जनता टाइम्स

१३ माघ २०७८, बिहीबार २०:४५

क्रान्तिका नाममा मान्छे जिउँदै जलाएर मार्नेले ओलीलाई हिटलर भन्ने – महेश बस्नेत



काठमाडौं, माघ १३ । नेकपा एमालेका नेता महेश बस्नेत जसपा संघीय परिषद् संयोजक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई माथि खनिनु भएको छ ।

हेटौंडामा बिहीवार प्रेस चौतारी मकवानपुरले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले एमाले पार्टी र अध्यक्ष केपी शर्मा ओलीलाई हिटलर भनेको भन्दै बाबुराममाथि खनिनु भएको हो ।

उहाँले मान्छेलाई जिउँदै लगाएर मार्नेले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भन्नु ठिक नभएको बताउनुभयो । नेता भट्टराईले सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीलाई ८ माघमा हिटलरको संज्ञा दिँदै एक पोस्ट गर्नुभएको थियो । उहाँले अध्यक्ष ओलीलाई हिटलर भनेपछि गोकुल बाँस्कोटालगायतका नेता प्रतिवादमा उत्रिनुभएको थियो ।

‘क्रान्तिका नाममा जनताका छोराछोरी र एमाले कार्यकर्तालाई होलेरी, बाँदरमुँडेमा जिउँदै जलाएर र बम पड्काएर हत्या गर्नेले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भन्ने ?’ बस्नेतले भन्नुभयो, ‘होलेरीमा ८/९ जना साथीहरुलाई घरभित्र जलाएर मारेको उहाँको कालो इतिहास छ । बाँदुरमुँडेमा सयौं जना यात्रुलाई बम पड्काएर मारेको इतिहास छ ।

असंख्य मान्छेको हत्या गरेर उहाँहरु नै एमाले र ओलीलाई अधिनायकवादी भयो हिटलर भयो भनेर ठूला कुरा गर्छन् ।’ आफ्नै पार्टीकी मन्त्री रेणु यादवले खुलमखुल्ला हत्या गर्ने भाषण गर्दा पनि पार्टीको धारणा आएको छैन बाबुरामले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भनेर कुतर्क गरेको बस्नेतको आरोप छ ।

‘बाबुराम भट्टराईको ताकत, शक्ति र हिम्मत भए र उहाँको पार्टीको त्यो खालको पहुँच र शक्ति भएको भए उहाँ नेपालका हिटलरका दोस्रो अवतारका रुपमा प्रकट हुनुहुन्थ्यो बस्नेतले भन्नुभयो । उहाँ त किन चाउरिस मरिच आफ्नै रागले भनेजस्तो चाउरिएर गोरखाको एउटा क्षेत्रमा कांग्रेस र एमालेको सहारामा चुनाव जित्नु पर्ने भएर मात्रै मिठो कुरा गरेको,’ बस्नेतको आरोप थियो ।