जनता टाइम्स

२० पुष २०७८, मंगलवार १६:४१

सत्तारुढ गठबन्धनलाई बिष्णु रिजालको चुनौती : सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन


काठमाडौं, पुस २० । एमाले प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख बिष्णु रिजालले सत्तारुढ गठबन्धनलाई स्यालको संज्ञा दिँदै बाघको सिकार गर्न नसक्ने तथ्य स्मरण गराउनु भएको छ । एमाले बाध भएको र गठबन्धन स्याल भएको भन्दै एमाले केन्द्रीय सदस्य रिजालले यस्तो चुनौती दिनुभएको हो ।

राष्ट्रियसभा निर्वाचनको बिषयमा सामाजिक सञ्जालमार्फत चुनौती दिँदै रिजालले एमालेबिरुद्धको घेरावन्दी या निर्वाचन नै अन्तिम भएको र यस्ले जनमतको प्रतिनिधित्व नगर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपालको सहइञ्चार्जसमेत रहनुभएका नेता रिजालले लेख्नुभएको छ, ‘राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो । अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा नेकपा (एमाले) लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएका छन ।’

यस्तो छ रिजालको चुनौती

राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो । अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा नेकपा (एमाले) लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएका छन् ।

अध्यादेशका भरमा पार्टी विभाजन गरेर, अनेक गठजोडका साथ ०७४ को जनादेशका भरमा ०७८ मा परिणाम निकाल्न खोजिएको राष्ट्रियसभाको निर्वाचनले न जनमतको प्रतिनिधित्व गर्दछ न त अहिलेको शक्ति सन्तुलन नै बोक्दछ । दलको परीक्षण जनमतमा हुन्छ र त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनले मात्रै गर्दछ ।

बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन र अब हुने निर्वाचनमा पाँचै दल एक ठाउँमा भएर चुनाव लडे पनि नेकपा (एमाले) लाई फरक पर्दैन । किनभने, सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन् भन्ने तथ्य घाम जत्तिकै छर्लंग छ ।