जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार १३:००

तीर्थको बहानामा ‘रअ’ प्रमुख गोयललाई भेट्न बनारस गएका थिए देउवा


काठमाडौं, चैत्र २२ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता हुनुभयो ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको केही दिनपछि पर्याप्त गृहकार्य बिना भारत भ्रमणका गएका देउवाले स्वदेश फर्किने दिन धार्मिक सहर बनारसमा भारतको गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेट गर्नुभएको छ । देउवा र गोयलबीच नेपालमा हुन गइरहेको तीन चरणको निर्वाचन र चुनावमा कांग्रेसले गठबन्धन गरेर जाने निर्णयप्रति केन्द्रित रहेर छलफल भएको स्रोतले जनाएको छ। उक्त भेटमा प्रधानमन्त्री पत्नी आरजू देउवापनि सहभागी हुनुभएको थियो ।

रअ प्रमुख गोयलले स्थानीय तह निर्वाचनमा गर्ने भनिएको गठबन्धनका विषयमा चासो ब्यक्त गरेको एक स्रोतले बतायो। उहाँले पाँच दलीय गठबन्धन गरेर चुनावमा जाँदा लोकतान्त्रिक मूल्य मन्यता विपरित हुने भन्दै लोकतन्त्रको रक्षाका लागि दलहरु एक्ला एक्लै चुनावमा जानुपर्ने सुझाव दिएको स्रोतले जनाएको छ। गोयलले ओली र प्रचण्ड मिल्ने भय त्याग्न देउवालाई आग्रह गर्नुका साथै ओली र प्रचण्डबीच चुनावी तालमेल हुन नसक्ने विषयमा आश्वस्त पार्ने प्रयास गरेको स्रोतको दावी छ । भारतले नेपालमा दलहरु एक्लाएक्लै चुनाबमा जाउन् र कुनै पनि दलको स्पष्ट बहुमत नआओस् भन्ने चाहेको कुरामा गोयलले पनि जोड दिएको बताइएको छ। जवाफमा देउवाले अघिल्लो निर्वाचनमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल हुँदा लोकतान्त्रिक शक्ति कांग्रेस कमजोर बनेको उल्लेख गर्दै आफूले प्रचण्डलाई साथमा नदिए फेरि ओली र प्रचण्ड एक हुने र एकछत्र राज गर्ने बताउनुभएको थियो ।

उहाँले गठबन्धन नभए यस पटक पनि कांग्रेस कमजोर हुने बताउँदै के भारतको चाहना फेरि ओली र प्रचण्ड मिलुन् भन्ने हो ? भन्दै प्रतिप्रश्न गर्नुभएको थियो । देउवाले अहिले पनि चीन बाम गठबन्धन गराउन लागिपरेको भन्दै पाँच दलीय गठबन्धनको औचित्य पुष्टि गर्ने प्रयास गर्नुभएको थियो । देउवाले पाँच दलीय गठबन्धन भएमा ओली र प्रचण्ड मिल्न नपाउने र चीनको प्रयास विफल हुने भन्दै गोयललाई ‘कन्भिन्स’ गर्न खोजेको स्रोतले बतायो। पछिल्लो समय कांग्रेसभित्र प्रभावशाली नेताहरु र जिल्लामा खटिएका प्रतिनिधिले गठबन्धन नगर्न सुझाव दिँदा पनि देउवा गठबन्धनको पक्षमा देखिनुभएको छ । गोयलले भने पार्टी विभाजन हुने बेला प्रचण्ड र ओली एक अर्कालाई तल्लो स्तरको गाली गर्ने अवस्थामा पुगेर छुट्टिएकोले उनीहरु कुनै पनि हालतमा मिल्दैनन् भन्ने कुरामा देउवालाई सहमत गराउन खोज्नुभएको थियो । गोयलले पाँच दलीय गठबन्धन गरेर जाँदा स्वतन्त्र रुपमा चुनाव नहुने कुरामा जोड दिँदै कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा जोड दिएका थिए। गोयलले यदि गठबन्धन हुने भयो भने माधव नेपालका जतिपनि सांसद छन् उनीहरु फेरि एमालेमै फर्किने गरी कसरत भइरहेको भन्दै एक्लो माधव नेपाललाई साथमा लिएर चुनाबमा जाँदा कांग्रेसलाई उल्टै घाटा हुने विषयमा पनि देउवालाई घुमाउरो चेतावनी दिनुभएको थियो ।

माधव नेपाल समूहका रहेका अधिकांश सांसद एमालेमा फर्किने कसरत भइरहेको संकेत गर्दै गोयलले यस्ता अवस्थामा माधव नेपाल एक्लै हुने र प्रचण्डसँग मात्रै तालमेल गर्दा कांग्रेसलाई चुनावमा घाटा हुने बताएको स्रोतले दाबी गरेको छ। गोयलले देउवालाई निर्वाचनमा लोकतान्त्रिक अभ्यास गर्नु राम्रो हुनेमा जोड दिँदै यसका लागि पार्टीहरु आफ्नो हैसियतमा चुनाबमा जानुपर्ने बताउनुभएको थियो । उहाँले चुनाबमा कम्युनिष्टहरु मिल्दैनन् र उनीहरु एक्लै चुनाब लड्दा हार्छन भन्ने कुरामा जोड दिँदै कम्युनिष्टहरु एक्लै चुनाबमा जाँदा उनीहरु हार्ने र कांग्रेसले जित्ने अवस्था रहनेमा जोड दिएको स्रोत बताउछ ।