जनता टाइम्स

३२ असार २०८३, बिहीबार १४:२९

एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हार्ट अट्याक, आकस्मिक रूपमा ‘एन्जियोप्लास्टी’ शल्यक्रिया


काठमाडौं, असार ३२। वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले नेतृ अष्टलक्ष्मी शाक्यको आकस्मिक रूपमा ‘एन्जियोप्लास्टी’ शल्यक्रिया गरिएको छ । मुटुसम्बन्धी समस्याका कारण उहाँको बिहीवार शल्यक्रिया गरिएको हो ।

पाटन अस्पतालको मुटुरोग विभागका प्रमुख डा. अशोक अधिकारीका अनुसार, नेत्री शाक्यलाई बिहीबार बिहान छाती दुखेका कारण अस्पताल ल्याइएको थियो । परीक्षणबाट हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सर्न) देखिएकाले एन्जियोप्लास्टी गरिएको हो ।

शल्यक्रियामा डा. अधिकारी, डा. प्रबिन्द्र महर्जन, डा. आनन्द जिसीको टोली संलग्न रहेको अस्पतालले जानकारी दिएको छ । बिहीवार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शाक्यको शल्यक्रिया गरिएको हो । नेकपा एमालेका पूर्वउपाध्यक्ष शाक्य शल्यक्रियापछि हाल सघन उपचार कक्षमा उपचाररत रनुभएको छ ।