जनता टाइम्स

५ मंसिर २०७८, आईतवार १८:१०

निर्वाचनतिरै गयो एमालेको नेतृत्व छनोट : पदाधिकारीमा ४०, केन्द्रीय सदस्यमा ९ सय बढी आकांक्षी


काठमाडौं, मंसिर ५ । मंसिर १० गतेदेखि चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वको आकांक्षी नेताहरु बढन थालेका छन । महाधिवेशनका लागि छानिएका प्रतिनिधिहरुको चाहना अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्ष बनाउने अभियान अघि बढाइरहँदा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेसँगै पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरु सलबलाउन थालेका छन ।

उपाध्यक्ष रावललले अध्यक्ष निर्वाचित हुन नसक्ने तथ्यबारे जानकार हुँदाहुँदै चुनाव गराउनै पर्ने बातावरण बनाउनका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । रावलको यो घोषणाले सहमतिका लागि पहल गरिरहेका नेताहरु भन्दा मौकामा चौका हान्न आतुर समुह खुसी भएको छ । साथै पदाधिकारीसँगै केन्द्रीय सदस्यका आकांक्षी धमाधम सार्वजनिक हुन थालेका छन ।

असोजमा सम्पन्न प्रथम बिधान महाधिवेशनबाट पारित बिधानअनुसार एमालेमा अध्यक्षसहित बरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव निर्वाचित हुने ब्यवस्था छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिधान संशोधन नहुने जानकारी दिइसकेकोले अव सोही ब्यवस्थाअनुसार अध्यक्षसहित १५ जना पदाधिकारी र २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । हाल भइरहेको पदाधिकारी र एकतामा रहेका नेताहरुलाई ब्यवस्थापन गर्न अध्यक्ष ओलीले सवै नेताहरुसँग परामर्श गरिरहँदा अध्यक्षमै उम्मेद्वारी घोषणा भएको भन्दै महाधिवेशन प्रतिनिधिहरु उम्म्द्वार बन्ने लाइनमा छन ।

अधिकांश महाधिवेशन प्रतिनिधिहरु आफू उम्मेद्वार बन्नका लागि दोस्रो तहका नेतासँग लबिङ अघि बढाएका छन भने पदाधिकारीका आकांक्षी दोस्रो तहका नेताहरु अध्यक्ष ओलीसँग आफ्नो कुरा राखिरहनु भएको छ । पदाधिकारीका आकांक्षी सवैजसो नेताहरुले आफू निकट कार्यकर्तामार्फत उम्मेद्वारी घोषणा गराउने काम अघि बढाएका छन । यद्यपी औपचारिक रुपमा भने कसैले पनि उम्मेद्वारी घोषणा गरेका छैनन । औपचारिक रुपमा घोषणा गर्दा उल्टो हुने देखेर आफू निकटमार्फत उम्मेद्वारी घोषणा गर्न लगाइएको छ ।

एमालेमा अध्यक्षमा ओली र वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल निर्विकल्प देखिनुभएको आम प्रतिनिधिको बुझाइ छ । तर उपाध्यक्ष रावलको घोषणासँगै उहाँले अडान कायम राखे चुनावबाटै ओली अध्यक्ष निर्वाचित हुनुहुनेछ । चार उपाध्यक्ष र अन्य पदाधिकारीमा झण्डै तीन दर्जन नेताहरु आकांक्षी देखिएका छन । एमालेमा हालका पाँचमध्ये तीन जनाले सचिवमै दोहोरिने चाहना राख्नुभएको छ भने सचिव प्रदीप ज्ञवाली उपमहासचिवको दावेदार देखिनुभएको छ । हालको उपमहासचिव घनश्याम भुसाल पनि उपमहासचिवमै दोहोरिने इच्छा राख्नुभएको छ । तर सहमति नभएको अवस्थामा महासचिवमै भिडने कि भन्दै आफू निकटसँग सल्लाह गरिरहनु भएको छ । चार उपाध्यक्षका लागि सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, युवराज ज्ञवालीलगायतले आकांक्षा राख्नुभएको निकट नेताहरुले बताएका छन ।

त्यस्तै, महासचिवका लागि शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र सुरेन्द्र पाण्डेले आफ्ना कार्यकर्तामार्फत अभियान अघि बढाउनु भएको छ । सामाजिक सञ्जालमा चारै जना नेताका निकट कार्यकर्ताले महासचिवको लबिङ अघि बढाएका छन । पदाधिकारीमध्ये सचिवमा ज्यादा आकांक्षी देखिएका छन । सात सचिवका लागि ३० जनाभन्दा बढी आकांक्षी देखिएका छन । योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य सचिवमै दोहोरिने इच्छा राख्नुभएको छ ।

यसैगरी विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, शेरबहादुर तामाङ, भानुभक्त ढकाल, महेश बस्नेत, हिक्मत कार्की, किरण गुरुङ, खगराज अधिकारी, यामलाल कँडेल, कर्ण थापा, प्रभु साह, रघुवीर महासेठ, गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, लालबाबु पण्डित, शेरधन राई, गुरु बराल अरुण नेपाल, आनन्द पोखरेल र कृष्णगोपाल श्रेष्ठले पनि सचिवमा उम्मेद्वारी दिने योजना बनाउनु भएको छ । यसैगरी यस्तै खिमलाल भट्टराई, राधा ज्ञवाली, पद्मा अर्याल, विन्दा पाण्डे, पनि सचिवका आकांक्षी देखिनुभएको छ ।

पदाधिकारीका आकांक्षीले आफू अटे सर्वसम्मत, नअटे चुनाव गर्नूपर्छ भन्दै लबिङसमेत गरिरहनुभएको छ । यसैगरी केन्द्रीय अहिलेसम्म ९ सय बढीले आकांक्षा राखेका छन । महाधिवेशन प्रतिनिधि चयन हुन साथ केन्द्रीय सदस्य भन्दै प्रतिनिधिले लबिङ गरेका हुन ।