काठमाडौं, २२ चैत । समता समानता र सामाजिक स्वतन्त्रताका मुद्दामा कलम चलाउने कवि तथा साहित्यकार मिम बहादुर परियारको शब्दमा ‘बाबू के थरी’ बोलको र्याप गीतको भिडियो सार्वजनिक भएको छ । केटिएम सोल्जाको आवाज र बिटमा, रोसन परियारको निर्माणमा र (किरण ब्यञ्जनकार) वाइल्ड याक रेकर्डको प्रस्तुतिमा र्याप गीत बजारमा आएको हो । गीतको भिडियोमा रङ्गकर्मी राजकमल फकिरको अभिनय छ भने निर्देशन मनिष निरौंलाले गर्नुभएको छ । भिडियोको छायांकन पाटन आसपासमा गरिएको छ ।
निर्माणता रोसन परियारले बताउनुहुन्छ, ‘बाबू के थरी’ पहिला कविताको रुपमा थियो । कविता पढेपछि मलाई साह्रै मन छोयो । उक्त कवितालाई र्याप गीत बनाउनुपर्छ भन्ने मनमा आयो । ताकि युवा जमातमा केही सन्देश पुगोस् । जातीय छुवाछूत जस्तो अमानवीय कुसंस्कारले मानिसमा कति पीडा दिएको छ , त्यो आम मानिसले बुझुन् भन्ने हो ।’ साहित्यकार परियारले भन्नुभयो,‘बाबू के थरी कविता जातीय कुप्रथाका विरुद्ध लेखिएको हो ।
यो कवितामात्रै नभएर आक्रोश पनि हो । यस कवितालाई र्याप गीत बनाउने रोसन परियारको योजना मन परेकाले यस परियोजना जोडिएको हुँ ।’ र्याप संगीतको इतिहास विभेदसँग जोडिएको छ । कथित सामाजिक संरचनाका विरुद्ध र्याप गीत गाइन्थ्यो । अस्वेत समुदायको पिडा पोख्ने माध्यम पहिले र्याप थियो । अझ र्याप गीतलाई प्रेटेस्ट पोएट्री पनि भन्छन् । अहिले संसारमै र्याप युवा जमातमा निकै लोकप्रिय छ । त्यसकारण पनि ‘बाबू के थरी’ र्याप गीत विशेष छ । जातीय विभेद विरुद्ध छ ।
साहित्यकार परियारले थप्नुभयो,‘समाजिक समानता र समताको वकालत गरेको छ । यस र्यापले युवा जमातमा केही सन्देश अवस्य दिनेछ ।’ सामाजिक बेथितिलाई सरल भाषामा चित्रण गरिनु नै यस गीतको विशेषता हो । र्यापरको गायकीले, गीतमा झन् उर्जा थपिदिएको छ । र्यापर केटिएम सोल्जा, नेपाली र्याप विधाको उदाउँदो नक्षत्र हुन् ।
प्रतिक्रिया दिनुहोस्