जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार २१:०४

एमाले नेता रघुवीर महासेठ भने– देउवालाई प्रधानमन्त्री बनाउने सबै न्यायाधीशहरुलाई महाअभियोग लगाउनुपर्छ


काठमाडौं, मंसिर २५।   प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता रघुवीर महासेठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएशन नेतृत्वको कानुन व्यवसायीहरुको आन्दोलनको कार्यक्रम फिर्ता लिँदा राम्रो हुने टिप्पणी गर्नु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता महासेठले प्रधानन्यायाधीश जबरा एउटाले राजीनामा दिँदैमा न्यायालय सुध्रिने अवस्था नभएको भन्दै सो आन्दोलन नेपाल बारले फिर्ता लिँदा राम्रो हुने बताउनु भएको हो ।

शनिबारबाट भक्तपुरको गठ्ठाघरमा सुरुभएको पार्टी केन्द्रिय कमिटीको बैठकमा भाग लिने क्रममा उहाँले सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानन्यायाधीश जबरामात्रै नभई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल भएका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने तर्क पनि बताउनु भयो । संसदमा महाअभियोग लगाउने हो भने पनि देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल सबै न्यायाधीशहरुलाई लगाउनुपर्ने उहाँको भनाई थियो । नेता महासेठले भन्नु भयो, ‘न्याय नपाएर जनताले दुःख पाएका छन । यो आन्दोलन बास्तवमा बार एशोसिएशनले फिर्ता लिए राम्रो हुन्छ ।

पक्ष, विपक्षको कुरा होईन । एउटा प्रधानन्यायाधीशले राजीनामा दिँदैमा न्यायालय सुध्रिन्छ ? त्यो होइन । तपाईलाई थाहा छ–अहिलेको जुन वर्तमान सरकार हाम्रो सम्माननीय प्रधानमन्त्री देउवाको नेतृत्वमा बनेको छ । कुन प्रकारले बनेको छ ? त्यसमा कसरी चलखेल भएको छ । त्यो दिनप्रतिदिन भण्डाफोर भईरहेको छ । भनेपछि यो चलखेलमा सामेल एउटा प्रधानन्यायाधीशले मात्रै किन, अरु न्यायाधीशहरुले पनि राजीनामा दिनु प¥यो । महाअभियोग लगाउने हो भने पनि सबैमाथि लाग्नु प¥यो ।’ नेता महासेठले सत्ता पक्षले प्रस्ताव ल्याएपछि मात्रै एमसीसी के गर्ने भन्ने बारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भयो ।