यो चाहिँ एक खालको दबाब हो । केही स्वार्थ समूहले निश्चित न्यायाधीशलाई थर्काएर आफ्नो अनुकूल मुद्दा फैसला गराउनका निम्ति गरेको दबाबको रणनीति हो । यो गलत छ र यसमा हाम्रो कुनै चासो छैन । (कुराकानीमा आधारित)