जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १४:२३

एमाले रुपन्देहीको सवै पालिकामा तीन भन्दा बढी अध्यक्षका आकांक्षी, बुटवलमा ६ जना (सूचीसहित)


बुटवल, कात्तिक ९ । वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमाले रूपन्देहीमा पालिका स्तरमा भने धेरै जना आकांक्षी देखिएका छन । प्रत्येक पालिकामा कम्तीमा चार जना आकांक्षी देखिएपछि पार्टी नेतृत्वलाई मिलाएर लैजान कठिन देखिएको छ । रूपन्देहीका १६ वटै स्थानीय तहका सबै वडामा एमालेले सर्वसम्मत नेतृत्व छानेको थियो । तर आज सुरू भएको पालिकास्तरको अधिवेशनमा भने धेरै आकांक्षी देखिएपछि सर्वसहमतिमा नेतृत्व चयन हुने सम्भावना न्यून बनेको छ ।

रूपन्देही एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको गृह जिल्ला हो । पार्टीको केन्द्रीय तहमा रहनुभएका पौडेल र भुसाल अहिले एउटै समुहमा रहे पनि यसअघि दुई नेता अलग–अलग गुट र समूहमा रहेका कारण जिल्ला तथा पालिका तहमा त्यसको प्रभाव अहिले पनि कायम देखिएको छ । आकांक्षी निकै देखिए पनि जिल्लाबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरू भने सबै पालिकामा सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा रहेका छन ।

रूपन्देहीका महत्वपूर्ण पालिकाको रूपमा रहेका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह सबैमा तीन/चार जना आकांक्षी देखिएका छन्। बुटवल उपमहानगरपालिकामा अध्यक्षका लागि ६ जना आकांक्षी देखिएका छन । वर्तमान नगर अध्यक्ष बाबुराम पन्थी, पूर्वनगर अध्यक्ष ज्ञानप्रसाद अर्याल, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष तथा पार्टी उपमहासचिव विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डे, हालका नगरसचिव किसन ज्ञवाली, नगरसदस्य केशव पन्थी र राजेन्द्र ढकालले नगर अध्यक्षमा आकांक्षा देखाउनु भएको छ ।

तिलोत्तमा नगरपालिकामा भने वर्तमान नगर अध्यक्ष मोहन चापागाईंले आकांक्षा नदेखाए पनि अरू चारजना आकांक्षी देखिएका छन । जसमध्ये मिनप्रसाद पोखरेल, नेत्र बन, सुरेन्द्रश्री विश्वकर्मा, तामनाथ पाण्डे हुनुहुन्छ । त्यस्तै, देवदह नगरपालिकामा पनि चारजना आकांक्षी देखिएका छन । हालका अध्यक्ष प्रकाश अर्याल, टीकाराम चापागाईं, विष्णु पौडेल र गुमानसिंह कुँवरले अध्यक्षमा दाबी गर्नुभएको छ ।

यस्तै सिद्धार्थनगर र सैनामैनामा पनि तीन तीन जना अध्यक्षका आकांक्षी देखिएका छन । सिद्धार्थनगरमा ध्रुब अधिकारी, थानेश्वर पौडेल र चक्रबहादुर थापाले अध्यक्षको दावी गर्नुभएको छ । सैनामैनामा हालका नगर अध्यक्ष नारायण न्यौपानेसँगै शालिकराम भण्डारी र जीवनाथ पाण्डे आकांक्षी हुनुहुन्छ । त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकामा वीरेन्द्रकुमार मिश्र, निसाहर अहमद खाँ, जगदीश यादव र विनोद कहार गरि चारजना आकांक्षी देखिनुभएको छ । नगरपालिकासँगै गाउँपालिकामा पनि एकभन्दा बढी आकांक्षी देखिएका छन ।

एमाले रूपन्देहीका अध्यक्ष शिवराज सुवेदी पार्टी नेतृत्वको पहिलो पहल सहमतिको लागि हुने र त्यो हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनु पनि अन्यथा नहुने भएकोले पार्टी नेतृत्वले कुनै हस्तक्षेप नगर्ने बताउनु भयो ।