जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार ०७:१२

काठमाडौंमा विश्वकै सबैभन्दा बढी प्रदूषण : मर्निङवाकमा ननिस्कन चिकित्सकको सुझाव


काठमाडौैं, चैत्र १६ । ‘वर्ल्ड एयर क्वालिटी’ को रिपोर्टअनुसार दुई दिनयता काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा छ । अघिल्लो साता नेपाल विश्वको १० औं प्रदूषित मुलुकमा र राजधानी काठमाडौं छैटौं प्रदूषित सहरमा परेको थियो । सोमबार काठमाडौंको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूएआई) १५४ थियो ।

मंगलबार साँझ ८ बजे त्यो बढेर १५९ पुग्यो । सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई अस्वस्थ मानिन्छ । एक्यूआई १५० देखि २०० हुँदा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन् ।२०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि ५०० सम्मले आपत्कालीन अवस्था जनाउँछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । जबकि मंगलबार काठमाडौंमा पीएम २.५ को मात्रा ६४।५ थियो । यो डब्लूएचओले तोकेको मापदण्डभन्दा १२।९ गुणाले बढी हो । हावामा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कण नै पीएम २.५ हुन् । यिनमा सल्फेट, नाइट्रेट्स, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् । सजिलैसँग फोक्सोमा पनि पुग्ने भएकाले यी कण स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सवारीसाधन, उद्योग, कृषि, निर्माण, घाँस, दाउरा बाल्दा यस्ता कण निस्कन्छन् । यही पीएम २.५ का आधारमा एक्यूआई मान निकालिन्छ ।

जल तथा मौसम विज्ञान विभागले उपत्यकामा प्रदूषणको स्तर जोखिमको तहमा पुगेका कारण आकाश धुम्मिएको जनाएको छ । विभागका प्रवक्ता रामप्रसाद अवस्थीले कचौरा आकारको काठमाडौं उपत्यकामा उच्चचापीय प्रभावका कारण हावा प्राकृतिक हिसाबले नबग्दा जम्मा भएका धूवाँ/धूलो, कणका कारणले वायुमण्डल प्रदूषण भई तुवाँलो देखिएको बताउनुभयो । उहाँले प्रदूषण दिन प्रतिदिन बढिरहेको बताउँदै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रदूषणका मात्रा बढ्दै जाँदा जमिनसँग जोडिएको सतहभन्दा माथि केही निश्चित उचाइसम्म तापक्रम बढिरहेको अवस्थीको भनाइ छ । ‘उचाइसँगै तापक्रम घट्नुका साटो बढ्ने अवस्थालाई ‘इन्भर्सन’ भनिन्छ,’ उहाँले भन्नुभयो ‘पानी परेपछि यो अवस्था हट्दै जान्छ ।’