काठमाडौं, असोज ६ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले वाम एकताका लागि विभिन्न वाम राजनीतिक दल तथा घटकहरूसँग वार्ता र एकताको पहल गर्न समिति गठन गरेको छ।
मंगलबार बसेको नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पार्टीसँग वैचारिक, सांगठनिक र कार्यक्रमिक रूपमा समानता भएका विभिन्न वाम राजनीतिक दल तथा घटकहरूसँग पार्टी एकताका लागि पहल तथा वार्ता गर्ने निर्णय गरेको हो।
बैठकले गठन गरेको वार्ता समितिको संयोजकमा देव गुरुङ तथा सदस्यमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। समितिले नेकपासँग वैचारिक, सांगठनिक तथा कार्यक्रमिक समानता भएका वाम दल तथा घटकहरूसँग संवाद र वार्तामार्फत एकताको सम्भावनालाई अघि बढाउनेछ।
बैठकले पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले पार्टी तथा जनवर्गीय संगठनहरूको समायोजन, पार्टी सदस्यता वितरण तथा नवीकरण र संगठन सुदृढीकरणका लागि दुईमहिने विशेष जनअभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
विशेष जनअभियानको विस्तृत योजना भने आगामी सचिवालय बैठकले तय गर्ने निर्णय भएको छ। अभियानमार्फत पार्टी संगठनलाई थप विस्तार तथा सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरी बैठकले पार्टीको महाधिवेशन तथा अधिवेशनका विषयमा आवश्यक छलफल गरी निर्णय गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ। सचिवालय बैठकले यस विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने बैठकको निर्णयमा उल्लेख छ।
बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना र बाढीका कारण क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि पनि पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ। रसुवा बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि पार्टीका तर्फबाट प्रभावकारी पहल गर्ने निर्णय बैठकले गरेको हो।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले समसामयिक राजनीतिक कार्यभार तथा पार्टीका पछिल्ला गतिविधिका विषयमा धारणा राख्नुभएको थियो।
केन्द्रीय कार्यसंयोजन समितिको बैठकले वाम एकताका लागि संवाद र वार्ता अघि बढाउनेदेखि संगठन सुदृढीकरण, महाधिवेशन तथा अधिवेशनको तयारी र बाढी प्रभावितको उद्धार तथा पुनर्स्थापनामा पार्टीको भूमिका प्रभावकारी बनाउनेसम्मका विषयमा निर्णय गरेको हो।












प्रतिक्रिया दिनुहोस्