जनता टाइम्स

२६ मंसिर २०७८, आईतवार १३:३६

सभापति, सहमहामन्त्रीसहित ५७ जनाले गरे उम्मेदवारी फिर्ता


काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । एक सय ३४ केन्द्रीय कमिटीका लागि हिजो भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिनुभएको थियो ।

जसमध्ये आज दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिनुभएको छ । चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिनुभएको थियो । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।

उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बन्नुभएको हो । पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५५ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।