काठमाडौं, असोज ६ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई पुनर्गठित गर्दै जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्नुपर्ने बताउनुभएको छ।
एमाले केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै उपाध्यक्ष पौडेलले वर्तमान सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढिरहेको आरोप लगाउनुभयो। उहाँले ट्रेड युनियन अधिकारमाथि समेत प्रहार भइरहेको बताउनुभयो।
उहाँले पछिल्लो निर्वाचनमा एमालेले पराजय बेहोरेको उल्लेख गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। जनताको बहुदलीय जनवादलाई मार्गदर्शन बनाएर पार्टी निर्माणको अभियान अघि बढाउनुपर्ने उहाँको भनाइ छ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको विषय स्पष्ट पारेको उहाँले बताउनुभयो। पार्टी र जनताबीचको सम्बन्धमा देखिएको दूरी अन्त्य गर्दै जनताको विश्वास पुनः कायम गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो।
उहाँले जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न एकताबद्ध नेतृत्व र बलियो संगठन निर्माण आवश्यक रहेको बताउनुभयो। पार्टीको आन्तरिक एकता मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गरेर एमाले अघि बढ्नुपर्ने उहाँको धारणा थियो।












प्रतिक्रिया दिनुहोस्